रियो दी जेनेरियो- मैदान बाहिरका सबै विवाद छायाँमा पार्ने आशासाथ बुधबार रियो दी जेनेरियोमा पाराओलम्पिक खेलकुद सुरु हुँदैछ। राजनीतिक र आर्थिक समस्याबीच रियो २०१६ आयोजना गर्दा आयोजकले थुप्रै कठिनाइ झेलिरहेका छन्। यातायात, बसोबास र खानेकुरामा सुविधा कटाएर गर्न लागिएको पाराओलम्पिकमा डोपिङ प्रकरणका कारण रुसको अनुपस्थिति अर्को निराशाजनक पक्ष हो। देशभित्र शिक्षा, स्वास्थ्य, यातायात लगायतका अत्यावश्यक क्षेत्रमा लगानी गनुपर्ने बजेट ओलम्पिक र विश्वकप फुटबलजस्ता खेलकुदीय महोत्सवका लागि खर्च गरेको भन्दै ब्राजिल पछिल्लो दुई वर्षदेखि आन्दोलित छ। तथापि रियोले सफलतापूर्वक गृष्मकालीन ओलम्पिक सम्पन्न गरिसकेको छ र थुप्रै सुविधा घटाएर भए पनि पाराओलम्पिक आयोजना गर्दैछ।
रियो २०१६ आफैमा समस्याग्रस्त छ। ब्राजिलको आन्तरिक राजनीतिक र आर्थिक अवस्थामात्र नभई विश्व खेल राजनीतिको पनि खराब प्रभाव यसमा परेको छ। तर तमाम समस्याले इरानका पावर लिफ्टर सियामन्द रहमान, बेलायतका ह्विलचेयर दौडका स्टार डेविड विइर र छोटो दुरीका नेत्रहीन चिनिया धावक लिउ चुइकिङलाई ब्राजिल भ्रमणबाट रोक्न सकेनन्। बाहिरका समस्यालाई मैदानभित्रको रोमाञ्चक प्रतिस्पर्धाले छायाँमा पार्ने आशासाथ उनीहरू रियो पुगिसकेका छन्।
रियोको अर्को मुख्य समस्या भनेको लन्डन २०१२ लाई पछ्याउन खोज्नु पनि हो। समर्थकको उपस्थिति, आयोजकले दिएको सुविधा र खेलाडीको प्रदर्शन सबै दृष्टिमा लन्डन २०१२ लाई पाराओलम्पिक इतिहासकै अहिलेसम्मको सबैभन्दा सर्वोत्कृष्ट संस्करण मानिएको छ। पाराओलम्पिकको सफल आयोजनाका लागि रियोले गत महिना गरेको ४ करोड ६० लाख डलर उपलब्ध गराउने वाचा पूरा गर्नुपर्नेछ। साथमा सरकारले निजी व्यावसायिक प्रतिष्ठानबाट थप ३ करोड युरोको प्रायोजन व्यवस्था गराउन भन्दै दिएको वाचा पनि पूरा भए पाराओलम्पिक बिना समस्या सम्पन्न हुनेछ।
अन्तर्राष्ट्रिय पाराओलम्पिक कमिटी (आइपिसी) का अध्यक्ष फिलिप क्राभेनले पाराओलम्पिकमा विभिन्न २२ खेलका ४ हजार ३ सय खेलाडीलाई रियो स्वागत गर्न आफू रियो ओलम्पिक दौरान दिनको दुई घन्टामात्र सुतेर काम गरेको बताए। 'पक्कै पनि आर्थिक समस्याका कारण धेरै सुविधामा कटौती गर्नुपरेको छ। यस्तो कटौतीले पाराओलम्पिक खेलकुदका सबै सरोकारवालालाई असर गर्छ। विगतमा जस्तो सुविधासम्पन्न र भव्य नहोला, तर यसपालि पाराओलम्पिक खेलकुद नरोकिनु ठूलो कुरा हो। मैदानभित्रको रोमाञ्चमा पनि कुनै कमी आउने छैन,' उनले भने, 'पूरा विश्व पाराओलम्पिक परिवार एकजुट भएर यो अभियान सम्पन्न गर्नेछ।'
पाराओलम्पिकका लागि अगस्ट २० मा सार्वजनिक गरिएका २४ लाख टिकटमध्ये शुक्रबारसम्म १४ लाख बिक्री भइसकेको उनले बताए। 'प्रत्येक दिन मेरो अपेक्षा बढ्दो छ,' क्राभेनले भने।
ओलम्पिकको तुलनामा पाराओलम्पिकमा प्रायोजक खोज्न कठिन छ, तर रियोमा दुवै महोत्सवले भोगेको अर्को एउटा समान पीडा छ, डोपिङको। यही कारण आइपिसीले रुसको पूरा टोलीलाई नै पाराओलम्पिकमा सहभागिताबाट प्रतिबन्ध लगाइसकेको छ। रुसी खेलाडीलाई स्वतन्त्र रूपमा सहभागिता जनाउनबाट पनि वञ्चित गरिएको छ। जसलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले 'कानुन, नैतिकता र मानवता विरोधी' कदमका रूपमा व्याख्या गरेका छन्।
प्रकाशित: २१ भाद्र २०७३ ०२:५२ मंगलबार