७ वैशाख २०८१ शुक्रबार
खेल

भारतविरुद्ध न्युजिल्यान्डको न्यून स्कोर

न्युजिल्यान्डविरुद्ध जित निकालेपछि भारतका सूर्यकुमार यादव (दायां) र कप्तान हार्दिक पाण्ड्या। तस्बिर: एपी

कप्तान हार्दिक पाण्ड्याले चकित पार्ने पिच भन्दै प्रतिक्रिया दिएको न्यून योगफलको बनेको दोस्रो ट्वान्टी-२० क्रिकेटमा भारतले आइतबार न्युजिल्यान्डमाथि ६ विकेटको जित निकाल्दै शृंखला बराबरीमा ल्याएको छ।

एकदिवसीय शृंखला ३-० ले जितेको भारतले लखनउमा दोस्रो ट्वान्टी-२० क्रिकेटमा पाहुना टोली न्युजिल्यान्डलाई ९९-८ मा रोकेको थियो। सो खेलमा स्पिनर युजभेन्द्र चाहल भारतका लागि सर्वाधिक दुई विकेट लिने खेलाडी रहे। पहिलो खेलमा सहज जित निकाले पनि पाहुना टोलीले दोस्रो खेलमा राम्रो ब्याटिङ गर्न नसक्दा हार बेहोर्न पुग्यो। भारतले नियमित विकेट गुमाउँदा न्युजिल्यान्डका बलरले दबाबमा राखे।

उक्त खेल अन्तिम ओभरसम्म धकेलिए पनि सूर्यकुमार यादवले २६ रन र पाण्ड्याले १५ रनको अविजित इनिङ खेल्दै जित दिलाए। सूर्यकुमारले चौका प्रहार गर्दै निर्धारित ओभर सकिन एक बल बाँकी छँदा जित दिलाएका हुन्।

मध्यम लक्ष्य भए पनि भारतले जित निकाल्न निकै संघर्ष गर्नुपरेको थियो। ‘इमानदारिताका साथ भन्नुपर्दा आजको विकेट (पिच) ले चकित पार्‍यो,’ पाण्ड्याले भने,‘कठिन विकेटप्रति प्रश्न गरेको भने होइन। म त्यो चुनौतीका लागि तयार छु। यद्यपि, क्युरेटरले हामीले खेल्ने मैदान अगाडि नै तयार गर्नुपर्छ।’

यो खेल भारतले जितेसँगै शृंखलाको नतिजाका लागि तेस्रो खेल निर्णायक बनेको छ। तेस्रो तथा अन्तिम खेल आगामी बुधबार अहमदाबादमा हुनेछ। यो खेलमा ३० ओभरसम्म स्पिन बलिङमा कुनै छक्का प्रहार हुन सकेन। न्युजिल्यान्डले त २० ओभरमध्ये २.५ ओभर मात्र तीव्र गतिको बलिङ गरायो। स्पिनर मिकाइल ब्रेसवेल र इस सोढीले समान एक विकेट लिए।

‘१७ ओभरसम्म स्पिन’

‘हामीले १७ ओभरसम्म स्पिन बलिङ गरायौं। पक्कै पनि यो निकै फरक पक्ष हो,’ न्युजिल्यान्डका कप्तान मिचेल सान्टनरले भने, ‘त्यहाँ बललाई बाउन्स गर्नु निकै चुनौतीपूर्ण नै थियो।’ पहिलो खेलमा हारपछि भारतले एक मात्र परिवर्तनका रूपमा लेग स्पिनर चाहललाई टोलीमा समावेश गरेको थियो। चारै ओभरमा बलिङ गर्न आएका चाहलले मेडन विकेटसहित सुरुआत गरेका थिए। यद्यपि, उनले दुई ओभरमा मात्र बलिङ गर्दा एक विकेटसहित चार रन खर्चिए। तीव्र गतिका बलर अर्शदीप सिंहले दुई विकेट निकाले। टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले राम्रो सुरुआत गरेर पनि त्यसलाई ठूलो योगफलमा पूर्णता बनाउन सकेन।

न्युजिल्यान्डका ओपनर फिन एलेनले तेस्रो ओभरमा लगातार दुई बाउन्ड्री प्रहार गर्दै आक्रामक ब्याटिङ गर्ने संकेत गरेका थिए। यद्यपि, चाहलको बलमा रिभर्स स्विप हान्ने चक्करमा उनी क्लिन बोल्ड भए। रिभर्स स्विप नै हान्ने प्रयासमा न्युजिल्यान्डले थप दुई विकेट गुमायो। डेभन कनवे र ग्लेन फिलिप्स क्रमशः वासिङ्टन सुन्दर र दीपक होडाद्वारा आउट भए। अघिल्लो खेलमा नायकी प्रदर्शन गरेका डारिल मिचेल स्पिनर कुलदीप यादवद्वारा आउट भएपछि न्युजिल्यान्ड थप दबाबमा पार्‍यो। मार्क चापमेन १४ रनमा रनआउट भएपछि न्युजिल्यान्ड ६०/५ को नाजुक अवस्थामा पुग्यो।

यद्यपि, सान्टनरले नटआउट १९ रन जोड्दै इनिङ उकास्ने प्रयास गरे पनि न्युजिल्यान्ड भारतविरुद्ध अहिलेसम्मकै न्यून योगफलमा समेटियो। जबाफमा भारत पनि सुस्तमा ब्याटिङ गरेपछि दबाबमा परेको थियो। ओपनर शुभमन गिल दुई बाउन्ड्री प्रहार गरेपछि स्पिनर ब्रेसवेलको बलमा आउट भए। उनले ९ बलमा ११ जोडे। इसान किसन १९ रनमा रनआउट हुँदा राहुल त्रिपाठीले १३ रन बनाएर पवेलियन फर्किए। यद्यपि, सूर्यकुमार र हार्दिक  पाण्ड्याले इनिङ समाल्दै जित दिलाए। यो जोडीले ३१ रनको साझेदारी गरेको थियो। 

प्रकाशित: १७ माघ २०७९ ००:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App