coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सिटीसँगको खेलबाट निराश आर्टेटा

आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले शुक्रबार एफए कपको चौथो चरणको खेलमा म्यानचेस्टर सिटीसँग भोगेको १–० को हारले ठूलो पाठ सिकाएको बताएका छन्।

एफए कपअन्तर्गत शुक्रबार सिटीले नाथन एकेको निर्णायक गोलपछि जित निकाल्दा आर्सनलका प्रशिक्षक अर्टेटाले त्यो खेलबाट टोलीले धेरै पक्षमा सुधार गर्नुपर्ने भएको बताएका हुन्। इङ्लिस प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको आर्सनल सिटीभन्दा पाँच अंकले अघि छ। सिटी आर्सनललाई पराजित गर्दै पाँचौं चरणमा प्रवेश गरेको छ। डिफेन्डर एकेले निर्णायक गोल गरेपछि सिटीले प्रिमियर लिगमा शीर्ष स्थानको लागि प्रतिस्पर्धा गरिरहेको आर्सनलविरुद्ध रोमाञ्चक जित निकालेको हो।

तर, सिटीसँगको पराजयले आर्सनलका प्रशिक्षक अर्टेटाले आफू निकै निराश भएको र यसबाट पाठ पनि सिकेको प्रतिक्रिया दिएका हुन्।

‘लयमा रहँदा आफूलाई पछ्याइरहेको टोलीसँग स्तब्ध हुँदा निराश भएको छु। यो खेलबाट हामीले सिक्ने पक्ष धेरै छन्,’आर्सनल प्रशिक्षक अर्टेटाले भने, ‘हामीले पहिलो हाफमा केही राम्रा अवसर बनाएका थियौं। तर, सदुपयोग गर्न सकेनौं। ठूलो टोलीसँगको प्रतिस्पर्धामा अवसर चुकाउनु राम्रो होइन। कुनै पनि हालतमा नतिजा निकाल्नुपर्ने थियो, तर असफल भयौं।’

एकेले खेलको ६४औं मिनेटमा गोल गरेका थिए, त्यो नै निर्णायक बन्यो। स्ट्राइकर ज्याक ग्रेलिसले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै एकेले टोलीका लागि गोल गरेका हुन्। लिग उपाधिको लागि प्रतिस्पर्धा गरिरहेका सिटी र आर्सनलबीच अब १५ फेब्रुअरीमा भिडन्त हुँदै छ।

एकेले टोलीका लागि विजयी गोल गर्दा निकै खुसी लागेको बताए। खेल जितेपछि सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले दोस्रो हाफमा राम्रो खेल्दा जित निकालेको प्रतिक्रिया दिए। ‘हामीले दोस्रो हाफमा सम्हालिएर खेल्दा नतिजा आफ्नो पक्षमा पार्न सफल भयौं। आर्सनलले जारी सिजनमा राम्रो लय देखाइरहेको छ। शुक्रबार पनि निकै राम्रो खेल्यो। खेल निकै प्रतिस्पर्धात्मक भयो,’ग्वार्डिओलाले भने, ‘आर्सनलले पहिलो हाफमा देखाएको लयलाई कायम राख्न सकेन। रणनीतिक हिसाबमा हामीले निकै सुधारिएको खेल पनि देखाएका थियौं।’

प्रकाशित: १५ माघ २०७९ ००:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App