१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

‘हरेक प्रतियोगिता र खेल अन्तिमजस्तै लाग्छ’

सर्बियाका नोभाक जोकोभिचले खस्कदो स्वास्थ्य अवस्थाका कारण खेल जीवनबाट संन्यासको संघारमा रहेकाले हरेक जित विशेष हुने प्रतिक्रिया दिएका छन्।

शनिबार रड लाभर एरिनामा ग्रिगोर दिमिट्रोभमाथि ७–६(९–७), ६–३ र ६–४ को जितसहित जोकोभिचले अस्ट्रेलियन ओपनको अन्तिम १६ मा स्थान पक्का गरेका थिए। जोकोभिच अस्ट्रेलियन ओपनको कीर्तिमानी ९ पटकका विजेता हुन्। उनी स्पेनका राफेल नाडालको नाममा रहेको सर्वाधिक २२औं ग्रान्ड स्लामको कीर्तिमानसँग बराबरी गर्न चाहन्छन्। उनले हालै मात्र एडिलेड ओपन जितेका थिए। सोही प्रतियोगितादेखि उनी निरन्तर ह्यामस्ट्रिङको समस्याबाट जुधिरहेका छन्।

उनले पछिल्लो खेलमा पनि पटक-पटक मेडिकल सहायता लिनुपरेको थियो। दिमिट्रोभलाई हराउने क्रममा जोकोभिचले दुई पटक मेडिकल सहायता लिएका थिए। जोकोभिचले क्वार्टरफाइनलमा स्थान बनाउनका लागि २२औं वरीयताका एलेक्स डी मिनौरको सामना गर्नेछ। डी मनौरले फ्रान्सका बेन्जामिन बोन्जीलाई हराउँदै जोकोभिचसँगको भेट पक्का गरेका थिए। मेलबर्नमा थप एक जित निकालेमा जोकोचिभ पुनः विश्व वरीयताको शीर्ष स्थानमा पुग्नेछन्। जुनपछि जोकोभिच विश्व नम्बर एक बन्ने दौडमा छन्।

जोकोभिचले सधैं फिट रहन कठिन हुने भन्दै आफ्ना लागि हरेक प्रतियोगिता र खेल महत्त्वपूर्ण भएको बताए। ‘मलाई हरेक प्रतियोगिता र खेल नै मेरो अन्तिम हो जस्तै लाग्छ,’जोकोभिचले भने, ‘म आफ्नो खेलजीवनको उत्तरार्धमा छु। त्यसैले यो स्वभाविक पनि हो। अब मैले धेरै प्रतियोगिता खेल्ने सम्भावना छैन। म जुन प्रतियोगिता खेलिरहेको छु, त्यसमा रमाइरहेको छु। म निकै भाग्यमानीसमेत रहे। मलाई यो खेल निकै राम्रो लाग्थ्यो र अहिले म यही खेलका कारण चर्चित छु।’

व्यावसायिक टेनिस सुरु गरेको २० वर्ष भैसकेको अवस्थामा यसबीच आफूले पाएका सफलता आफ्ना लागि पर्याप्त रहेको जोकोभिचको भनाइ छ। गत संस्करणमा कोभिड-१९ विरुद्धको भ्याक्सिन नलगाएकै कारण जोकोभिच प्रतियोगिता खेल्न पुगे पनि डिपोर्ट हुनुपरेको थियो। उनी अस्ट्रेलियन ओपनको अन्तिम १६ मा प्रवेश गरेको यो १५औं पटक हो। ‘हरेक खेल र हरेक अंकले अर्थ राख्छ,’जोकोभिचले भने, ‘म अहिले पूर्ण रूपमा फिट छैन। मेरो स्वास्थ्य अवस्थामा उतारचढाव पनि आइरहेको छ। यो निकै कठिन खेल रह्यो।’ 

प्रकाशित: ८ माघ २०७९ ००:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App