२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

स्वायटेकको सहज जित

 विश्व नम्बर एक इगा स्वायटेक शुक्रबार क्रिस्टिना बुस्कामाथि सहज जित निकाल्दै अस्ट्रेलियन ओपनको चौथो चरणमा प्रवेश गरेकी छिन्।

स्वायटेकले बुस्कामाथि ६–०, ६–१ को सोझो सेटमा जित निकालिन्। रड लाभर एरेनामा उनले बुस्कामाथि जित निकाल्न ५५ मिनेट मात्र खर्चनुपरेको थियो। स्वायटेकले यस जितसँगै आफ्ना प्रतिद्वन्द्वीलाई बलियो चुनौती दिएकी छिन्।  

फ्रेन्च र युएस ओपन विजेता स्वायटेकले चौथो चरणमा विम्बल्डन च्याम्पियन इलिना रिबाकिनासँग प्रतिस्पर्धा गर्नेछिन्। पहिलो चरणमा निकालेको जितपछि स्वायटेकले आफू छिट्टै स्वाभाविक लयमा फर्कने बताएकी थिइन्। बुस्कामाथिको सहज जितसँगै उनले त्यसलाई प्रमाणित गरेकी छिन्।  

२१ वर्षीया स्वायटेक पहिलो पटक अस्ट्रेलियन ओपन जित्ने लक्ष्यमा छिन्।  

‘मलाई बुस्काले कठिन चुनौती दिन्छिन् भन्ने थाहा थियो। त्यसैले उनलाई खुलेर खेल्ने अवसर नै दिइनँ,’ सन् २०१९ देखि अस्ट्रेलियन ओपनमा डेब्यु गरेकी स्वायटेकले भनिन्, ‘आज मैले निकै राम्रो खेलें। त्यसैले म निकै खुसी छु। म आपनो रणनीतिअनुसार नै खेलिरहेको छु र नतिजा पनि आइरहेको छ।’

रिबाकिनाले भने गत वर्षकी उपविजेता ड्यानिले कोलिन्समाथि ६–२,५–७,६–२ को जित निकालिन्। विम्बल्डनमा रिबाकिनाले स्वायटेकको ३७ खेलको अपराजित यात्रामा पूर्णविराम लगाइदिएकी थिइन्।

‘मैले खेल हारेपछि विम्बल्डन हेरिनँ। म बिदा मनाउन गएँ,’ स्वायटेकले भनिन्, ‘मैले प्रतियोगिताभन्दा पनि परिवारलाई समय दिएँ। उनी सर्भमा निकै अब्बल छिन्।’  

२३औं वरीयताकी रिबाकिनाले स्वायटेक क्रमशः लयमा फर्किएकाले उनको चुनौती पन्छाउन कठिन हुने बताइन्।  

‘स्वायटेक मानसिक र शारीरिक रूपमा निकै उत्कृष्ट छिन्,’ १३औं वरीयताकी कोलिन्सलाई हराउन २ घण्टा ५ मिनेट लगाएकी रिबाकिनाले भनिन्, ‘म खेलको सुरुबाटै उनीविरुद्ध आक्रामक रणनीतिका साथ खेल्छु। म कुनै पनि अवसर गुमाउन चाहन्नँ। इघा उत्कृष्ट खेलाडी हुन्।’  

यता अमेरिकी युवा खेलाडी कोको गौफ सन् १९९७ पछि अस्ट्रेलियन ओपन जित्ने सबैभन्दा कान्छी खेलाडी बन्ने दौडमा छिन्। १८ वर्षीया गौफले चौथो चरणमा स्थान बनाउने क्रममा जेलिना ओस्टापेन्कोलाई ६–३, ६–२ को जित निकालिन्। २६ वर्षअघि मार्टिना हिंगिसले १६ वर्षको उमेरमा अस्ट्रेलियन ओपन जितेकी थिइन्।

यता पुरुष एकलमा ड्यानिल मेडभेडेभ ३१औं वरीयताका सेबास्टियन कोर्डासँग ७–६ (९–७),६–३,७–६(७–४) को नतिजा सुम्पिँदै तेस्रो चरणबाट बाहिरिए।

प्रकाशित: ७ माघ २०७९ ०४:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App