२ असार २०८१ आइतबार
image/svg+xml
खेल

फिजीको सडकमा जब बारुद पडि्कए

सुभा- फिजीका जनताले शुक्रबार खुसीयाली मनाउने क्रममा सबै सिमाना नाघे, बारुदहरू पड्किन थाल्यो, सबैजना सडकमा आएर नाच्न थाले। एउटा सानो देशले ओलम्पिकमा पहिलो पदक जितेको थियो, त्यो पनि स्वर्ण। त्यही खुसीमा राष्ट्रिय बिदा घोषणा गरियो।

साउथ प्यासिफिक टापुको देशका लागि रग्बी सेभेनको फाइनलमा बेलायतविरुद्ध खेल्न पाउनु नै ठूलो कुरा थियो। त्यसैले मध्यान्तरदेखि नै पटाका पड्काउने, कारको हर्न बजाउने जस्ता क्रियाकलापबाट खुसी मनाउन सुरु भइसकेको थियो। तर फिजीको इतिहास निर्माण अभियान त्यतिमै रोकिएन। देशलाई स्वर्ण पदक जिताएरमात्र टोलीले रियोमा विश्राम लियो।

'फिजीको इतिहासमा यो सबैभन्दा ठूलो दिन हो। सबैजना खुसी मनाइरहेका छन्,' सुभास्थित मुख्य रंगशाला बाहिर ठूलो पर्दामा फाइनल हेरेका फोटोग्राफर फिरोज खालिलले भने, 'यो हाम्रा लागि पत्याउनै गाह्रो हुने उपलब्धि हो। त्यसैले मानिसहरू धेरैबेरसम्म हल्लाखल्ला गरिरहे। खुसीमा रोइरहे। मलाई पनि धेरै खुसी लागेको छ।'

फाइनल हेर्न रियो दी जेनेरियो पुगेका प्रधानमन्त्री भोरेक बाइनिमारामाले टिम स्वदेश फर्किएको भोलिपल्ट अगस्ट २२ मा सार्वजनिक बिदा दिने घोषणा गरेका छन्। 'विश्वभर रहेका फिजियनहरू अहिले खुसीमा पागल भइरहेका छन्। आजजस्तो फिजियन भावनाको उच्च सञ्चार यसअघि कहिल्यै भएको थिएन। हामी एउटा देशको रूपमा यति माथि कहिल्यै उभिन सकेका थिएनौं। सबै देशवासीलाई बधाई छ। हाम्रा लागि स्वर्ण पदक जित्ने राष्ट्रिय नायकहरूलाई धन्यवाद छ,' बाइनिमारामाले देशवासीका नाममा सन्देश दिँदै भने।

फिजी रग्बी युनियनका कार्यकारी प्रमुख जोन ओ कनरले स्वर्ण पदक जितेको ऐतिहासिक खेल हेर्न फिजीका सबै १ सय १० टापुमा रहेका ९ लाख जनता जम्मा भएको अनुमान गरे। 'सबैजना अत्यन्तै उत्साही छन्। गाउँमा जहाँ टेलिभिजन हुन्छ, त्यहाँ मानिसहरू यो खेल हेर्न जम्मा भएको हुनुपर्छ। मुख्य रंगशालामा झन्डै २ हजार मानिस ठूलो पर्दामा खेल हेर्न जम्मा भएका थिए,' उनले भने, 'काममा जानैपर्ने मानिसहरूले पनि आफ्नो काममा ध्यान दिएजस्तो मलाई लाग्दैन।'

बेलायतमाथि ४३–७ को एकतर्फी जित निकालेको फिजीले खेल सुरु भएको ५५ सेकेन्डबाटै स्कोर गर्न थालिसकेको थियो। मध्यान्तरमा टोलीले बेलायतलाई २९–० ले निरीह पारेको थियो।

'मध्यान्तरसम्ममा फराकिलो अग्रता लिएपछि मानिसहरूले खुसी मनाउन खेल सकिएसम्म पनि कुरेनन्। मैले पनि कुरिनँ,' खालिलले भने।

प्रकाशित: २९ श्रावण २०७३ ०३:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App