११ मंसिर २०८१ मंगलबार
image/svg+xml
खेल

रियोमा सरस्वतीको आशा

काठमाडौं- अभावबीच फुलिदिन्छ कमलको फूल। त्यसैले सुन्दर हुन्छ। देख्दै लोभलाग्दो। त्यस्तै अभावमा हुर्किएकी हुन्, सरस्वती भट्टराई। उनी पनि कमलको फूलजस्तै फुलेकी छिन् अहिले। रियो ओलम्पिकमा नेपालबाट पाँच खेलमा ७खेलाडीको सहभागिता छ। तिनै सातमध्येकी एक हुन् सरस्वती। रियोमा उनले शनिबार १५ सय मिटरदौडमा नेपालको चुनौती पेश गर्नेछिन्। सुदूरपश्चिममा जन्मिएकी सरस्वतीको खेलजीवन सरल भने रहेन। स्कुलमा शिक्षकको करकापमा दौड यात्रा थालेकी उनी राष्ट्रपति रनिङ सिल्ड हुँदै रियोसम्मपुगेकी छन्। २०६८ सालको रनिङ सिल्डमा उनी पदकविहीन भइन्। त्यसबाट बिरक्तिएकी उनलाई खेलजीवन टुंगिएझै नलागेको होइन।

‘२०६६ सालतिर हो यही ट्र्याकमा खालि खुट्टा दौडिएर दुईपदक जितेको तर ६८ मा म पदकविहीन भएँ,’ दशरथ रंगशालाको ट्र्याकमा उभिएर नागरिकसँग सरस्वतीले भनिन्, ‘त्यसपछि यस्तो खेल पनि के खेल्नु जस्तो लाग्यो। खेल्नै मन लागेन।’

औपचारिक प्रशिक्षण नपाएरपदक गुमाएको लाग्थ्यो उनलाई। त्यसपछि बीचमा उनले खेल्नै छाडिन्।

‘त्यसपछि बीचमा मेरो ग्याप भयो। किनकि गाउँमा यहाँ जस्तो प्रशिक्षण गर्ने ठाउँनै छैन। खेल भनेको के हो कसैलाई थाहा छैन। वास्तै गर्दैनथे,’ सरस्वतीले पुराना दिन सम्भि्कइन्, ‘त्यसैले त्यहाँ तालिम गर्ने अवसर नै पाइनँ।'

काठमाडौं आएर बस्न पनि उनका लागि आर्थिक स्थिति सबल थिएन। त्यसैले उनी सोच्थिन्, 'अब मेरो खेलजीवनमा पूर्णविराम लाग्यो।'

तर सरस्वतीको जीवनले कोल्टे फेर्‍यो। कक्षा १२ मा पढ्दै गर्दा उनी सेनामा भर्ती भइन्। त्रिपुरा तारा उच्चमाविका शिक्षकको करबाटै उनी सेनामा भर्ती भएकी थिइन्। ‘अजिङ्गरको आहारा दैवले जुराउँछ’ भनेजस्तै भयो सरस्वतीलाई। उनले एकवर्षे आधारभूतसैनिक तालिम सिध्याइन्। उनलाई त्रिभुवन आर्मी क्लबले फेरि खेल्ने अवसर जुराइदियो। त्यहींबाट सुरु भयो सरस्वतीकोऔपचारिक प्रशिक्षण। त्यसले उनको खेलले गति पायो।

'मैले आर्मीमा आएपछि नै औपचारिक प्रशिक्षण पाएकी हँु। पुष्प गुरु (पुष्पराज ओझा) को निगरानीमा प्रशिक्षण लिएँ,' उनले भनिन्, 'विस्तारै प्रदर्शनमा पनि सुधार हुँदै गयो। आत्मविश्वास पनि बढ्दै गयो। अहिले पनि उहाँकै निगरानीमा तयारी गरिरहेको छु।'

एक वर्षअघि बैंककमा भएको थाइल्यान्ड ओपन एथलेटिक्स च्याम्पियसिपमा १५ सय र ८ सय मिटर दौडमा रजत पदक जितेपछि सरस्वतीको दौडप्रतिको लगावलाई ह्वात्तै बढाएको छ। खेलप्रति टुटेकोउनको मन पुनःजोडियो।

२३ वर्षीया उनले सम्भि्कइन्, 'त्यसपछि राष्ट्रिय टोलीमा परेँ।  भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) पनि खेल्ने मौका पाएँ। त्यहाँ पनि ४ मिनेट ४० सेकेन्डमा दौड पूरा गरेँतर पदक भने हात परेन।'

ओलम्पिकका लागि छनोट हुन्छु भनेर उनले कल्पनै गरेकी थिइनन्। ओलम्पिकले प्रदान गर्ने छात्रवृत्तिमा संगीता खड्काले प्रशिक्षण गरिरहेकीले सरस्वतीलाई रियोको अवसर जुट्छ भन्ने लागेकै थिएन। वैशाख २६ मानेपाल एथलेटिक्स संघले खुला छनोट प्रतियोगिता गर्ने भयो। त्यसको एक साता अघिमात्र उनले त्यो खबर थाहा पाइन्। त्यतिकै तयारीमा उनले छनोट प्रतियोगितामा भाग लिइन्।

‘ओलम्पिकमा छनोट हुन्छु भन्ने सोचेकै थिइनँ। एक वर्षदेखि संगीताले ओलम्पिक छात्रवृत्ति लिइरहेकी थिइन्,’ सरस्वतीले भनिन्, ‘त्यसैले पनि मेरो कल्पनामै थिएन। तरएक साताअघि रियोका लागि खुला छनोट प्रतियोगिता हुन्छ भन्ने थाहा पाएँ। त्यति बेला हो मैले ओलम्पिक खेल्ने सोचेको। किनकिछनोट हुन्छु भन्ने मलाई पूर्ण आत्मविश्वास थियो।’

नभन्दै, छनोट प्रतियोगितामा उनले १५ सय मिटर दौड ४ मिनेट ४१.०४ सेकेन्डमा पूरा गर्दै ब्राजिलको टिकट पक्का गरिन्।

अढाइ वर्षको औपचारिक प्रशिक्षणमै ओलम्पिक खेल्न लागेकी सरस्वतीले पनि रियोमा पदक जित्ने आशा गरेकी छैनन्। तर राष्ट्रिय कीर्तिमान भने तोड्ने उनको लक्ष्य छ। १५ सय मिटरकोराष्ट्रिय कीर्तिमान राजकुमारी पाण्डेको नाममा छ। जुन ४ मिनेट ३४ सेकेन्ड हो।

‘अहिले तयारी राम्रै भइरहेको छ। राष्ट्रिय कीर्तिमान तोड्ने मेरो लक्ष्य हो,’सरस्वतीले भनिन्, ‘त्यो नभए पनि मेरो आफ्नै प्रदर्शनमा अवश्य सुधार गर्नेछु।’

प्रशिक्षक पुष्पराज ओझा पनि सरस्वतीले राम्रो प्रदर्शन गर्नेमा विश्वस्त छन्। सागमा भन्दा तयारी क्रममा धेरै सुधार गरेको बताएका ओझाले सरस्वतीले राष्ट्रिय कीर्तिमान बनाउने बताए।

‘सरस्वती नयाँ खेलाडी हुन्। धेरै एक्सपोजर पनि पाएकी छैनन्। १२ औं साग खेलेकी हुन्। त्यसमा ठिकठिकै गरेकी थिइन्,’ प्रशिक्षक ओझाले भने, ‘तर, सागमा भन्दा अहिले धेरै सुधार गरेकी छन्। मिहिनेती छन्। मलाई लाग्छ उनले राम्रै गर्छिन्। राष्ट्रिय कीर्तिमान बिट गर्छिन्।’

 

रियो ओलम्पिकलाई छनोट एथलेटिक्सकै हरि रिमालजस्तै सरस्वतीलाई पनि गाउँलेवातावरणले दौडलाई सहयोग गरेको बताउँछिन्। ‘यसमा त कुनै शंकै छैन। मेरो स्कुल जान आधा घन्टा हिँड्नुपर्थ्यो। जाँदा उकालो पर्थ्यो, आउँदा ओरालो,’उनले थपिन्, ‘घरधन्दा सकेर स्कुल जानुपर्थ्यो। त्यसैले हतार हतार हुन्थ्यो। सायद त्यतिबेला मेरा लागि त्यही ट्रेनिङ भएथ्यो होला।’

नेपालमा सुगम क्षेत्रमै खेलकुदमा लाग्न छोराछोरीलाई प्रोत्साहन गर्ने वातावरण बनिसकेको अवस्था छैन। दुर्गमको त परै जाओस्। सरस्वतीको हकमा त्यो लागू भएन। सातमध्ये पाँचौं सन्तान सरस्वती भन्छिन्, ‘म यहाँसम्म आइपुग्न आमाबुबाको ठूलो हात छ। उहाँहरूको साथ नभएको भए म यहाँ आइपुग्ने थिइनँ।’

प्रकाशित: २७ श्रावण २०७३ ०३:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App