१२ मंसिर २०८१ बुधबार
image/svg+xml
खेल

रुसबाट दुई तिहाईले खेल्न पाउने

रियो दी जेनेरियो- ब्राजिलको रियो दी जेनेरियोमा शुक्रबार औपचारिक रूपमा सुरु भएको गृष्मकालीन ओलम्पिकमा रुसले दर्ता गराएकामध्ये दुइतिहाइ मात्र खेलाडीले सहभागिता जनाउन पाउने भएको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) का पदाधिकारीहरूले जनाएका छन्।

सरकारकै सहयोगमा पछिल्ला ओलम्पिकहरूमा रुसी खेलाडीले गरेका डोपिङ अपराधको कारबाहीस्वरुप रुसका १ सय १८ खेलाडीलाई रियो ओलम्पिक २०१६ मा सहभागिताबाट वञ्चित गरिएको छ। तर, रुसका २ सय ७१ खेलाडीले भने रियो ओलम्पिकमा चुनौती प्रस्तुत गर्न पाउने भएका छन्।

आइओसीले डोपिङ अपराधमा रुसी टोलीलाई पूर्ण रूपमा रियो ओलम्पिकमा सहभागिताबाट वञ्चित गर्नुपर्ने डोपिङ नियन्त्रण अधिकारीहरूको माग विपरीत बिहीबार राति २ सय ७१ खेलाडीलाई खेल्न दिने निर्णय गरेको थियो। रुसको पूरा टोलीलाई नै प्रतिबन्ध लगाउनुपर्ने माग उठेपछि आइओसीले अघिल्लो आइतबार सम्बन्धित खेलका अन्तर्राष्ट्रिय महासंघहरूलाई निर्णयको जिम्मेवारी पन्छाएको थियो। आइसिसीको त्यो निर्णय व्यापक रूपमा आलोचित भएको थियो।

तर, आइसिसीले भने रियो ओलम्पिकमा रहेका २८ फरक खेलका शीर्ष अधिकारीहरूसँगको छलफलपछि रुसका सबै खेलाडीको डोपिङ परीक्षणको इतिहास पल्टाएर निर्णय गरिएको जनाएको छ। आइओसीले रुसका खेलाडीहरूको विषयमा मात्र अध्ययन गर्न गठित समितिले अनुमोदन गरेपछि रुसी टोलीको निर्णय भएको थियो। आइओसीको निर्णय सार्वजनिक भए पनि अझै पौडी र कुस्ती खेलाडीहरूले प्रतिबन्धविरुद्ध गरेको अपिलको अन्तिम निर्णय आइसकेको छैन।

आइसिसीको पछिल्लो निर्णय अनुमोदन भए रियो ओलम्पिकमा सहभागीमध्ये रुसको टोली संख्याका हिसाबमा १२ औं हुनेछ। युरोपकै स्पेन र इटालीको टोली पनि रुसको भन्दा ठूलो हुनेछ। चार वर्षअघि लन्डनमा भएको पछिल्लो ओलम्पिकमा रुसले ४ सय ३६ खेलाडीको टोली पठाएको थियो। रियो ओलम्पिकमा अमेरिकाको टोली सबैभन्दा ठूलो हुनेछ। अमेरिकी टोलीमा ५ सय ५६ खेलाडी समावेश छन्।

प्रकाशित: २२ श्रावण २०७३ ०३:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App