१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

फेब्रुअरीमा भारतसँग मैत्रीपूर्ण खेल

फाइल तस्बिर।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले फेब्रुअरीमा मैत्रीपूर्ण खेलका लागि भारत भ्रमण गर्ने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को शुक्रबार बसेको आकस्मिक बैठकले भारतले मैत्रीपूर्ण खेलका लागि गरेको प्रस्ताव स्वीकार गरेको हो। भारतले फेबु्रअरी १३ देखि २५ का बीचमा मैत्रीपूर्ण खेलका लागि प्रस्ताव पठाएको थियो। एन्फाले प्रस्ताव स्वीकार गरेसँगै अब भारतले खेलको मिति र स्थान तोक्नेछ।  

नेपालले पछिल्लो पटक असोजमा सम्पन्न साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा भारतलाई १–० ले हराएको थियो। साफ महिला च्याम्पियनसिपमा नेपालले भारतलाई हराएको यो पहिलो पटक हो। फाइनलमा भने नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको थियो। नेपालले अप्रिल ३ देखि ११ सम्म हुने पेरिस ओलम्पिक २०२४ को एसियाली छनोटको पहिलो चरण खेल्दै छ। त्यसैको तयारीस्वरूप नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

नेपालले पहिलो चरणमा समूह ‘सी’ मा रहेका भियतनाम, प्यालेस्टाइन र अफगानिस्तानसँग प्रतिस्र्धा गर्नेछ। प्रतियोगिताका लागि एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार समूह विभाजन गरेको थियो। ओलम्पिक छनोटको पहिलो चरणमा २६ टोलीको सहभागिता रहनेछ जसलाई सहभागी टोलीलाई सात समूहमा विभाजन गरिएको छ। पाँच समूहमा समान ४ तथा दुई समूहमा समान ३ टोली छन्। पहिलो चरणबाट प्रत्येक समूहका विजेता टोली दोस्रो चरणमा प्रवेश गर्नेछन्। नेपालले गत संस्करणमा छनोटको दोस्रो चरणसम्मको यात्रा तय गरेको थियो।  

त्यस्तै बैठकले फागुन १९ गतेबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग गर्ने निर्णय पारित गरेको छ। यसअघि पुस २६ गतेबाट लिग हुने भनिए पनि एन्फाले पूर्वसहमतिअनुसार तयारी खर्च नदिएको भन्दै सहभागी १४ क्लबले विरोध जनाएका कारण लिग सरेको थियो। क्लबहरूसँगको बैठकबाट एन्फा फागुन १९ गतेबाट लिग गर्ने निर्णयमा पुगेको थियो। जुन निर्णय शुक्रबार बसेको बैठकले पारित गरेको हो। बैठकले लिग आयोजनाका लागि अध्यक्ष पंकजविक्रम नेम्बाङको संयोजकत्वमा सम्पूर्ण कार्यसमितिका सदस्य र पदाधिकारी सदस्य रहने गरी लिग सञ्चालन समिति गठन गरेको छ। बैठकले ‘बी’ डिभिजन लिग भने चैत १५ बाट गर्ने निर्णय गरेको छ। यस्तै बैठकले ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिग आयोजनाका लागि सेवा र सामग्रीको टेन्डर आह्वान गर्न सचिवालयलाई जिम्मेवारी दिएको छ भने यी तीनवटै लिगको ब्रोडकास्टिङ राइटका लागि न्यूनतम ६० लाख रूपैयाँ तोकेर टेन्डर आह्वान गर्ने निर्णय पनि गरेको छ। त्यस्तै लिगका लागि तीन सदस्यीय इन्टिग्रिटी समितिको समेत गठन गरिएको छ।  बैठकले डिसेम्बर २९ मा निधन भएका विश्व फुटबलका महान् खेलाडी पेलेको निधनमा शोक प्रस्तावसमेत पारित गरेको छ।

प्रकाशित: ३० पुस २०७९ ०२:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App