काठमाडौं–जुडोकी फुपुल्हामु खत्रीले रियो ओलम्पिकको मार्चपासमा नेपालको झन्डा बोक्ने भएकी छन् । उनले ६ महिनाअघि भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेकी थिइन् । जुडोमा नेपाललाई सागको स्वर्ण दिलाउने उनी पहिलो महिला हुन् ।
‘खेलजीवनमा प्राप्त अनुभव र सागमा स्वर्ण पदक जितेका कारण हामीले फुपुल्हामुलाई झन्डा बोक्न दिने निर्णय गरेका हौं,’ नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले शनिबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘एनओसीको कार्यसमिति बैठकले यो निर्णय लिएको हो ।’ अगस्ट ५ बाट ब्राजिलको रियो दी जेनेरियामा रियो ओलम्पिक सुरु हुँदैछ ।
तीन सञ्चारकर्मी बाहेक रियो ओलम्पिकमा नेपाली खेलाडी, प्रशिक्षक, अफिसियल र पदाधिकारी गरी २७ जनाको सहभागिता रहनेछ । त्यसमा ७ खेलाडी र ५ प्रशिक्षक छन् । नेपाली ओलम्पिक टोलीले पहिलोपटक प्रायोजक पाएको छ । ग्लोबल आइएमई बैंकले ओलम्पिक टोलीलाई १० लाख रुपैयाँको प्रायोजन गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
विगतमा ओलम्पिकमा भाग लिँदा तीतामीठा अनुभव रहे पनि यसपटक त्यस्तो केही समस्या नभएको श्रेष्ठले सुनाए । ‘यसपटक ओलम्पिक सहभागिता लगायत अन्य विषयमा खासै समस्या भएन । शान्तपूर्ण वातावरणमा सबै काम अघि बढेका छन्,’ सातदोबाटोस्थित एनओसी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘कर्पोरेट हाउसबाट पनि सहयोग जुटेको छ । भविष्यमा पनि यस्ता सहयोगले निरन्तरता पाउने विश्वास लिएका छौं ।’ यसपटक राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव केशवकुमार विष्ट नेपाली टोलीको सेभ दी मिसनका रूपमा रियो पुग्दैछन् । विष्ट र एनओसीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठ शनिबार नै त्यसतर्फ गएका छन् ।
चार वर्षअघिको लन्डन ओलम्पिकका क्रममा एनओसी र राखेपबीच चर्को विवाद थियो । एनओसी अध्यक्ष श्रेष्ठले रियो ओलम्पिकका लागि सन् २०१५ कै जनवरीबाट तयारी सुरु गरिएको जानकारी दिए । चार खेलाडीले युनिभर्सियालिटी प्लेसेसका आधारमा र बाँकी तीन खेलाडी वाइल्ड कार्डका आधारमा रियोमा भाग लिन लागेका हुन् ।
एथलेटिक्सको पुरुष ५ हजार मिटर दौडमा हरिकुमार रिमाल र महिला १५ सय मिटर दौडमा सरस्वती भट्टराईले प्रतिस्पर्धा गर्नेछन् । १२ औं सागमा कांस्य पदक जितेको आधारमा हरिले ओलम्पिकमा मौका पाएका हुन् । सरस्वतीले भने आन्तरिक प्रतिस्पर्धाबाट ओलम्पिक सहभागिता पक्का गरेकी थिइन् ।
पौडीको महिलामा गौरिका सिंह र शिरीष गुरुङले प्रतिस्पर्धा गर्नेछन् । १२ औं सागमा गौरिका एक्लैले पौडीमा १ रजत र ३ कांस्य जित्दै इतिहास बनाएकी थिइन् । व्यक्तिगत स्पर्धामा सागमा पौडीले पहिलोपटक पदक जितेको थियो । बेलायत बस्दै आएकी गौरिकाले ओलम्पिकमा १०० मिटर ब्याकस्ट्रोकमा भाग लिनेछन् । छनोट चरणमा उच्च प्रदर्शन गरेका शिरीषले ओलम्पिकमा १०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछिन् ।
जुडोकी फुपुल्हामु खत्री, तेक्वान्दोकी निशा रावल र आर्चरीका जितबहादुर मोक्तानले वाइल्ड कार्डमार्फत ओलम्पिकमा भाग लिने मौका पाएका हुन् । उनीहरूका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी) ले वाइल्ड कार्ड सिफारिस गरेको थियो ।
तौल समूह नभएका कारण १२ औं सागमा भाग लिन नपाए पनि निशा तेक्वान्दोको पछिल्लो पुस्ताकी उत्कृष्ट खेलाडीमा पर्छिन् । साग स्वर्णविजेता फुपुले ६३ केजी तथा निशाले ६७ केजीमा प्रतिस्पर्धा गर्नेछन् । १२ औं सागमा भाग लिएका जितबहादुरले ओलम्पिकमा व्यक्तिगत रिकर्भ ७० मिटरमा सहभागिता जनाउने छन् ।
एनओसीले प्रायोजक कोटामा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र सिवानी एयरका मनिन्द्रलाल रञ्जित रियोका लागि छनोट गरेको छ । घले समापन र रञ्जित उद्घाटनमा जानेछन् । अध्यक्ष श्रेष्ठका अनुसार सिवानी एयरका रञ्जितले एनओसीलाई २० लाख रुपैयाँ सहयोग गर्ने वचन दिएका छन् । एनओसी र एनआरएनबीच पनि नेपाली खेलकुद विकासका लागि सहकार्य गर्ने यसअघि नै सम्झौता भइसकेको छ ।
कार्यक्रममा एनओसीका मानार्थ अध्यक्ष ध्रुवबहादुर प्रधानले नेपाली टोलीलाई शुभकामना दिए । प्रायोजन ल्याउन सफल भएकोमा उनले एनओसीलाई धन्यवादसमेत दिए ।
प्रकाशित: १६ श्रावण २०७३ ०४:४७ आइतबार