६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

नियोलले मागे माफी

फ्रेन्च फुटबल संघका अध्यक्ष नियोल लु ग्रेटले पूर्वकप्तान जिनेदिन जिदानमाथि दिएको प्रतिक्रियाप्रति माफी मागेका छन्।

लु ग्रेटले जिदानले फ्रान्सको राष्ट्रिय टोलीको प्रशिक्षण सम्हाल्ने इच्छा देखाएको तर आफूहरूले त्यसलाई गम्भीर रूपमा नलिएको बताएका थिए। फ्रेन्च रेडियोसँगको अन्तर्वार्तामा लु ग्रेटले फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्प बाहिरिन लागेको र जिदानलाई प्रशिक्षकमा नियुक्त गर्न लागेको हो भन्ने प्रश्नमा जिदानले आफूहरूलाई सम्पर्क गर्न खोजे पनि त्यसलाई प्राथमिकता नदिएको बताएका थिए। ‘म जिदानको फोनसमेत उठाउँदैनथें होला,’ ग्रेटले भनेका थिए, ‘फोन उठाइहालेमा म उनलाई भन्नेछु, अन्य क्लबको खोजी गर। हामी डेसच्याम्पसँग सम्झौता तोड्न चाहँदैनौं। क्लबको प्रशिक्षण र राष्ट्रिय टोलीको प्रशिक्षण सम्हाल्नु अलग कुरा हो।’

लु ग्रेटको अन्तर्वार्ता प्रसारण भएसँगै फ्रान्स तथा पेरिस सेन्ट जर्मन (पिएसजी)का स्ट्राइकर किलियन एम्बाप्पेले फ्रान्सका महान् खेलाडी जिदानको अपमान भएको प्रतिक्रिया दिएका थिए। फ्रान्सेली खेलकुदमन्त्री एमिली ओडिया-कास्टेराले पनि लु ग्रेटले जिदानको अपमान गरेको भन्दै तत्काल माफी माग्नुपर्ने बताएकी थिइन्।

‘मैले जिदानको अपमान गरेको होइन,’ लु ग्रेटले भने, ‘मैले अन्तर्वार्ताको क्रममा अरू कुरा पनि बोलेको थिएँ। तर जिदानले राष्ट्रिय टोलीको प्रशिक्षण सम्हाल्न देखाएको इच्छाका बारेमा मैले बोलेको सानो अंश मात्र प्रसारण गरियो। जिदानले फ्रान्सको फुटबलमा दिएको योगदान हामी भुल्न सक्दैनौं। उनले रियाल मड्रिडको प्रशिक्षण सम्हाल्दै आफूलाई प्रमाणित गरिसकेका छन्। मेरो भनाइको गलत व्याख्या गरियो। म उनीसँग मात्र नभई सारा फुटबल समर्थकसँग माफी माग्न चाहन्छु। अन्तर्वार्ताका क्रममा पत्रकारले मलाई जिदान र डेसच्याम्पमध्ये तपाईं कसलाई रोज्नुहुन्छ भनेर सोधेका थिए। डेसच्याम्पले छोडेपछि मात्र विकल्पका बारेमा छलफल गर्न सकिन्छ। जिदानभन्दा डेसच्याम्प अब्बल प्रशिक्षक भएको बताएको थिएँ। तर जिदानले त्यो क्षमता नै राख्दैनन् भनेको थिइनँ।’

कतार विश्वकप २०२२ को समापनसँगै डेसच्याम्पको सम्झौता अन्त्य भैसकेको थियो। विश्वकपको फाइनलमा फ्रान्स अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो। २०१८ मा फ्रान्सले डेसच्याम्पकै प्रशिक्षणमा विश्वकप जितेको थियो। फ्रेन्च फुटबल संघ डेसच्याम्पले चाहेमा सम्झौता नवीकरण गर्न तयार देखिएको थियो। जसअनुसार शनिबार नै डेसच्याम्पले २०२६ को विश्वकपसम्म सम्झौता थप गरिसकेका छन्।

जिदानले १९९८ मा फ्रान्सबाट विश्वकप जितेका थिए भने २००६ मा उनकै कप्तानीमा फ्रान्स उपविजेता भएको थियो। जिदानको प्रशिक्षणमा स्पेनिस ला लिगाको क्लब रियाल मड्रिडले दुई पटक ला लिगा र लगातार तीन पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो।

प्रकाशित: २६ पुस २०७९ ०२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App