पेरिस- सरकारकै सहयोगमा भएका योजनाबद्ध डोपिङ अपराधका लागि रियो ओलम्पिकमा सहभागिताबाट एकमुस्ट रूपमा बञ्चित गर्ने अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघ (आइएएएफ) को निर्णय पुनर्विचारका लागि मस्कोले गरेको अपिल खारेज भएको विश्व एथलेटिक्सको सर्वोच्च निकायले जनाएको छ।
आइएएएफले रुसी ट्र्याक एन्ड फिल्डको पूरा टोलीलाई नै रियोमा सहभागिता जनाउन नपाउने गरी प्रतिबन्ध लगाएको थियो। आइएएएफले पुरानो निर्णयमा सामान्य पुनर्विचार गर्ने क्रममा बुधबार अमेरिकामा बसोबास गरिरहेका लङजम्पर डार्या क्लिसिनालाई मात्र भाग लिन दिने भएको छ।
'हिजो रुसी खेलकुदमन्त्री भिटाली मुट्कोले हामीलाई रुसी खेलाडीको विषयमा भएको निर्णय पुनर्विचारका लागि अनुरोध गरेका थिए,' आइएएएफले एएफपीलाई इमेलमा भनेको छ, 'हामीले मन्त्रीलाई कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्टस (सिएएस) बाट समेत अनुमोदित नियमअनुसार ओलम्पिक खेल्ने खेलाडीको योग्यताबारे जानकारी गरायौं। हामीले रुसको अनुरोधअनुसार प्रतिबन्धमा रहेका ६८ खेलाडीले रियोमा खेल्न पाउने विषयमा होसियारीपूर्वक प्रत्येकको अध्ययन गर्यौं। त्यसमा एकजनाले मात्र रियोमा भाग लिन पाउने अवस्था देखियो। सिएएसले ६७ खेलाडीमाथिको प्रतिबन्धविरुद्ध गरिएको अपिल खारेज गरिसकेको छ। अब हामीले त्यसमा पुनर्विचार गर्न पाउने ठाउँ छैन।'
सरकारकै सहयोगमा गरेको डोपिङसम्बन्धी अपराधमा रुसी खेलाडीमाथि कारबाहीको क्रममा यो पछिल्लो निर्णय हो। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले सोमबार रुसलाई रियो ओलम्पिकबाट हटाउनुपर्ने प्रस्ताव अस्वीकार्दै निर्णयको जिम्मेवारी सम्बन्धित खेलका अन्तर्राष्ट्रिय महासंघहरूलाई सुम्पिएको थियो।
पछिल्लो ओलम्पिकमा रुसी खेलाडीले गरेको ठगीविरुद्ध चाल्ने कदमका लागि रियो ओलम्पिकअघिको अन्तिम बैठकबाट सोमबार बिहान आइओसीले त्यस्तो निर्णय गरेको थियो। आइओसीको उक्त निर्णयको सर्वत्र आलोचना भएको थियो। रुस आफैले सञ्चालन गर्ने सोची ओलम्पिक ल्याबको समेत दुरुपयोग गर्दै रुसी खेलाडीले योजनाबद्ध लागूऔषध प्रयोग गरेको अनुसन्धानले देखाएको थियो।
यसैक्रममा नेपाली समयअनुसार बुधबार बिहान क्यानोइङका पाँच तथा मोडर्न पेन्टाथलनका दुई खेलाडीमाथि सम्बन्धित खेलका अन्तर्राष्ट्रिय महासंघले रियो ओलम्पिक खेल्न नपाउने गरी प्रतिबन्ध लगाएका छन्। सोमबारयता रुसी खेलाडी प्रतिबन्धित हुने क्रमले निरन्तरता पाउँदा रियोमा थप ४१ रुसी खेलाडीको अनुपस्थिति पक्का भएको छ।
तर, आइओसीले सम्बन्धित खेलका महासंघमा निर्णय गर्ने अधिकार पन्छाएपछि मंगलबार पौडीका सात खेलाडीलाई अन्तर्राष्ट्रिय पौडी महासंघ (फिना) ले रियो ओलम्पिकका लागि प्रतिबन्ध लगाएको थियो। यसैगरी रोविङका तीन, भारोत्तोलनका २ तथा कुस्तीका एक रुसी खेलाडीलाई पनि मंगलबारै सम्बन्धित खेलका अन्तर्राष्ट्रिय महासंघले रियो ओलम्पिकमा सहभागिताबाट वञ्चित गर्ने निर्णय गरेका थिए। अहिलेसम्मको अवस्थामा रुसका १ सय ८ खेलाडी प्रतिबन्धित भइसकेका छन्।
प्रकाशित: १३ श्रावण २०७३ ०३:३० बिहीबार