१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

गोल्डकपको आयोजनाले काँचुली फेर्दैछ मेची रङ्गशाला

नेपाली राष्ट्रिय खेलकुदका थुप्रै हस्तीले आफ्नो खेल जीवनको सुरुआती दिन मेची रंगशालामा बिताएका छन्। फुटबल, एथ्लेटिक्स, भलिबल, कबड्डी, कराँते, जुडो लगायतका कैयौं विधाका राष्ट्रिय खेलाडी हुर्काउने उर्वर मेची रंगशाला पछिल्लो समय आफूचाहिं बेवारिसे जस्तै बन्न पुगेको थियो। पञ्चायतकालमै निर्मित वरिपरिको पर्खाल हावाहुरी र भुइँचालोले भत्किएपछि मर्मत-सम्भार गरेर पुरानै अवस्थामा फर्काउन सकिएको थिएन। दर्शक बस्न बनाइएका प्यारापिट उप्किएर र रङ खुइलिएर उराठ भइसकेका थिए।

बेवास्ता र दूरावस्थाबाट यसरी गुज्रिरहेको रंगशाला फागुनको दोस्रो साता फुटबलको अन्तर्राष्ट्रिय स्तरको गोल्डकप प्रतियोगिता सञ्चालन हुने भएपछि काँचुली फेरिने प्रक्रियामा छ। अठार वर्षपछि आयोजना हुने भद्रपुर झापा गोल्डकप प्रतियोगिताका लागि गठित आयोजक समितिले सबैभन्दा पहिला रंगशालाको जीर्ण उद्धार थालेको छ।

झापाको साविक सदरमुकाम चन्द्रगढीको मेची रंगशालामा यतिबेला खेलप्रेमी र खेलाडी मात्र होइन, स्थानीय सरकारको हैसियतको रूपमा रहेको भद्रपुर नगरपालिका नै सम्पूर्ण रूपमा रंगशालाको चमक बिउँताउने अभियानमा जोडिएको छ। ‘कुनै बेला यो रंगशाला मुलुकभरिका खेलाडीले कौशल देखाउने मेची अञ्चलकै प्रमुख खेल मैदानको रूपमा चिनिएको थियो’, भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिता आयोजक समितिका अध्यक्ष दिपेश ढकालले भने, ‘हामीले त्यो इतिहासको गौरव फर्काउन सबैभन्दा पहिला रंगशालाको मुहार फेर्ने काम गरिरहेका छौं।’

अध्यक्ष ढकालसहित समितिका पदाधिकारी दिनभरि रंगशालाको मैदानमा घाँस रोपिरहेका र प्यारापिटमा रंगरोगन गरिरहेका भेटिन थालेका छन्। समितिको महासचिव रहेको भद्रपुर नगरपालिकाको निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठसमेत रंगशाला मर्मतसम्भार अभियानमा खटिने गरेका छन्।

श्रेष्ठले आफ्नो कार्यकालमै रंगशालाको मुहारमा चमक ल्याउने सोचेको तर कोरोना महामारी र मुलुकको राजनीतिक अस्थिरताले सम्भव नभएको बताए। रंगशालाको मैदान सम्याएर घाँस रोप्ने कार्य सम्पन्न भइसकेको र प्यारापिट रङग्याउने काम अन्तिम चरणमा रहेको महासचिव श्रेष्ठले बताए।

अठार वर्षअघि त्रिभुवन गोल्डकपको अन्तिम संस्करण आयोजना भएयता अरू कुनै फुटबलको गोल्डकप मेची रंगशालामा आयोजना भएका छैनन्। यही कारण लामो अन्तरालमा हुन लागेको प्रतियोगिता सफल बनाउन रंगशाला सिंगार्नुपरेको खेलप्रेमी तथा भद्रपुर वडा नं ८ का वडाध्यक्ष मनोज सुब्बा बताउँछन्।

‘कुनै बेला भद्रपुर नेपालकै प्रमुख नगरमा गनिन्थ्यो’, वडाध्यक्ष सुब्बा भन्छन्, ‘भद्रपुरको गौरव फर्काउने हो भने मुख्य पहिचानको रूपमा रहेको रंगशालालाई आकर्षक र चलायमान बनाउनुपर्छ भन्नेमा भद्रपुरवासीको साझा मत छ।’

भद्रपुरको रंगशाला सुस्ताएपछि विर्तामोड, कनकाई, काँकडभिट्टा र दमकतिर फुटबलको प्रतियोगिता हुन थालेका थिए। खेल क्षेत्रमा पूर्वाधार भएर पनि पछि परेको पीडा बोकेका भद्रपुरका खेलप्रेमी यसपालि सर्वाधिक पुरस्कार राशि राखेर अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिताको तयारीमा जुटेको आयोजक समितिका अध्यक्ष ढकालले बताए।

भद्रपुर डेढ दशकअघिसम्म फुटबलको केन्द्र जस्तै थियो। राष्ट्रिय फुटबल टिमका कप्तान रहिसकेका हरि खड्का भद्रपुरकै छन्। उनी मेची रंगशालामै खेलको अभ्यास गर्दागर्दै मुलुकको चर्चित खेलाडी बने। तर, यहाँ चार दशकअघि सुरु भएको त्रिभुवन गोल्डकप २०६१ सालयता एकपटक पनि आयोजना हुन सकेन।

भद्रपुरले इतिहास बिउँताउँदै फुटबल प्रतियोगिता आयोजनाको तयारी थालेपछि झापा विर्तामोडमा बर्सेनि हुँदै आएको झापा गोल्डकपले आफ्नो यस वर्षको कार्यक्रम स्थगित गरेर भद्रपुरलाई सघाउने घोषणा गरेको छ। भद्रपुर गोल्डकप एउटा फुटबल उत्सव मात्रमा सीमित रहेन अब। भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल अहिले नागरिक स्तरबाट गोल्डकपका पक्षमा देखिएको उत्साहजनक सहयोगलाई भद्रपुरकै विकासको पुनर्जागरणको रूपमा लिन्छन्। ‘मेची रंगशालाको जीर्णोद्धारबाट सुरु भएको भद्रपुरवासीको उत्साहलाई ऊर्जा मानेर हामी यस क्षेत्रको समृद्धि अभियानमा सबैलाई जोड्न तत्पर छौं’, नगरप्रमुख पोखरेल भन्छन्, ‘भद्रपुरमा केही हुँदैन, केही गर्न सकिंदैन भन्ने जुन निरासा वर्षौंदेखि थुप्रिएको थियो, अहिले त्यसको अन्त्य भएर रंगशालाको काँचुली फेर्ने कार्यबाट जनजनमा उत्साह जागृत भएको छ।’ रासस  

प्रकाशित: २१ पुस २०७९ ०४:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App