३१ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

लिगले निरन्तरता पाउँछ: चन्द

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल ट्वान्टी-२० लिग नेपाली क्रिकेटको सम्पत्ति भएकाले पहिलो संस्करणले पूर्णता पाउने र आगामी संस्करण पनि निरन्तरता पाउने बताएका छन्।

क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोट्र्सलाई कमर्सियल अधिकार दिएर नेपाल ट्वान्टी-२० लिगको पहिलो संस्करण गरिरहेको छ। यद्यपि, उक्त कम्पनीको नियत सही नदेखिएकाले सम्झौता तोड्ने र लिग पूर्णरूपमा क्यानले ‘टेक ओभर’ गर्ने क्यानका अध्यक्ष चन्दले अभिव्यक्ति दिएका थिए। क्यानले वार्षिक रूपमा चार करोड रूपैयाँ पाउने गरी आठ वर्षका लागि सेभेन थ्री स्पोट्र्सलाई कमर्सियल अधिकार बेचेको थियो।

तर, उक्त कम्पनीका मालिक जतिन अहलुवालियाले भारत पुगेपछि अनेक बहाना गर्न थालेपछि दुबिधामा परेको क्यानले उक्त कम्पनीसँग सम्झौता तोड्ने र सम्झौता अनुरूप रकम पनि असुल गर्ने उल्लेख गर्दै लिग आफ्नो सम्पत्ति रहेकाले पहिलो संस्करण सम्पन्न गर्ने जनाएको छ।

‘बजेट व्यवस्थापन गर्न भारत गएको हुँ भन्ने उसको (जतिन अहलुवालिया) भनाइ छ,’ चन्दले भने, ‘तर उसले बीचमा नै खेल रोकौं भनेपछि हामीले मानेका थिएनौं। यसबीच उनी भारत गएपछि शंका भयो।’ यद्यपि, उक्त कम्पनीका मालिक जतिनका साथै अन्य टिमले बुधबार साँझ पनि क्यानसँग सम्पर्क गरिरहेको र आफूहरू सम्झौता अनुरूप काम गर्न तयारीमा रहेको उल्लेख गरेको चन्दले बताए।

 क्यानले भनेजस्तो पहिलो संस्करण सम्पन्न भए पनि खेलाडी र प्राविधिक टोलीले रकम पाउँछन् कि पाउँदैन् भन्ने चिन्ता पनि छ। क्यानका अध्यक्ष चन्दले भने खेलाडीको पारिश्रमिक फ्रेन्चाइज टोलीले दिने र त्यो प्रक्रिया पनि सुरु भइसकेको बताएका छन्।

‘दुई फ्रेन्चाइज टोलीले केही प्रतिशत पारिश्रमिक दिसकेका छन्। अब सबैले खेलाडीको पारिश्रमिक पाउँछन् र विजेतासहित पहिलो संस्करण सकिनेछ,’ चन्दले भने। पवित्र उद्देश्यले क्यानकै व्यावसायिक क्रिकेटको योजना अगाडि बढाए पनि सफलता पाउन नसकेको उनको भनाइ छ।

‘मेरो नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित हुनेबितिक्कै क्यानले एउटा आफ्नै फ्रेन्चाइज गर्नुपर्छ लक्ष्य थियो। हाम्रो उद्देश्य एसोसिएटकै राम्रो फ्रेन्चाइज क्रिकेट गर्ने तथा खेलाडी, प्रशिक्षक र आफ्ना प्राविधिकले राम्रो रकम पाउँन् भन्ने थियो। क्यानको आयस्रोत पनि बढ्ने भएकाले आफ्नै फ्रेन्चाइज लिग गर्न चाहन्थ्यौं,’ चन्दले भने, ‘तर, महामारीका कारण सम्भव भएन। त्यसपछि सबैभन्दा पहिले नेपालकै कम्पनीलाई फ्रेन्चाइज गर्न प्रस्ताव गर्‍यौं। अधिकांशले बिना ‘फी’ मात्र फ्रेन्चाइज गर्न तयार भए र त्यसपछि हामी मात्र थप विकल्पमा गएका हौं।’

यसबीच सेभेन थ्री स्पोर्टसबाट प्रस्ताव आएको र उसले राम्रै रकम दिने भनेपछि आफूहरू तयार भएको उनले स्मरण गरे। ‘उनीहरूसँग पहिला सम्झौता गरे पनि ढिलासुस्ती र बहाना गरेपछि सम्झौता तोड्ने निर्णय गरेका थियौं। तथापि, सेभेन थ्री सर्तअनुरूप काम गर्न तयार भयो र संशोधनसहित साधारणसभामा प्रस्ताव राख्यौं, जुन बहुमतले पास भयोे। हाम्रो उद्देश्य पवित्र थियो। त्यसैले एजिएममा लगेका थियौं। १/२ जनाको निर्णयले मात्र हामीले काम गरेका थिएनौं,’ चन्दले भने, ‘तर, दुर्भाग्य नै भन्नुपर्छ हामीले चाहेअनुरूप काम भएन।’

पहिलो संस्करण भएकाले लगानी नै गर्नुपर्छ भन्ने तयारीमा सेभेन थ्री नआएको रहेछ भन्ने खेल सुरु भएपछि मात्र थाहा पाएको चन्दले बताए। ‘खेल टिकट र प्रायोजकबाट आम्दानी गर्न सकिन्छ भन्ने उनीहरूले सोचेका रहेछन्। तर, परिस्थिति फरक बन्यो। घाटा मात्र भएपछि धेरै रकम जुटाउनुपर्‍यो र उनीहरू हतास देखिए। सुरुबाट निगरानी राख्यौं र लिग बीचमा नै रोक्ने उनीहरूको प्रस्ताव पनि मानेनौं,’ चन्दले भनेका छन्। लिगमा फिक्सिङ र बेटिङ भइरहेको छ भन्ने आरोप आए पनि त्यसका लागि आइसिसीकै एन्टी करप्सन युनिट र सिआइबीले प्रतियोगिता सुरु हुनुभन्दा सात दिन अगाडिदेखि नै काम गरिरहेको उनको भनाइ छ।

‘सरकार जस्तै हामी पनि क्रिकेटमा शुद्धता चाहन्छौं। गृह मन्त्रालयले मंगलबार सिआइबी अनुसन्धान गर्न भनेछ। तर,लिग सुरु हुनुभन्दा सात दिन अगाडिदेखि नै सिआइबी सक्रिय थियो। उनीहरूले बेटिङका आरोप केहीलाई समातेका पनि थिए। एन्टी करप्सन युनिटले बसेको स्थानदेखि मैदानसम्म खेलाडी, प्रशिक्षक र म्यानेजरलाई निगरानीमा राखेको छ। शंकाकै आधारमा केही निलम्बनमा पनि परिसकेका छन्। एन्टी करप्सनले पनि आइसिसीमा रिपोर्ट पठाइसकेको छ,’ चन्दले भने, ‘यस्तो घटना क्रिकेटको ठूलो फ्रेन्चाइज लिग आइपिएलमा पनि हुन्छ। त्योविरुद्ध छानबिन गर्ने निकाय हुन्छन्। त्यसैले क्यानमाथि मिथ्या आरोप लगाउनु गलत हो।’ 

प्रकाशित: २१ पुस २०७९ ०१:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App