१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

खेल सम्झेर जो चोट भुल्छन्

काठमाडौं- फुटबल नै जीवन, जीवन नै फुटबल– श्रीराम रञ्जितकारले आफ्नो फुटबलप्रेमलाई जीवनकै अभिन्न पक्ष नबनाइदिएका भए सायदै उनको परिचय परिवार र टोलभन्दा बाहिर टाढाटाढा फैलने थियो। जीवनको धेरैजसो समय यही खेलका लागि खर्चेका उनले यसैलाई आफ्नो परिचयको निविर्कल्प पक्ष मान्नु त्यसैले पनि अन्योन्याश्रित हुँदैन।

त्यसो त फुटबलमै पनि उनको परिचय अझै फराकिलो छ। पूर्वखेलाडी, पूर्वरेफ्री, रेफ्री इन्स्ट्रक्टर, रेफ्री एसेसर, एथलेटिक्स र पौडीका वरिष्ठ टाइम किपर रञ्जितकारको करिअरका अनेक आयाम हुन्। उमेरले ६ दशक टेक्न मात्र  लागे पनि उनी ठमठम हिँड्न सक्दैनन्। दायाँ खुट्टा खोच्याएरै उनले लामो समय दशरथ रंगशालामा रेफ्रीको अनुभव सँगाले। खेलाडी र रेफ्रीबाट संन्यास लिएको पनि धेरै भइसक्यो रञ्जितकारले। तर, उनको दैनिकी त्यही घुँडाका कारण कष्टकर बनिरहेको छ। बादल लागेको रात घुँडा दुखेर उनी निदाउन सक्दैनन्। खुट्टा करकर खान्छ। घुँडाको पीडाले आँसु खसाल्छ, तर प्रौढ भइसकेका उनी स–साना छोरा र श्रीमतीका अघि आँसु झार्न सक्दैनन्। सकून् पनि कसरी? जो नेपाल आमाले जन्माएका एउटा बहादुर फुटबल खेलाडी हुन्। तथापि उनलाई यसमा कुनै गुनासो छैन। आफूले सबभन्दा बढी प्रेम गरेको फुटबलले दिएको उपहार मान्छन्, रञ्जितकार यसलाई।

नेपाली खेलकुद र फुटबलका लागि जीवन खर्चेका रञ्जितकार बिहीबार पल्सर स्पोर्टस अवार्डअन्तर्गत लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित हुँदा निकै भावुक थिए। 'बाँकी जीवन खेलकुदमै बिताउन चाहन्छु, त्यसका लागि मलाई यो अवार्डले प्रेरित गरेको छ,' उनले भने, 'मैले जीवनमा धेरै पुरस्कार पाएको छु तर यो अवार्ड मेरो जीवनको अहिलेसम्मको सबभन्दा ठूलो हो।'

सन् १९८१ मा एउटा खेलदौरान रञ्जितकार नराम्ररी घाइते भए। दायाँ घुँडामा लागेको चोटकै कारण उनी हिँड्न नसक्ने अवस्थामा पुगे। तत्काल अपरेसन गर्नुपर्ने थियो तर राष्ट्रिय टोली त्यतिबेला निकै व्यस्त हुने गर्थ्यो। क्लब फुटबल पनि सक्रिय थियो। देशका लागि ज्यानै दिएर पनि खेल्नुपर्छ भन्ने भावना थियो उनमा। स–साना चोटलाई कसले वास्ता गरोस्? रञ्जितकारले पनि घुँडाको उपचारलाई वास्ता गरेनन्। पेनकिलरको सुई लगाउँदै राष्ट्रिय टोलीबाट खेलिरहनुमै उनलाई मजा लाग्यो। पीडाले टिमका अन्य साथीसँग अभ्यास गर्न सक्दैनथे। खेल सुरु हुनेबेला पेनकिलर लगाएर बिस्तारै वार्मअप सुरु गर्थे।

वार्मअपबाट ज्यान तातेपछि दुखाइ थाहा हुँदैनथ्यो। अनि रेफ्रीले सिठी फुक्ने बेलासम्म उनी पनि अरु खेलाडीजस्तै फिट देखिन्थे। ९० मिनेट मजाले डटेर खेल्थे, खेल सकिएपछि साथीहरुले बोकेर बाहिर ल्याउनुपर्थ्यो। दुखाइले रातभर सुत्न दिँदैनथ्यो। त्यसपछि भोलिपल्ट पनि उस्तै दैनिकी।

यसैगरी बिताए रञ्जितकारले खेलाडी जीवनका झन्डै डेढ दशक। खेलाडी छउन्जेल त्यो चोटको उपचार गर्ने फुर्सतसम्म पाएनन्। अपरेसन गरेर महिनौं आराम गर्दा राष्ट्रिय टोलीका थुप्रै खेल खेल्न नसकिने चिन्ता थियो उनमा। प्रशिक्षक, टिम व्यवस्थापक र एन्फा पदाधिकारी पनि रञ्जितकारले सकेसम्म सबै खेल खेलून् भन्ने चाहन्थे।

१९८९ मा एकपटक जर्मनी पुगेपछि मात्र उनले घुँडाको उपचार गराउने समय र मौका पाए। जर्मनीमा विशेषज्ञ डाक्टरबाट उपचार गराउँदा बल्ल थाहा पाए, त्यो चोट कति गहिरो रहेछ।

रञ्जितकार खासमा एउटा फुटबल पागल थिए। फुटबलप्रतिको त्यही पागलपनका कारण पूरै जीवन कष्टकर भए पनि पीडालाई जित्दै लगातार खेल्दा हासिल गरेका धेरै उपलब्धिका स्मरण उनीसँग ताजा छन्। १९८४ मा पहिलो दक्षिण एसियाली खेलकुद (साफ) मा स्वर्ण जित्दाका मुख्य सदस्य उनले राष्ट्रिय टोलीबाट चारपटक साफ खेले।

काठमाडौंको टेबहालमा २०१४ सालमा जन्मिएका रञ्जितकारको परिवार उनी १२ वर्षको हुँदा डिल्लीबजार सर्‍यो। टुँडिखेलसँग नजिक भएकाले टेबहालमा फुटबलको राम्रो संस्कार थियो। त्यो संस्कारमा भिजिसकेका रञ्जितकारले डिल्लीबजारमा पनि फुटबलबाट टाढिनुपरेन। पूरा डिल्लीबजार फुटबलको पर्यायजस्तै थियो। महावीर क्लबको रौनक देशैभरि थियो। फुटबलमय त्यही माहोलमा हुर्किएका उनी २०३० मै बी डिभिजनको यति क्लबमार्फत पेसेबर फुटबलरमा रुपान्तरित भए। तीन वर्ष दोस्रो डिभिजनमा खेलेपछि ठमेल क्लबबाट ए डिभिजनमा 'डेब्यु' गरे। एनआरटीबाट लामो समय खेलेका उनले काठमाडौंका लगभग सबै क्लबको जर्सी लगाए। बंगलादेशको ढाका वन्डरर्स र ब्रदर्श युनियनको खेलाडीका रुपमा दुई वर्ष उतै बिताए।

घरेलु फुटबलमा सनसनीपूर्ण प्रदर्शन गर्ने स्टपर (आक्रामक रक्षक) रञ्जितकार नेपाली फुटबलको स्वर्णिम युगका खेलाडी हुन्। १९७९ मा पहिलोपल्ट आगा खाँ गोल्डकपबाट राष्ट्रिय टोलीको जर्सी लगाएका उनी १९८२ मा एसिया कप खेलेर औपचारिक रूपमा अन्तर्राष्ट्रिय फुटबलको श्रीगणेश गर्दा टिमका महŒवपूर्ण सदस्य थिए।

खेलाडी भएकै कारण राष्ट्रिय खेलकुद परिषदमा उनले जागिर पाएका थिए। पौडी पोखरीमा उनको ड्युटी थियो। सिजनमा पौडी प्रतियोगिता खुब हुन्थे। टाइम किपरको अभाव थियो। रहरै रहरमा रञ्जितकारले पौडीको टाइम किपरको तालिम लिए। ०४५ सालमै हेटौंडामा फुटबल रेफ्रीको पनि तालिम लिएका थिए।

फुटबलमा उनले आदर्श मान्ने खेल जीवनका आफ्ना कप्तान रुपकराज शर्मा सन्यांसपछि रेफ्रीमा रुपान्तरण भएका थिए। पिआइए दुर्घटनामा शर्माको देहावसान भएपछि देशमा रेफ्री अभाव पूर्ति गर्न रञ्जितकारले धेरै वर्ष अघि लिएको तालिमको उपयोग थाले। एक दशक फुटबलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा रेफ्रीको भूमिका निर्वाह गर्ने क्रममा उनले पौडीमा पनि टाइम किपरको काम गरिरहेका थिए। पौडीमा गरेको कामबाट प्रभावित एथलेटिक्सका पदाधिकारीले उनलाई म्याराथनमा पनि काम गर्न अनुरोध गरे। खेलकुदलाई नै जीवन मान्ने रञ्जितकारका लागि त्यो सम्मानको कुरा थियो। सहर्ष स्विकारे। अहिले पनि उनलाई पौडी र एथलेटिक्सका सबैखाले प्रतियोगितामा काम गरिरहेको भेटिन्छ।

गत वर्ष मात्र उनले परिषदको जागिरबाट अवकास पाए तर फुटबलका प्राविधिक पक्षबारे सिकाउने काम गरिरहेकै छन्। अर्थात् फुटबलसँग अलग्गिन कसरी सक्छन् र उनी?

जीवन छ त उनीसँग फुटबल छ। फुटबल छ त उनीसँग आफ्नै जीवन छ। जीवनसँग झैँ सधैं टाँस्सिइरहेको छ उनको मन, फुटबलसँग जो बिहीबारको सम्मानले अझ पुलकित देखिन्छ। स्यालुट रञ्जितकार!

प्रकाशित: ७ श्रावण २०७३ ०१:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App