धेरैको सोचाइ विपरीत कमजोर ढंगमा प्रतियोगिता सुरुआत गरेको पोर्चुगल युरोपियन च्याम्पियनसिपको विजेता हुनु अपेक्षित थिएन। खासगरी फाइनलमा फ्रान्सजस्तो आक्रामक र प्रभावकारी टोलीसँग खेल्नुपर्ने भएपछि पोर्चुगलले जित्ने अपेक्षा कमैले गरेका थिए। तर, रक्षात्मक प्रदर्शनमा भर गर्दा भाग्यको साथ पाएको पोर्चुगल युरोपियन च्याम्पियन बन्यो।
फ्रान्स घरेलु मैदानमा प्रतियोगिता गर्दा सधँै दाबेदार मानिन्छ। यसपालि प्रशिक्षक डिडियर डेसच्याम्पससँग सबै पोजिसनमा विश्वकै उत्कृष्ट खेलाडीहरूको साथ थियो। फाइनलअघिका खेलमा फ्रान्सका स्टारहरूले आफ्नो नामअनुसार प्रदर्शन गरेका थिए। यो प्रतियोगितामा फ्रान्स निकै राम्रो लयमा थियो। त्यसैले फ्रान्सले नै जित्ने सबैको अनुमान थियो। तर, फुटबलमा जित्नका लागि धेरै कुरा मिल्नुपर्छ। फ्रान्सले आफ्नो स्वाभाविक लयमा खेलिरहेको थियो। ठिक विपरीत पोर्चुगल भने सेमिफाइनल बाहेक कुनै पनि खेलमा स्पष्ट जित निकाल्न सफल भएको थिएन।
सेमिफाइनलअघिका कुनै पनि खेलमा निर्धारित ९० मिनेटमा जित निकाल्न नसकेको कारण पोर्चुगल फाइनलमा पनि अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटसम्म गएर सम्भावना खोज्न चाहन्थ्यो। त्यसै कारण पोर्चुगलबाट रक्षात्मक रणनीति अपेक्षित थियो। रक्षापंक्ति बलियो बनाएर मौका पाउँदा काउन्टर एट्याकमार्फत गोलको प्रयास गर्न यस्तो महत्वपूर्ण खेलमा अन्डर डगको रणनीति हुने गर्छ। त्यस्तो अवस्थामा दाबेदारले विपक्षीको रक्षापंक्ति चिर्न सक्नुपर्छ, जुन फ्रान्सले सकेन।
फ्रान्सले फाइनलमा पनि अपेक्षाअनुसार नै खेलको सुरुआत गरेको थियो। सोचेजस्तो सुरुआत हुँदा पहिलो ३५ मिनेट फ्रान्स मैदानका सबै पक्षमा हाबी थियो। बल पोसेसन फ्रान्सले एकतर्फी आफ्नो पक्षमा पार्दा पोर्चुगल भने बल पाउन संघर्षरत थियो। अझ पोर्चुगाली टोलीका मुख्य खेलाडी क्रिस्टियानो रोनाल्डो चोटका कारण २५ औं मिनेटमा स्ट्रेचरमा बसेर बाहिरिए। फ्रान्सले रोनाल्डो नभएपछि त्यसको फाइदा उठाउन सक्थ्यो। एकपक्षीय खेलमा विपक्षी टोलीका मुख्य खेलाडी पनि बाहिरिनु फ्रान्सका लागि ठूलो राहतको विषय थियो।
तर, खेलमा पूरा नियन्त्रण राख्न सके पनि भाग्यले फ्रान्सलाई साथ दिएन। टोलीका एकपछि अर्काे प्रयास असफल भइरहे। फ्रान्सको फाइनलसम्मको यात्रामा महŒवपूर्ण भूमिका निर्वाह गरेका एन्टोनी ग्रिजम्यान, ओलिभर जिरौड र दिमित्री पायेटजस्ता खेलाडी निर्णायक खेलमा स्वाभाविक प्रदर्शनबाट चुकिरहेका थिए। ग्रिजम्यानले दुईटा राम्रा मौका पाएका थिए। उनीजस्ता ठूला स्टारले त्यस्तो अवसर उपयोग गर्न सक्नुपर्थ्यो। यसैगरी पाउल पोग्बाको व्यवहार मैदानमा राम्रो रहेन। उनी सकारात्मक सोचसाथ खेल्न सकिरहेका थिएनन्। जसले गर्दा समग्र टोलीको प्रदर्शन प्रभावित भयो।
फ्रान्सका लागि फाइनलमा मौसा सिसोकोको प्रदर्शन प्रभावकारी थियो। तर, पहिलो हाफमै पोर्चुगलका गोलकिपर रुई प्याटि्रसियोले तीनवटा खतरनाक प्रहार जोगाए। ग्रिजम्यानको हेड, जिरौडको प्रहार र सिसोकोले लामो दुरीबाट प्रहार गरेको बल जोगाउँदा प्याटि्रसियोको आत्मबल बढ्दै गयो। ठिक विपरीत लगातारका अवसरमा चुकिरहँदा फ्रान्सको निराशा बढ्दो थियो। कुनै पनि महŒवपूर्ण खेलमा दाबेदार टोलीले सुरुमै गोल गर्न सकेन भने दबाब बढ्दै जान्छ। फ्रान्सलाई पनि त्यस्तै भयो। दबाबले पछिल्लो समय फ्रान्सको प्रदर्शन खस्किँदै गयो। पोर्चुगलको मनोबल बढ्दो थियो। जसका कारण उनीहरू दोस्रो हाफको १० मिनेटपछि खेलमा फर्कन थाले।
पहिलो हाफमा पूरा खेल नियन्त्रणमा राख्नाका बाबजुद गोल गर्न असफल भइरहँदा फ्रान्सले जर्मनीमाथि आफैले विजय पाएको खेल स्मरण गरेको हुनुपर्छ। जर्मनीले सेमिफाइनलमा पनि खेलमा एकतर्फी नियन्त्रण राखे पनि गोल गर्न सकेको थिएन भने फ्रान्सले अन्तिम समयमा एउटा गोल गर्दै नतिजा हात पारेको थियो। सेमिफाइनलमा जर्मनीजस्तै फाइनलमा आफू पनि दुर्भाग्यको सिकार हुन सक्ने भयले फ्रान्सेली खेलाडीलाई दोस्रो हाफमा गाँजेको जस्तो देखियो। त्यसका कारण उनीहरू पनि थोरै पछि हटेर खेल्न थाले। त्यसले पोर्चुगललाई बल पोसेसनमा सुधार गर्न सहयोग पुग्यो।
चोटले रोनाल्डोलाई मैदान बाहिर पठाएपछि पनि पोर्चुगल आफ्नो रणनीतिबाट टसको मस भएन। पेपेले रक्षापंक्तिमा उच्च प्रदर्शन जारी राखे भने मिडफिल्डमा जाओ मारियो र राफेल गुरेइरोले सकारात्मक प्रदर्शन गरिरहे। रोनाल्डोको अनुपस्थितिमा पोर्चुगलले कुनै पनि बेला आत्मसमर्पणको मनोदशा देखाएन। त्यही कारण फ्रान्सले विपक्षी पेनाल्टी बक्सभित्र थ्रु पास र वाल पासको मौका पाएन। ग्रिजम्यान त्यस्तै पास खेलेर गोलका मुभ बनाउन माहिर खेलाडी हुन्। फ्रान्सेली टोली आक्रमणमा ग्रिजम्यानकै वरिपरि घुमिरहेको हुन्छ। पोर्चुगलले विपक्षीको त्यही विशेषता बुझेर रक्षापंक्ति जब्बर बनायो। थ्रु पास र वाल पास खेल्न दिएन। जसका कारण फ्रान्सको आक्रमण निस्तेज भइरह्यो।
वाल पास र थ्रु पासमार्फत बीचबाट पेनेट्रेट गर्न नसकिरहेको बेला लामो पास खेल्ने र सुटिङबाट गोलको अवसर खोज्ने गरिन्छ। फ्रान्सले पनि त्यही गर्यो तर यसमा फ्रान्सलाई भाग्यले साथ दिएन। विपक्षी गोलकिपरले लामो दुरीबाट गरेका सबै प्रहार असफल पारे।
फ्रान्सेलीहरू लगातारका आक्रमण असफल भएका कारण हतास भइरहेका बेला पोर्चुगलले दोस्रो हाफको २० मिनेटपछि 'टाइम किल' को रणनीति लियो। त्यसले फ्रान्सलाई थप 'इरिटेट' गर्थ्यो।
विपक्षीका सबै रणनीति असफल पार्दै पोर्चुगलले काउन्टर एट्याकमा केही मौका पनि सिर्जना गर्यो। फ्रान्सका गोलकिपर हुगो लोरिसले दुईवटा राम्रो बचाउ गर्नुपर्यो। राम्रो खेल्नाका बाबजुद सबथोक विपक्षमा गइरहेका बेला निर्धारित समयको इन्जुरी समयमा आन्द्रे पिरे गिग्नाकले विपक्षी गोलकिपर समेत छलाएर गरेको प्रहार पोस्टमा लागेर फर्कनु फ्रान्सका लागि सबैभन्दा ठूलो दुर्भाग्य भयो।
खेल अतिरिक्त समयतिर जाने जस्तो देखिएपछि पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले रणनीतिक रूपमा युवा स्टार रेनाटो सान्चेजलाई निकालेर उनको ठाउँमा शारीरिक रुपमा बलिया खेलाडी इडर मैदान पठाए। इन्जुरी समयमा पुगिसकेको कठिन खेलमा बलिया खेलाडी मैदानमा भए त्यसले टिमलाई फाइदा पुग्ने उनले बुझेका थिए। त्यही भएर सान्तोसले प्रतियोगितामा निकै महŒव दिएका प्रतिभावान खेलाडी भए पनि सान्चेजलाई निकालेका थिए। त्यसको फाइदा पोर्चुगलले उठायो पनि।
शीर्ष स्तरको फुटबलमा एउटा गल्ती पनि कहिलेकाहीँ महँगो हुनसक्छ। त्यसमाथि आफ्नो खतरनाक क्षेत्रमा विपक्षीलाई समय र खेल्ने ठाउँ दियो भने झन् समस्या हुनसक्छ भन्ने हिजो फ्रान्सको दुर्भाग्यले देखायो। अनावश्यक रुपमा फ्रि–किक 'कन्सिड' गरेपछि फ्रान्सेली रक्षापंक्तिले इडरलाई खुला रूपमा बल खेलाउन र हान्नका लागि समय र ठाउँ दिएको थियो। त्यही गल्तीमा गोल खायो।
अर्कोतिर रोनाल्डो र पोर्चुगल यो प्रतियोगितामा भाग्यमानी साबित भए। फुटबलमा भाग्यले ठूलो अर्थ राख्ने गर्छ। तर, भाग्यका लागि बहादुरीपूर्ण प्रयास पनि गरिरहनुपर्छ। पोर्चुगलले पूरा समय फ्रान्सको प्रभावकारी आक्रमण निस्तेज गरिरह्यो। मिहिनेतीलाई भाग्यले साथ दिन्छ। पोर्चुगलको मिहिनेतले भाग्यको साथ पायो। युरोपियन च्याम्पियनसिपका सातमध्ये छैटौं खेलको निर्धारित समय बराबरीमा सीमित भए पनि रोनाल्डोको टोलीले उपाधि जित्यो।
प्रकाशित: २८ असार २०७३ ०३:५९ मंगलबार