१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

चेकका गोलकिपरको संन्यास

प्राग- चेक गणतन्त्रबाट कीर्तिमानी १ सय २४ खेल खेलेका भेट्रान गोलकिपर पिटर चेकले १४ वर्षे अन्तर्राष्ट्रिय फुटबल करिअरबाट संन्यास लिएका छन्। ‘विश्वकप छनोट प्रतियोगिताको मध्यमा आएर मैले थकित महसुस गरेको छु। यस्तो निर्णय लिनुपर्दा मलाई दुःख लागेको छ,’ शुक्रबार३४ वर्षे गोलकिपरले भने, ‘मलाई जे काम गर्दा पनि शतप्रतिशत दिनुपर्छ भन्ने लाग्छ। यो मेरो अन्तिम निर्णय हो। मलाई लाग्छ यो समयमा मैले धेरै आराम गर्नुपर्छ।’

चेकले युरो २०१६ मा चेक गणतन्त्रबाट सबै तीन खेल खेलेका थिए। चेक गणतन्त्रले स्पेन र टर्कीसँगको खेल हारेको थियो भने क्रोएसियासँग बराबरी खेलेपछि १ अंकमै टोली समूह चरणबाटै बाहिरिएको थियो।

‘हामीले टोलीको सम्भावना कायम गर्न नसकेकोमा म क्षमाप्रार्थी छु। पक्कै पनि हामीले अझै राम्रो गर्न सक्थ्यौं,’ उनले थपे। 

गतवर्ष उनी चेल्सीबाट आर्सनल जाँदा समाचारका हेडलाइन बनेका थिए। उनले आर्सनलबाट आफूलाई प्रमाणित पनि गरे। उनले कारेल पोबोर्स्कीको १ सय १८ खेलको कीर्तिमान तोडेका थिए। त्यस्तै उनी प्रिमियर लिगमा सबैभन्दा धेरै ‘क्लिन चिट’ गर्ने गोलकिपर हुन्। यसअघि यो कीर्तिमान डेविड जेम्स (१ सय ६९)को नाममा थियो।

१९८२ मे २० मा जन्मिएका चेकले देशका शीर्ष क्लब ब्लसने, स्पार्टा प्रागबाट खेलेपछि उनी २००२ मा फ्रेन्च क्लब रेनेसमा गएका थिए।

२००४ को युरोपियन च्याम्पियनसिप चेक गणतन्त्रले सेमिफइनलसम्म यात्रा तय गरेको थियो। समूह चरणमा चेक गणतन्त्रले जर्मनी र नेदरल्यान्डसजस्तो टोलीलाई पराजित गरेको थियो। त्यसपछि उनी २००४ मै चेल्सी स्थानान्तरण भएका थिए। 

चेल्सीबाट उनले चार प्रिमियर लिग उपाधि (२००५, २००६, २०१०, २०१५) जिते भने २०१२ मा च्याम्पिन्स लिग, २०१३ मा युरोपा लिग लगायत अन्य घरेलु उपाधि जितेका थिए।

जोजे माउरिन्होले थिवाउट कोर्टियललाई पहिलो रोजाइमा खेलाउन थालेपछि छायाँमा परेका चेक ११ वर्षपछि चेल्सी छाडेर १ करोड ४४ लाख अमेरिकी डलरमा आर्सनलतिर लागेका थिए। 

प्रकाशित: २५ असार २०७३ ०२:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App