२६ कार्तिक २०८१ सोमबार
image/svg+xml
खेल

बदलाको तिर्खामा फ्रान्स

मार्से- प्रतिभाशाली खेलाडीले भरिएको डिडियर डेसच्याम्पसको टोली फ्रान्सले लगातार सफलता प्राप्त गरिरहेको जर्मनीसँग युरो २०१६ को सेमिफाइनलमा बिहीबार प्रतिस्पर्धा गर्दैछ। विश्वकप विजेता जर्मनीसँग भने समस्याको पहाड छ।

समस्याबाट गुजि्ररहेको जर्मनीसँग बदला लिने आशासहित फ्रान्सले घरेलु समर्थकको साथमा उत्कृष्ट फुटबल खेल्ने कोसिस गर्नेछ।टोलीको लक्ष्य पेरिसमा आइतबार हुने फाइनलमा स्थान बनाउने हुनेछ।क्वार्टरफाइनलमा आयोजक फ्रान्सले आइसल्यान्डलाई ५–२ ले हराउँदै सेमिफाइनल यात्रा गरेको हो। टोलीलाईसहजै सफलता दिलाउँदा ओलिभर जिरौड, एन्टोनी ग्रिजम्यान र दिमित्री पायेटले स्टेड डे फ्रान्समा गोल गरेका थिए।

घाइते भएका मुख्य खेलाडीहरूले खेल गुमाउँदा पनि जर्मनी आत्मविश्वासीमुद्रामा छ। अन्तिम आठमा इटालीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दा जर्मनीका केही खेलाडी निलम्बनमा परेका थिए भने मुख्य केही खेलाडी घाइते छन्।

फ्रान्स पछिल्लो आठ खेलमा अपराजित छ भने जर्मनीलाई पछिल्लो ६ खेलमा कसैले हराउन सकेको छैन।'हामीलाई कुनै डर छैन। हामीलाई थाहा छ फ्रान्स व्यक्तिगत रूपमा राम्रो खेलाडी भरिएको टोली हो। तर, उनीहरू आयोजक भएको कारण दबाबमा छन्, जर्मनीका स्ट्राइकर थोमस मुलरले भने, 'गोल गरेर पनि आइसल्यान्ड खुसी थिएन। उनीहरूप्रति हाम्रो सम्मान छ । तर म आशावादी छु हामीले समस्याको समाधान निकाल्नेछौं (घाइतेको समस्या)। त्यसले हाम्रो क्षमतालाई घटाउने छैन।'

बोर्डेउक्समा भएको पेनाल्टी सुटआउटमा जर्मनीले खेल जितेपछि महँगो मूल्य चुकाउनुपरेको थियो। मुख्य खेलाडी घाइते भएपछि जर्मनीले तनाब सामना गर्न परिरहेको छ। सेन्टर ब्याक म्याटहुमेल्स पहेँलो कार्ड पाएका कारण मार्सेमा हुने खेललाई निलम्बित छन्।

स्ट्राइकर मारियो गोमेज र मिडफिल्डर सामी खेडिरा चोटका कारण सेमिफाइनलबाट बाहिरिनुपरेको छ। उनीहरूको जाङ, कम्मर र तिघ्रामा चोट देखिएको छ।

समस्या चक्रवृद्धि रूपमा बढिरहेको बेला जर्मनीका कप्तान बास्टियन  स्वास्टाइगरकोपनि घाइते भएकै कारण खेल्नेबारे शंका छ। जर्मनीका प्रशिक्षक जोचिम लोउले ४–२–३–१ को रणनीति बनाउन सक्नेछन्। उनले इटालीविरुद्ध ३–५–२ को रणनीति प्रयोग गरेर टोली मैदानमा उतारेका थिए।

गोमेज आउट भएपछि विश्वकपफाइनलमा अर्जेन्टिनामाथि विजयी गोल गरेका मारियो गोइट्जेलाई सुरुआती सेटमा खेलाउने सम्भावना छ।

तर लोउले बायर्न म्युनिखका सहकर्मी थोमस मुलरलाई पनि गोइट्जेसँगै आक्रमणमा पठाउन सक्छन्। गोमेजको जाङमा समस्या देखिएको छ। यदिजर्मनीले फाइनलमा स्थान बनाउन सके उनले त्यो खेल पनि गुमाउन सक्छन्। हुमेल्स निलम्बनमा परेपछि स्कोडार्न मुस्ताफी वा बेनिडिक्ट होवेड्ससेन्टर ब्याकमा जेरोम बोएटिङकोसाथी हुन सक्छन्। जोसुअ किम्चीले राइट ब्याक र योनास हेक्टरले लेफ्ट ब्याक सम्हाल्नेछन्।

लोउले सेमिफाइनलमा केही नयाँ अनुहारलाई पनि परिचित गराउने छन्। उनले मिडफिल्डमा लिभरपुरका इमरी कान वा जुलियन विगरलाई बोरुसिया डर्टमन्डका टोनी क्रुजसँग डिफेन्सिभ मिडफिल्डरका रूपमा पनि प्रयोग गर्ने सम्भावना छ।

फ्रान्सका स्ट्राइकर जिरौडले गोलकिपर म्यानुयल नुयुरविरुद्ध पछिल्लो तीन खेलमा गोल गरेका छन्। आर्सनलका स्ट्राइकर जिरौडले प्रतियोगितामा उच्च प्रदर्शन गरिरहेका छन्। उनलाई रोक्न जर्मन रक्षापंक्तिलाई चुनौती हुनेछ। त्यो चुनौतीका कारण जर्मनी काउन्टर एट्याकमा जानै पर्नेछ।

'बक्सभित्र उनी धेरै खतरनाक खेलाडी हुन्,' गोलकिपर नुयुरले भने, 'उनी उचाइको बलमा पनि खतरनाक छन्। सेन्ट्रल डिफेन्डरका लागि उनी चुनौती हुन सक्छन्। तर हामीलाई उनका बारेमा थाहा छ। हामीले उनका बारेमा तयारी गरेका छौं। उनीहरूसँग धेरै प्रतिभाशाली खेलाडी छन्।'

फ्रान्सका रक्षक एडिल रेमी र मिडफिल्डर एनगोलो कान्टे सेमिफाइनल खेलमा फर्किएका छन्। निलम्बनका कारण उनीहरू दुवैले आइसल्यान्डविरुद्ध जित पाएको खेल गुमाएका थिए।

विश्व विजेताविरुद्धखेल्न फ्रान्सले पूर्णतयारी गरेको छ। उनीहरूले रणनीतिक रूपमा तयारी पूरा गरेका छन् तर सन्देश भने स्पष्ट छ। 'फ्रेन्च फुटबल इतिहासमा हामी अर्को उपलब्धिलाई लेखाउन चाहन्छौं,' जिरौडले भने, 'हामी त्यसका लागि पूर्ण रूपमा तयार छौं।'

फ्रान्सको एक स्पोर्टस दैनिकले आफ्नो मुख्य पृष्ठको शीर्षक राखेको छ, 'बदलाको तिर्खा।'

इटालीविरुद्ध जर्मनीको जस्तै विश्व च्याम्पियनसँग पनि फ्रान्सकोस्मरणीय इतिहास छ। विश्वकप २०१४ को क्वार्टरफाइनलमा फ्रान्स जर्मन टोलीसँग पराजित भएको थियो। त्यतिबेला रियो द जेनेरियोमा हुमेल्सले पहिलो हाफमा हेड गोल गरेका थिए। त्यसअघि १९८२ को विश्वकप सेमिफाइनलमा पनि फ्रान्स पेनाल्टी सुटआउटमा जर्मनीसँग स्तब्ध भएको थियो। सेभियामा सम्पन्न सेमिफाइनलको निर्धारित समय ३–३ को बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा जर्मनीले ५–४ को नतिजा निकालेको थियो। तर, फ्रान्सका लागि त्यो खेलको स्मरण पराजित नतिजाले खेलाडीको चोटले पीडादायी गराउँछ। जर्मनीका गोलकिपर हेराल्ड सुमाकरसँग ठोक्किँदा फ्रान्सका प्याटि्रक बाटिस्टन गम्भीर घाइते भएका थिए। दुईटा दाँत हराएका बाटिस्टनको करङका तीनवटा हड्डी भाँचिएको थियो। बेहोस अवस्थामा अस्पताल पुर्‍याइएका उनी कोमामा गएका थिए।

तर इतिहासबाट उत्सुक भएको जर्मनी सेमिफाइनल खेल जित्न यहाँ अहिले केन्द्रित भइरहेको छ।विश्वकप जितेपछि जर्मनीले अहिले युरोपियन च्याम्पियनसिपको उपाधि पनि थप्ने आशामा छ। मुलरभन्छन्, 'लगातार दुई मुख्य प्रतियोगिताको उपाधि जित्ने अवसर पाउनु ठूलो कुरा हो। यो सधैँ तपाईले पाउनुहुन्न। हामी त्यो प्राप्त गर्ने कोसिस गरिरहेका छौं।'

प्रकाशित: २३ असार २०७३ ०४:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App