आइसल्यान्डका लागि युरोपियन च्याम्पियनसिपमा आयोजक फ्रान्सविरुद्धको क्वार्टरफाइनल सपनामा पनि नदेखेको उपलब्धि थियो। पहिलोपटक कुनै पनि ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि लायक भएको आइसल्यान्डका लागि सहभागिता नै सपना पूरा भएसरह थियो। पहिलोपल्ट युरोपियन च्याम्पियनसिप खेल्दा टोलीले धेरैलाई आश्चर्यमा पार्दै नकआउट चरणको यात्रा तय गर्यो।
नकआउट चरण पुग्नु ३ लाख ३० हजार जनसंख्या र एकसयमात्र व्यावसायिक खेलाडी भएको आइसल्यान्डका लागि ठूलो बोनस थियो। समूह चरणको सनसनीले आइसल्यान्ड उत्साही भयो। अन्तिम १६ को खेलमा लामो समयदेखि उपलब्धिविहीन भए पनि विश्व फुटबलमै महारथीको पहिचान बोकेको इङ्ल्यान्डसँग खेल्नु थियो। स्वाभाविक रूपमा इङ्ल्यान्ड हाबी हुने सबैको अनुमान थियो, आइसल्यान्डको पनि। त्यसैले आइसल्यान्डले फराकिलो अन्तरको हारबाट जोगिन समुह चरण र त्यसअघि मैत्रीपूर्ण खेल तथा छनोट चरणमा सफलता हासिल गर्दाका सबै रणनीति, जोश, उत्साह इङ्ल्यान्डविरुद्धको खेलमा पोख्यो। ठिक विपरीत इङ्ल्यान्डले विपक्षीलाई सानो देश र कमजोर टोलीका रूपमा मात्र लिएर 'क्याजुअल्ली' प्रस्तुत भयो। जसले विश्व फुटबलमै दुर्लभ स्तब्ध नतिजा सम्भव भयो। एकजना पनि माथिल्लो स्तरका व्यावसायिक प्रशिक्षकसमेत नभएको आइसल्यान्डले विश्वकै सबैभन्दा ठूलो लिग भएको इङ्ल्यान्डलाई हरायो।
इङ्ल्यान्ड र आइसल्यान्डबीचको खेल आयोजक फ्रान्सलाई शिक्षा लिन राम्रो अवसर थियो। इङ्ल्यान्डसँग आइसल्यान्डले रक्षापंक्तिमा गरेको जब्बर प्रदर्शन, सेट पिसहरू (खासगरी थ्रो मा बल लामो फालेर गोलको मौका सिर्जना गर्ने) को प्रभावकारी शैली र काउन्टर एट्याकमा जाँदा सबै खेलाडीले देखाउने 'स्पि्रन्टर' जस्तो गति राम्ररी अवलोकन गर्न पाउनु फ्रान्सका लागि फलदायी भयो। मैदानभित्रका सबै ११ पोजिसनमा बेन्च समेत बलियो रहेको कारण फ्रान्सलाई जुनसुकै शैलीमा खेल्न गाह्रो थिएन। तथापि टोलीले नियमित ४–२–३–१ कै शैली रोज्यो। विपक्षीको बलियो पक्षलाई निस्तेज गर्दै आफूले अवसर सिर्जना गर्नमा डिफेन्सिभ मिडफिल्डमा खेलेका पाउल पोग्बा र ब्लेसी मातौडी प्रभावकारी देखिए भने त्यसभन्दा अगाडि दिमित्री पायेट, एन्टोनी ग्रिजम्यान र मुसा सिसोको तथा एक्ला स्ट्राइकर ओलिभर जिरौडले आइसल्यान्डको रक्षापंक्तिमाथि धावा बोलिरहे।
आइसल्यान्डले भने इङ्ल्यान्डलाई जितेपछि युरोपियन च्याम्पियनसिप नै जितेजस्तो सोचिसकेको थियो। पहिलोपटक सहभागिता जनाएर इतिहास बनाएका उनीहरूले पहिलोपटक नकआउट चरण पुग्ने र क्वार्टरफाइनल पुग्ने इतिहास पनि लेखिसकेका थिए। त्यसमा इङ्ल्यान्डलाई हराएर क्वार्टरफाइनल पुगेपछि उनीहरूसामु फुटबलमा सफलता हासिल गर्ने अर्को ठूलो सपना पनि रहेन। इङ्ल्यान्डमाथि विजय पाउन सक्ने टोलीले त्यही उत्साह र जोश पोखे फ्रान्सलाई पनि स्तब्ध पार्न सकिन्छ भन्नेतिर ध्यान दिएको देखिएन। खेल सकिइसकेपछि पनि आइसल्यान्डका खेलाडीमा सेमिफाइनल पुग्न नसक्नुको दुःख थिएन। उनीहरू हजारौंको संख्यामा रंगशालामा उपस्थित आफ्ना समर्थकसँग लामो समयसम्म खुसी साटिरहेका थिए। फुटबल मैदानमा दुर्लभमात्र देखिने दृश्य आइतबार राति देखियो। खेल सकिएपछि दुवै टोली उत्साहसाथ खुसियाली मनाइरहेका थिए। सबै खेलाडीमा यस्तो भावना हुँदा त्यो टोलीले फुटबलमा सफलता हासिल गर्न सक्दैन।
खेलपछिको त्यो दृश्यले आइसल्यान्डको मनोभाव देखाएको थियो। उनीहरू फ्रान्ससँग जित्नका लागि मैदान उत्रिएका थिएनन्। सके जित्ने, नसके बराबरी गरेर पेनाल्टीमा भाग्य खोज्ने, नत्र स्वाभाविक रूपमा कम गोल खाने उनीहरूको मनोभावना थियो। बिना दबाब मैदान उत्रिँदा उनीहरूमा गोल रोक्ने भन्दा पनि सके आफू पनि गोल गर्ने खालको भावना देखिन्थ्यो। त्यहीअनुसार खेल्दा दोस्रो हाफमा उनीहरू फ्रान्सले गरेको १ गोलविरुद्ध २ गोल गर्न सफल भए। त्यसो त फ्रान्सले पहिलो हाफमै ४–० को अग्रता लिइसकेको थियो। अन्तर्राष्ट्रिय फुटबलमा ४५ मिनेटमा ४ गोल फर्काउनु सम्भव हुँदैन। फ्रान्सले सेमिफाइनलमा विश्व च्याम्पियन जर्मनीसँग खेल्नुपर्ने पक्का भइसकेको थियो। त्यसैले डिडियर डेसच्याम्पसले दोस्रो हाफमा आफ्ना मुख्य खेलाडी जोगाउने सोच बनाए। आइसल्यान्डले दुई गोल गर्न सक्नुमा फ्रान्सले दोस्रो हाफमा अख्तियार गरेको खुकुलो नीति पनि कारक रह्यो।
फ्रान्ससँग सबै पोजिसनमा विश्वकै उत्कृष्ट खेलाडीहरू भए पनि प्रतियोगितामा यसअघि उनीहरूले पहिलो हाफमा गोल गर्न सकेका थिएनन्। तर, आइतबार २० मिनेटभित्र २ गोल गरिसकेका थिए। पहिलो हाफमा ४ गोलले अग्रता लिइसकेको थियो। त्यसमा पनि जिरौड, पायेट, ग्रिजम्यान र पाउल पोग्बा जस्ता खेलाडीले गोल गर्न सके। खासगरी जिरौड, ग्रिजम्यान र पायेटको गोल गर्ने फर्मले निरन्तरता पाउनु फ्रान्सका लागि राम्रो भयो। प्रतियोगिताका आगामी खेलमा उनीहरूलाई यसले फाइदा पुर्याउने छ।
प्रकाशित: २१ असार २०७३ ०३:२५ मंगलबार