२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

विश्वकपमा पाएको सफलताले अर्जेन्टिनामा एकता

पछिल्लो एक महिना कप्तान लियोनल मेसी र अर्जेन्टिनाका अन्य खेलाडीले समर्थकमा सफलताको खुसीका साथै एकता पनि ल्याए। अर्जेन्टिनाको आर्थिक मन्दी र अस्थिर राजनीतिबीच त्यहाँका नागरिकमा खुसीको पर्याय बनेको छ अर्जेन्टिनाको विश्वकप सफलता।

१९८६ पछि अर्जेन्टिनाले पहिलो पटक विश्वकप जितेको हो। जसले क्लब फुटबलमा धेरै सफलता चुमेका सात पटकका बालन डी’ओर विजेता मेसीको करियर पूर्ण गरिदियो।

अर्जेन्टिना वर्षौंसम्म चरम आर्थिक मन्दीको चपेटामा परेको थियो, जहाँ मानिसको दैनिकी निकै कष्टकर बनेको थियो। त्यहाँ अझ पनि ४० प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन्। मुद्रास्फीति बढेसँगै आम मानिसको बचत तथा खरिद गर्ने हैसियत पनि कमजोर बनाइदिएको छ। आइतबार कतारको दोहास्थित लुसेल स्टेडियममा अर्जेन्टिनाले साबिकको विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै विश्वविजेता बन्दा अर्जेन्टिनाका ४५ मिलियन जनता सो सफलतामा रमाइरहेका थिए। त्यसले एकताको सन्देश दिएको थियो। अर्जेन्टिनाले ३६ वर्षअघि डिएगो म्याराडोनाको प्रभावशाली प्रदर्शनमा विश्वविजेता बनेको थियो। अर्जेन्टिनाका विज्ञहरू भने विश्वकपले दिलाएको एकता र खुसी धेरै समय नटिक्ने बताउँछन्।

‘खेलकुदमा जे भयो, विशेष गरी अर्जेन्टिनाको विश्वकप सफलताले राष्ट्रलाई एकताको सूत्रमा बाँध्ने कायम गरेको छ। खेलकुदबाहेक सायदै अन्य विधा होला जसले राष्ट्रमा एकताको सन्देश दियोस्,’ समाजशास्त्री रोर्डिगो डस्कालले भने, ‘राष्ट्रियताको सबालमा यो बलियो पक्ष हो। तर यसको अर्थ यो सफलताले अर्जेन्टिनामा जारी आर्थिक मन्दी र राजनीतिक अस्थिरताको स्थिति परिवर्तन भइहाल्ने अवस्था छैन।’

कतारमा अर्जेन्टिनाले फ्रान्सविरुद्ध पेनाल्टी सुटआउटमा जितको प्रतीक्षा गरिरहँदा चिर प्रतिद्वन्द्वी बोका जुनियर्स र रिभर प्लेट होस् वा रोसारियामा नेविल ओल्ड ब्वाइज र रोसासियो सेन्ट्रल पनि एक ठाउँमा उभिएका थिए।

‘यो लगाव र एकताले पक्कै पनि भविष्यमा एकताको गतिलो उदाहरण देखाएको छ। यसले राष्ट्रिय एकताको बलियो सन्देश दिएको छ,’ अर्जेन्टिनाका रक्षक निकोलस तङलियाफोले भने, ‘यसले अर्जेन्टिनाका नागरिकमा नयाँ आशा पलाएको छ।’

‘यो हाम्रो समस्या भुल्ने समय होइन तर पनि हामी एक भयौं भने केही सुधार गर्न सकिन्छ भन्ने आशा पलाएको छ,’ ५० वर्षे जुलियो ब्रेन्डनले भने, ‘हामीले आपसी असहमति त्याग्नुपर्‍यो। हामी विश्वविजेता  हौं, त्योभन्दा अरू केही होइन। म दैनिक काममा जानुपर्छ, अन्य नागरिक पनि। हाम्रो दैनिकी परिवर्तन भएको होइन। खेलकुदमा मात्र हामी विश्वविजेता हो अन्य क्षेत्रमा होइन।’

प्रकाशित: ६ पुस २०७९ ०१:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App