६ वैशाख २०८१ बिहीबार
खेल

अर्जेन्टिना तेस्रोपटक विश्व च्याम्पियन

कतार विश्वकप फुटबलको उपाधिसहित अर्जेन्टिनाका खेलाडी।तस्बिर: एपी

अर्जेन्टिनाले फ्रान्समाथि पेनाल्टी सुटआउटमा ४–२ को जितसहित कतार विश्वकप २०२२ हात पारेसँगै कप्तान लियोनल मेसीको सुखद बिदाइको लक्ष्यले पूर्णता पाएको छ।

लुसेल स्टेडियममा अर्जेन्टिनाले पटकपटक लिएको अग्रताका बाबजुद स्ट्राइकर किलियन एमबाप्पेले ह्याट्रिकसहित फ्रान्सको उपाधि रक्षाको सपनालाई पेनाल्टी सुटआउटसम्म पुर्‍याउँदै जीवित राखेका थिए। निर्धारित र अतिरिक्त समयको खेल ३–३ को बराबरीमा सकिएपछि विश्व विजेताको टुंगो पेनाल्टी सुटआउटमा लगाइएको हो। जसमा फ्रान्स पुनः अभागी बन्यो। सन् २००६ को जर्मनी विश्वकपमा पनि फ्रान्स इटालीसँग पेनाल्टी सुटआउटमा निराश भएको थियो।

चौथो पेनाल्टी प्रहारका लागि आएका गोन्जालो मोन्टाइलको प्रहारले जाली चुमेसँगै अर्जेन्टिना तेस्रोपटक विश्वविजेता बनेको छ। यो जितले मेसीलाई पेले र डिएगो म्याराडोनाजस्तै सर्वकालीन खेलाडी बनाइदिएको छ।

मेसी र एमबाप्पेबीचको भिडन्तमा यी दुवै खेलाडी छाए। मेसीले २ गोल गरे भने एमबाप्पे १९६६ पछि विश्वकपको फाइनलमा ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी बने। १९६६ मा इङ्ल्यान्डका जियोफ हसर्टले फाइनलमा ह्याट्रिक गरेका थिए।

२३औं मिनेटमा लियोनल मेसीको पेनाल्टी गोलमा अर्जेन्टिनाले अग्रता लिएको थियो। त्यसको १३ मिनेटपछि एन्जेल डी मारियाले अर्जेन्टिनाको अग्रता दोब्बर पारेका थिए। तर निर्धारित समयको खेल सकिन १० मिनेट बाँकी रहँदा एमबाप्पेले एक मिनेटको अन्तरमा दुई गोल गर्दै साबिकको विजेतालाई खेलमा फर्काएका थिए। ८०औं मिनेटमा पेनाल्टीमा फ्रान्सका लागि पहिलो गोल गरेका एमबाप्पेले त्यसको एक मिनेटपछि नै टोलीलाई खेलमा फर्काएका थिए।

१०९औं मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोलसहित अर्जेन्टिनालाई अग्रता दिलाउनुका साथै सर्वाधिक गोलकर्तासहित गोल्डेन बुटमा समेत दाबेदारी बलियो पारेका थिए।

उनका लागि कतार विश्वकपमा यो सातौं गोल हो। विश्वकपमा उनका लागि समग्रमा भने यो १३औं गोल हो। तर ११८औं मिनेटमा एमबाप्पेले दोस्रोपटक पेनाल्टीको सदुपयोग गर्दै फ्रान्सलाई खेलमा फर्काएका थिए। जसले १९६२ पछि विश्वकपको उपाधि रक्षा गर्ने फ्रान्सको लक्ष्य जीवित बनाएको थियो। १९६२ मा ब्राजिल र १९३८ मा इटालीले विश्वकपको उपाधि रक्षा गरेका थिए। विश्वकपमा एमबाप्पेको आठौं गोल थियो। जसले उनलाई सर्वाधिक गोलकर्ता बनाउँदै गोल्डेन बुट दिलायो।

गोल्डेन बुट विजेता केलियन एम्बाप्पे

कतार विश्वकपमा यो दोस्रो ह्याट्रिक हो। यसअघि अन्तिम १६ मा पोर्चुगलका गोन्सालो रामोसले स्विट्जरल्यान्डविरुद्ध ह्याट्रिक पूरा गरेका थिए। एमबाप्पेले भने विश्वकपमा आफ्नो गोल संख्या १२ पु¥याएका छन्। रुस विश्वकपमा उत्कृष्ट युवा खेलाडीको अवार्ड विजेता एमबाप्पेले ४ गोल गरेका थिए।

अतिरिक्त समयको अन्तिम सेकेन्डमा गोलकिपर मार्टिनेजले फ्रान्सका कोलो मुआनीको प्रहार विफल पार्दैै मेसीको सुखद बिदाइको लक्ष्य कायम राखेका थिए। पेनाल्टी सुटआउटमा एमबाप्पेले सहजै बललाई जाली चुमाएका थिए। तेस्रो पेनाल्टी पनि एमबाप्पेले सदुपयोग गरेका हुन्। तर किंग्सले कोमानको प्रहार अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले बचाएका थिए भने औरेलिन चुवामेनीको प्रहार बाहिरिएको थियो।

अर्जेन्टिनाका लागि भने मेसी, पाब्लो डिबाला, लियोनार्दो पाराडेस र मोन्टाइलले पेनाल्टीको सदुपयोग गरेका थिए। अर्जेन्टिनाले सन् १९८६ पछि पहिलोपटक विश्वकप जितेको हो। २०१४ मा विश्वविजेता बन्ने सँघारमा रहे पनि अर्जेन्टिना फाइनलमा जर्मनीसँग निराश भएको थियो। मेसीले यसअघि नै कतार विश्वकप आफ्ना लागि अन्तिम सहभागिता भएको घोषणा गरिसकेका थिए। जुन सपना साकार पार्न उनी सफल भए। उनी विश्वकपको समूह चरण, अन्तिम १६, क्वार्टरफाइनल, सेमिफाइनल र फाइनलमा गोल गर्ने पहिलो खेलाडीसमेत बनेका छन्। त्यस्तै मेसी विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडीसमेत बने। फ्रान्सविरुद्धको फाइनल भिडन्त उनका लागि विश्वकपको २६औं खेल थियो।  

साउदी अरेबियाविरुद्ध समूह चरणको पहिलो खेलमा स्तब्ध भएको अर्जेन्टिनाले त्यसपछि भने जितको लय कायम राखेको थियो। यसअघि २०१० मा पनि स्पेन पहिलो खेलमा स्विट्जरल्यान्डसँग पराजित भए पनि विश्वविजेता बनेको थियो।

प्रकाशित: ४ पुस २०७९ ००:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App