८ वैशाख २०८१ शनिबार
खेल

कसरी पुगे अर्जेन्टिना र फ्रान्स फाईनलमा?

कतारमा जारी विश्वकपमा आज उपाधिका लागि अर्जेन्टिना र फ्रान्सबिच प्रतिस्पर्धा हुँदैछ। नेपाली समय अनुसार आज राती पौने ९ बजे सुरु हुने यो खेल कतारको लुसेल रंगशालामा हुनेछ।

कतारमा जारी विश्व कप फुटबलको २२ औ संस्करणको पहिलो खेलमै साउदी अरेबियासँग दुई–एक गोलले हारेको अर्जेन्टिना त्यस पछि लगातार ५ खेल जित्दै फाइनलमा पुगेको हो। 

समूह चरणको सी समूहमा रहेको अर्जेन्टिनाले दोस्रो खेलमा मेक्सीकोलाई दुई शून्यले तथा तेस्रो खेलमा पोल्याडलाई पनि दुई शून्य गोलबाट हराउँदै समूहमा पहिलो हुँदै अन्तिम १६ मा पुग्यो। अन्तिम १६ मा अर्जेन्टिनाले एसियाली राष्ट्र अष्टेलियालाई  दुई–एक गोलले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको हो ।त्यसैगरी अर्जेन्टिनाले क्वाटर फाइनलमा नेदरल्याड्सलाई टाई ब्रेकरमा चार–तीन गोलबाट हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो।

निर्धारित समय सम्म दुवै टोलीको दुई–दुई गोल भई अतिरिक्त समय थप्दा पनि दुवै टोलीबाट गोल हुन नसकेपछि यी दुई बिचको खेल टाई ब्रेकरमा निर्णय गर्नु परेको हो। सेमिफाइनलमा अर्जेन्टिनाले साबिकको उपविजेता क्रोएसियालाई तीन–शून्य गोलबाट हराउँदै फाइनलको टिकट काटेको हो।

त्यसैगरी फ्रान्स यस विश्व कपमा समूह 'डी' मा रहेको थियो। उसले समूह चरणको पहिलो दुई खेल जित्यो भने अन्तिम खेल हार्न पुग्यो। फ्रान्सले पहिलो खेलमा अस्ट्रेलियालाई चार–एक गोलले हराउँदै सुखद सुरुवात गरेको थियो। त्यसैगरी दोस्रो खेलमा  डेनमार्कलाई दुई –एक गोलबाट हरायो भने समूहको अन्तिम खेलमा टियुनिसासँग एक– शून्य गोलले हार्‍यो। हारको बावजुत पनि साबिक विजेता फ्रान्स समूहमा पहिलो हुँदै अन्तिम १६ मा प्रवेश गर्न सफल भएको हो। 

त्यसैगरी अन्तिम १६ मा फ्रान्सले  पोल्याडलाई तीन-एक गोलबाट हराउँदै क्वाटर फाइनलमा पुगेको हो। क्वाटर फाइनलमा  इग्ल्याडलाई  दुई-एक गोलबाट हराउँदै फ्रान्स सेमिफाइनलमा पुगेको हो। त्यसैगरी फ्रान्स मोरोक्कोलाई दुई-शून्य गोलबाट हराउँदै फाइनलमा पुगेको हो।

विश्वकप इतिहासमा अर्जेन्टिना र  फ्रान्स  दुवै टोलीले यो उपाधि दुई पटक जितेका छन्।

अर्जेन्टिनाले पछिल्लो ३६ वर्ष अघि सन् १९८६ मा विश्वकपको उपाधि जितेको थियो। त्यस बेला डियगो म्यारोडोना अर्जेन्टिनाका कप्तान थिए। त्यस भन्दा अघि अर्जेन्टिनाले पहिलो संस्करण १९३० मै विश्व कपको उपाधि जितेको थियो। त्यस पछि अर्जेन्टिना १९९० र २०१४ मा फाइनलमा पराजित भएर उपाधि  जित्न असफल भएको थियो। फ्रान्सले सन् १९९८ र २०१८ मा विश्वकप जितेको थियो। फ्रान्स लगातार उपाधि जित्ने दाउमा छ भने अर्जेन्टिना ३६ वर्ष पछि महान् खेलाडी म्यारोडोनाले उचालेको उपाधि अहिलेको चर्चित खेलाडी लियोनल मेस्सीले उचाल्न चाहन्छन्।

विश्वकपमा फ्रान्स र अर्जेन्टिना अहिले सम्म तीन पटक भिडी सकेका छन्। अघिल्लो विश्वकपमा फ्रान्सले अर्जेन्टिनालाई चार-तिन गोलबाट हराएको थियो। त्यसैगरी १९७८ मा अर्जेन्टिनाले फ्रान्सलाई दुई–एक गोलबाट तथा सन् १९३० को पहिलो संस्करणमा एक– शून्य गोलबाट हराएको थियो।

अर्जेन्टिना विश्वकपको फाइनलमा पुगेको यो पाँचौँ पटक हो भने फ्रान्स फाइनलमा पुगेको यो तेस्रो पटक हो। फ्रान्स सन् २००६ मा जर्मनीमा भएको विश्वकपको  फाइनलमा इटालीसँग पराजित भएको थियो। फ्रान्सले पहिलो पटक सन १९९८मा ब्राजिललाई हराउँदै उपाधि जितेको हो। सन २०१८ मा चाहिँ फ्रान्सले क्रोएसियालाई हराएर दोस्रो पटक उपाधि हात पारेको हो।

प्रकाशित: ३ पुस २०७९ ११:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App