२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सुखद बिदाइको खोजीमा मेसी, दुर्लभ लक्ष्यमा एमबाप्पे

अर्जेन्टिनाका कप्तान लियोनल मेसी विश्वकप उपाधिसहित आफ्नो अन्तर्राष्ट्रिय खेल जीवनको सुखद अन्त्य गर्ने लक्ष्यमा छन्। तर, मेसीले त्यसका लागि साबिकको विजेता फ्रान्स र कीर्तिमानको संघारमा रहेका केलियन एमबाप्पेको चुनौती पार लगाउनु पर्नेछ।

एमबाप्पे आइतबार ब्राजिलका पेलेपछि दुई वटा विश्वकप जित्ने सबैभन्दा युवा खेलाडी बन्न सक्छन्। पेले २१ वर्षमा दुई पटक विश्व विजेता बनिसकेका थिए। आइतबार लुसेल स्टेडियममा अर्जेन्टिनामाथि जितसहित विश्वकप उपाधि रक्षा गरेमा एमबाप्पे २३ वर्षमा दुई पटक विश्व विजेता बन्नेछन्।

मैदान बाहिर र मैदानभित्र अनेकौं विवादले घेरिएको कतार विश्वकप २०२२ आइतबार विश्व फुटबलका दुई शक्ती राष्ट्र अर्जेन्टिना र फ्रान्सबीच एक टोलीलाई विजेताको ताज पहिराउँदै अन्त्य हुनेछ। सन् १९६२ पछि विश्वकपको उपाधि रक्षा गर्ने पहिलो टोली बन्ने लक्ष्यमा रहेको फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पका लागि अर्को टाउको दुखाईको विषय भनेको भाइरसका कारण केही खेलाडी प्रशिक्षणमा उपस्थित हुन नसक्नु हो।

अर्जेन्टिना र फ्रान्स दुवै राष्ट्र तेस्रो पटक विश्व विजेता बन्ने दौडमा छन्। रुस विश्वकपमा उपाधि जितेको फ्रान्स चार वर्षपछि पनि सोही सफलता दोहोर्‍याउने लक्ष्यमा छ। लगातार दुई विश्वकप जित्न सके डेसच्याम्पका लागि अर्को उपलब्धि हुनेछ। सन् १९६२ मा ब्राजिलपछि कुनै पनि राष्ट्रले विश्वकपको उपाधि रक्षा गर्न सकेको छैन। मेसी आफ्नो अन्तिम विश्वकप खेलमा जितसहित सुखद बिदाइको लक्ष्यमा छन्। उनले यस अघि नै फ्रान्सविरुद्धको प्रतिस्पर्धा आफ्ना लागि विश्वकपको अन्तिम खेल हुने घोषणा गरेका थिए। क्लब फुटबलमा सबै सफलता हात पारेका सात पटक बलोन डी’ ओर विजेता मेसीले जित्न बाँकी उपाधि भनेको विश्वकप मात्र हो।

मेसीकै कप्तानीमा गत वर्ष अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको थियो। आफ्नो पाँचौं विश्वकप सहभागितामा मेसी उत्कृष्ट लयमा छन्। समूह चरणको पहिलो खेलमा साउदी अरेबियासँग निराश भएको अर्जेन्टिनाले त्यसपछि भने मेसीको प्रेरणामा उत्कृष्ट नतिजाका साथ फाइनल यात्रा तय गरेको हो। अर्जेन्टिनाको फाइनल यात्रामा मेसीले पाँच गोल र तीन गोलका लागि असिस्ट गरेका छन्। त्यस्तै युलियन अल्भारेजले पनि चार गोल गरिसकेका छन्। ‘हामी निकै उत्साही छौं। तर हामी विशेष क्षणबाट एक कदम पछि छौं,’ अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कोलानीले भने।

३५ वर्षका मेसी २०१४ को ब्राजिल विश्वकपमा पनि उपाधि संघारमा रहे पनि जर्मनीसँग निराश भएका थिए। आठ वर्षपछि जुरेको विश्वविजेता बन्ने दोस्रो अवसर गुमाउने पक्षमा मेसी छैनन्। सन् १९८६ मा डिएगो म्याराडोनाको प्रेरणामा विश्वकप जितेको अर्जेन्टिनाले त्यसयता उपाधि जित्न सकेको छैन। ‘म आफैंमा रमाइरहेको छु। मैले यो विश्वकप विशेष रूपमा लिएको छु,’ क्रोएसियाविरुद्ध सेमिफाइनलमा ३-० को जित निकालेपछि मेसीले भनेका थिए। तर मेसीको जितले कतार विश्वकप २०२२ यादगार बन्छ वा फ्रान्सको उपाधि रक्षा गर्ने उपलब्धिले? त्यो पनि चासोको विषय बनेको छ। फ्रान्सले फाइनलसम्म पुग्दा कुनै कठिनाई भोग्नु परेको छैन। तर फाइनल खेलको एक दिनअघि मात्र केही खेलाडी बिरामी पर्दा त्यसले साबिकको विजेतालाई केही दबाब दिएको छ।

रुघाखोकीकै कारण रक्षक राफेल भरान र इब्राहिमा कोनाटेका साथै किंग्स्ले कोमान शुक्रबार प्रशिक्षणमा अनुपस्थित थिए। डेसच्याम्पले मेसीको टोलीविरुद्ध गुमाउन नचाहेका खेलाडी एमबाप्पे नै हुन्। एमबाप्पेले पनि जारी विश्वकपमा पाँच गोल र दुई असिस्ट गरेका छन्। एमबाप्पे र मेसी संयुक्त रूपमा सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन्।

यद्यपि, उनी इङ्ल्यान्डविरुद्धको क्वार्टरफाइनल र मोरक्कोविरुद्धको सेमिफाइनलमा भने प्रभावशाली देखिएका थिएनन्। रुस विश्वकपमा एमबाप्पे १९ वर्षमा नै विश्वकप जित्दै सो उपलब्धि हासिल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका थिए। रुस विश्वकपमा फ्रान्सले फाइनलमा क्रोएसियाविरुद्ध ४–२ को जित निकाल्दा एमबाप्पेले एक गोल गरेका थिए। उनले अर्जेन्टिनाविरुद्धको अन्तिम १६ को खेलमा भने दुई गोल गरेका थिए। फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मा मेसी र एमबाप्पे टिमका सहयात्री हुन्। ‘हामी मैदानमा सकेसम्म मेसीको प्रभाव कम गर्ने काम गर्छौं,’ डेसच्याम्पले भने, ‘त्यस्तै अर्जेन्टिना पनि एमबाप्पे र अन्य खेलाडीको प्रभाव कम गर्ने प्रयासमा हुनेछ।’

प्रकाशित: ३ पुस २०७९ ०२:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App