५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

मोरक्कोको सफलतामा अरबी एकता

मध्यपूर्वी एसियाली राष्ट्रमा सरकारका अघि आम नागरिकले चर्को स्वर गर्नु विरलै हुने घटनाका रूपमा लिइन्छ। तर कतार विश्वकप २०२२ मा मोरक्कोको ऐतिहासिक सेमिफाइनल यात्राले ती नागरिकलाई केही समयका लागि भए पनि उत्साहले चर्को स्वर गर्ने छुट मिलेको छ। राजनीतिक रूपमा विभिन्न ध्रुवमा रहेका अरबी मुलुकलाई पनि मोरक्कोको गौरवमय यात्राले एकै स्थानमा ल्याएको छ। मोरक्को विश्वकपको सेमिफाइनलमा स्थान बनाउने पहिलो अफ्रिकी र अरबी मुलुक हो।

प्यालेस्टाइनविरुद्ध युद्ध जारी रहँदा २०२० मा मोरक्कोको सरकार इजरायलसँग नजिक भएको थियो। तर कतारमा मोरक्कोको समर्थनमा सबैभन्दा बढी उपस्थिति प्यालेस्टाइन समर्थकको रहेको छ। अन्तिम १६ मा स्पेनविरुद्ध पेनाल्टी सुटआउटमा निकालेको जितपछि मोरक्कोका खेलाडीले प्यालेस्टाइनको झन्डासहित खुसीयाली साटेका थिए। जसले मैदानमा उपस्थित प्यालेस्टाइन समर्थकमा विशेष ऊर्जा प्रवाह गरेको थियो।

कतार विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरेका थिए। तर मैदानमा प्यालेस्टाइनका समर्थकको उपस्थितिले हेर्दा लाग्छ उनीहरू कतार विश्वकपमा सहभागी ३३औं राष्ट्र हुन्। बहराइन, युएई र सुडानजस्ता अरबी मुलुकले पनि इजरायलसँग सम्बन्ध जोडेपछि प्यालेस्टाइन एक्लिएको थियो।

‘मलाई प्यालेस्टाइमाथि अरबका अन्य मुलुकले जेजस्तो व्यवहार गरिहेका छन्, त्यो राजनीतिसम्म मात्र जोडिएको जस्तो लाग्दैन,’ दोहामा भेटिएका एक प्यालेस्टाइन युवक अहमेद सर्बीले भने, ‘त्यहाँ मानवीय संवेदनासमेत जोडिएको छ।’ ‘यो मध्यपूर्वी एसियाली राष्ट्रमा भएको पहिलो विश्वकप हो,’ सर्बीसँगै रहेका इजिप्टका यासिम होसाममले भने, ‘यो अरबका लागि गर्वको क्षण हो। फ्रान्सविरुद्ध मोरक्कोले बुधबार खेल्ने दोस्रो सेमिफाइनल हाम्रा लागि सुनौलो इतिहास रच्ने अवसर समेत हो।’

मध्यपूर्वी तथा अरबका राष्ट्रहरू आर्थिक मन्दी, गृहयुद्ध र राजनीतिक अस्थिरताको पिरलोमा रहे पनि मोरक्कोको सफलताले सबैलाई एकै स्थानमा ल्याउने प्रयास गरेको छ।

मोरक्को सरकारले अल्जेरियासँग सम्पूर्ण सम्बन्ध तोडे पनि त्यहाँका समर्थकसमेत कतारमा मोरक्कोको झन्डा फहराइरहेका छन्। यता अल्जेरियाको सरकारी टेलिभिजनले भने मोरक्कोले जितको समाचार समेत प्रसारण गरेको छैन।

प्यालेस्टाइनका लागि भने कतार विश्वकप विश्वसामु आफ्नो पहिचान स्थापित गर्ने माध्यम बनेको छ। इजराजयलले दैनिक जस्तो प्यालेस्टाइनमाथि आक्रमण गरिरहेको छ। इजरायलले हालै मात्र प्यालेस्टाइनको वेस्ट बैंक आफ्नो पकडमा लिएको थियो। प्यालेस्टाइनलाई अन्य राष्ट्रले भने त्यति साथ दिएका छैनन्। इजिप्ट र जोर्डनले समेत इजरायलको कदममा साथ दिएपछि प्यालेस्टाइन एक्लिएको हो।

इजरायलले एकतर्फी हमला गरिरहँदा कतारले भने प्यालेस्टाइनको समर्थन गरेको थियो। त्यसैले पनि प्यालेस्टाइनले दोहामा आफ्नो झन्डा प्रयोग भइरहँदा गर्वको महसुस गरेको छ।

प्रकाशित: २८ मंसिर २०७९ ०१:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App