१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

युरोपेली प्रतिद्वन्द्वी पार गर्ने लक्ष्य

प्रशिक्षणपछि ब्राजिलका खेलाडी ।तस्बिर: एपी

नेइमार चोटबाट फर्किएपछि उनको प्रेरणामा ब्राजिलले शुक्रबार क्रोएसियासँगको क्वार्टरफाइनलमा उच्च आत्मविश्वासका साथ प्रदर्शन गर्नेछ।

अन्तिम १६ को खेलमा पनि नेइमारकै प्रदर्शन प्रेरित ब्राजिलले दक्षिण कोरियाविरुद्ध ४–१ को रबाफिलो जित निकालेको थियो। एसियन प्रतिद्वन्द्वीसँगको खेलमा भिनिसियस जुनियर, रिचार्लिसन, लुकास पाक्वेटा र नेइमारको प्रदर्शनले ब्राजिलका विपक्षीमाथि पनि दबाब बढाएको छ। ब्राजिलको टोली विश्वकपमा निडरतापूर्वक उच्च आत्मविश्वासका साथ फुटबल खेलिरहेको छ। जुन दृश्य दक्षिण कोरियासँगको खेलमा पनि देखिएको थियो। ब्राजिलका खेलाडी मात्र नभई ६१ वर्षे टिटे पनि आफ्ना खेलाडीसँग खेलका क्रममा नृत्य गरिरहेका थिए। मनोरञ्जनमा ब्राजिल सन् १९७० का पेलेदेखि १९८२ को सोक्रेट्सको नेतृत्वसम्म अगाडि हुन्थ्यो।

तर, कतार विश्वकपमा अन्तिम १६ को खेलअगाडि भने ब्राजिलको टोलीको प्रदर्शन उत्साहजनक थिएन। पाँच पटक विश्व च्याम्पियन ब्राजिलले समूहचरणका तीन खेलमा मात्र तीन गोल गरेको थियो। साथै समूहको अन्तिम खेलमा क्यामरुनसँग पनि ब्राजिल पराजित हुन पुग्यो। त्यो हार ब्राजिलको सन् १९९८ पछि पहिलो पटक पनि हो। ब्राजिलले शुक्रबार एजुकेसन सिटीमा सन् २०१८ को उपविजेता क्रोएसिया प्रतिस्पर्धा गर्दा सहज जित निकाल्ने आकलन गरिएको छ। ब्राजिलले प्रदर्शनी खेलजस्तो खेल्दैन भन्ने आशामा ब्राजिलियन समर्थक छन्। सन् २००२ मा ब्राजिल पाँचौं पटक विश्व च्याम्पियन बनेको थियो।  

त्यसयता हरेक विश्वकप ब्राजिल युरोपियन प्रतिद्वन्द्वीसँग स्तब्ध हुँदै आएको छ। यो शृंखलामा सन् २०१४ को विश्वकपमा ब्राजिल घरेलु भूमिमा नै जर्मनीसँग ७–१ ले स्तब्ध भएको थियो। चार वर्षअगाडि भने ब्राजिल बेल्जियमसँग स्तब्ध भएको थियो। ‘हामी विश्वकपको उपाधि जित्ने लक्ष्य छ। त्यसैले हरेक खेलमा सुधारको आवश्यकता पर्छ। यो हाम्रो चौथो खेल हो। अब हामीसँग तीन खेल बाँकी छन्, त्यसका लागि हामी तयार पनि छौं। हाम्रो ध्यान विश्वकप जित्नेमा केन्द्रित छ,’ नेइमारले दक्षिण कोरियाविरुद्धको खेलमा भनेका थिए। टिटेले चोटका कारण एलेक्स टेलेसलाई गुमाइसकेका छन्। एलेक्स सान्ड्रोले पनि चोट बोकेका थिए। तर, उनी अभ्यासमा फर्किएकाले ब्राजिललाई केही राहत मिलेको छ।

सान्ड्रो क्रोएसियाविरुद्ध फिट भएमा ड्यानिलो राइट ब्याकमा फर्किने सम्भावना छ। त्यस्तो स्थितिमा इडर मिलिटाओ पनि बेन्चमा बस्नेछन्। चार वर्षअगाडि फाइनल खेलेको क्रोएसियाले यस पटक लगातार तीन खेलसम्म अतिरिक्त समयसम्म प्रतिस्पर्धा ग¥यो। जापानसँग पनि पनि ज्लाट्को डालिचको टोली क्रोएसियाले अतिरिक्त समयका साथै पेनाल्टी सुटआउटसम्म खेल्यो, जहाँ गत संस्करणको उपविजेताले सफलता पनि पायो। कतारमा पनि ३७ वर्षे लुका मोड्रिचको कप्तानीमा रहेको क्रोएसिया लयमा देखिएको छ। ‘विश्वलाई नै लुकाको महŒव थाहा छ। उनी हाम्रो नेतृत्व हुन् र हाम्रो उत्कृष्ट खेलाडी पनि। उनलाई मैदानमा देख्दा गर्विलो महसुस हुन्छ,’ चेल्सीका स्टार समेत रहेका माटियो कोभासिचले भने, ‘हामीले प्रिमियर लिगमा आक्रामक खेल खेल्थ्यौं। जुन ब्राजिलसँग पनि हाम्रो टोली क्रोएसियाले खेल्न जरुरी छ।’  

कोभासिचले टेक्निकल र शारीरिक रूपमा पनि राम्रो फुटबल खेल्न आवश्यक रहेको औंल्याए। साथै बल पोसेसनमा पनि ध्यान दिनुपर्ने उनको भनाइ छ। गत संस्करणमा आफ्नो देशलाई खुसी दिएको क्रोएसिया यस पटक पनि सो सफलता दोहो¥याउने लक्ष्यमा हुनेछ। गत वर्ष युरोपियन च्याम्पियनसिपपछि क्रोएसियाले एक खेल मात्र हारेको छ। जुन जित लय क्रोएसिया ब्राजिलविरुद्ध पनि जारी राख्न चाहन्छ। नेसन्स लिगमा गत जुनमा फ्रान्सलाई उसैको घरेलु मैदानमा हराएको क्रोएसिया ब्राजिलको उपाधि यात्रा चुनौती पनि बन्न सक्छ। ‘ब्राजिलविरुद्ध बल पोसेसन आफ्नो नियन्त्रणमा राख्दै राम्रो फुटबल देखाउनेछौं,’ कोभासिसले भने।  

सुधारिएको डच अर्जेन्टिनाका लागि चुनौती  

दुई पटकको विश्व च्याम्पियन अर्जेन्टिनाका लागि हरेक खेलमा सुधारिएको खेल प्रदर्शन गरेको नेदरल्यान्ड्स बाधक बन्न सक्छ। यी दुईबीच क्वार्टरफाइनलमा शुक्रबार लुसेलमा राति १२ः४५ बजे प्रतिस्पर्धा हुँदै छ। दुई दिनको ब्रेकपछि ३२ राष्ट्र सम्मिलित यस विश्वकपमा कुल आठ टोली बाँकी छन्। तीन पटक फाइनल हारेको डच टोली लियोनल मेसीको अर्जेन्टिनालाई हराउँदै सन् २०१४ पछि सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ। गत संस्करण भने डच टोली विश्वकपमा नै छनोट हुन असफल भएको थियो। अर्जेन्टिनाले डच टोलीको चुनौती पन्छाए सेमिफाइनलमा छिमेकी राष्ट्र ब्राजिलको सामना गर्नुपर्छ। त्यसका लागि ब्राजिलले पनि क्रोएसियालाई हराउनुपर्नेछ।

प्रकाशित: २३ मंसिर २०७९ ०२:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App