१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

खराब इतिहास बिर्सने स्पेन र जर्मनको लक्ष्य

विश्वकपमा आफ्नो पहिलो खेलमा नै स्पेनले जति पराजय अन्य कुनै राष्ट्रले बेहोरेको छैन। स्पेनले विश्वकपमा सात वटा पहिलो खेल नै गुमाएको छ।

स्पेनका प्रशिक्षक लुइस इनरिके यस पटक कतार विश्वकपमा सो खराब इतिहास दोहोर्‍याउन चाहँदैनन्। समूह ‘ई’ को स्पेनले आफ्नो पहिलो खेल कोस्टारिकाविरुद्ध बुधबार खेल्दै छ। सन् २००८ र २०१२ मा युरो च्याम्पियन र सन् २०१० मा विश्वकप च्याम्पियन भएपछि स्पेन कुनै पनि ठूला प्रतियोगिताको फाइनलमा पुग्न सकेको छैन। तर, अहिले युवा खेलाडीले भरिएको स्पेनबाट धेरै आशा भने छ। पेड्री र अन्सु फातीजस्ता युवा स्टारको प्रदर्शनमा पनि स्पेनको भविष्य निर्धारण हुन सक्छ।

लुइस इनरिकेले खेलाडीका रूपमा सन् १९९४ देखि २००२ सम्म विश्वकपमा १२ खेल खेलेका छन्। यस अवधिमा उनको टोलीले कहिल्यै पनि क्वार्टरफाइनल चरण पार गर्न सकेन। यद्यपि, प्रशिक्षकका रूपमा उनी क्वार्टरफाइनल चरण पार गर्न चाहन्छन्। ‘कतार विश्व कपमा हाम्रो लक्ष्य सात खेल खेल्नु हो,’ इनरिकेले भने। यता, स्पेनको प्रतिद्वन्द्वी कोस्टारिकाले भने विश्वकपमा पाँच खेल मात्र जितेको छ। यी सफलतामध्ये कोस्टारिकाले तीन जित पहिलो खेलमा नै पाएको हो।

कोस्टारिकाका प्रशिक्षक लुइस फर्नान्डो स्वारेजले स्पेन राम्रो टोली भए पनि आफ्नो देश उक्त चुनौती सामना गर्न तयार रहेको बताए। युरोपियन राष्ट्र जर्मनी विश्वकपमा असफल राष्ट्र भने होइन। यद्यपि, सन् २०१८ को रसिया विश्वकप भने जर्मनीका लागि बिर्सनलायक रह्यो। अनुभवी खेलाडीले भरिएको जर्मनीले यसपटक एसियाली प्रतिद्वन्द्वी जापानविरुद्ध खेल्दै कतार विश्वकप सुरुआत गर्दै छ। चार पटकको विश्वच्याम्पियन जर्मनी यो शताब्दी सुरु भएपछि पाँच विश्वकपमध्ये चार विश्व कपमा सेमिफाइनल पुग्न सफल भएको छ।

जर्मनीलाई जापानको चुनौती

जर्मनीबाहेक अन्य कुनै पनि राष्ट्रले यो सफलता प्राप्त गर्न सकेका छैनन्। यद्यपि, चार वर्ष अगाडि डिफेन्डिङ च्याम्पियन जर्मनी अप्रत्याशित रूपमा समूह चरणबाट बाहिरिन पुगेको थियो। मेक्सिको र दक्षिण कोरियासँग हारपछि डिफेन्डिङ च्याम्पियन बाहिरिएको हो। चार वर्षअगाडि जर्मनी सन् १९५० पछि पहिलोपटक समूहचरणबाट माथि उक्लिन सकेको थिएन। यस पटक पनि जर्मनीको समूहमा बलिया राष्ट्र छन्। यो समूहमा स्पेन, कोस्टारिका र जापान छन्। यी राष्ट्रले महादेशीय छनोटमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

यता जापानले पछिल्ला आठ वटा विश्वकपमा एक मात्र जित निकालेको छ ।जुन रसियामा कोलम्बियाविरुद्धको थियो। सो विश्वकपमा जापान अन्तिम १६ सम्म पुगेको थियो। तर, बेल्जियमसँग पराजय बेहोर्‍यो। यसपटक बलियो टोली जर्मनविरुद्ध सुखद सुरुआत गर्दै जापान अन्तिम १६ मा पुग्न चाहन्छ। जर्मनीको शीर्ष डिभिजन लिग बुन्डेसलिगाका खेलाडीसहित जापान जर्मनीविरुद्ध मैदान उत्रिनेछ।

जापानको टोलीमा ८ बुन्डेसलिगा खेल्ने खेलाडी छन्। त्यसैले बलियो जर्मनीसँग खेल्न जापानलाई त्यति कठिन हुने छैन। आफ्ना धेरै खेलाडी बुन्डेसलिगा खेलिरहेकाले जर्मनीसँग खेल्न त्यति कठिन नहुने जापानका प्रशिक्षक हाजिमी मोरियासुको अपेक्षा छ।

गत वर्षको उपविजेता क्रोएसियाले बुधबार मोरक्कोसँग खेल्दै कतार विश्वकपको सुरुआत गर्दै छ। क्रोएसियाले पछिल्ला पाँच विश्वकपका तीन वटा पहिलो खेल गुमाएको इतिहास छ। यद्यपि, यो पटक क्रोएसिया सुखद सुरुआत गर्न चाहन्छ। विश्वकप छनोट चरणमा उत्कृष्ट प्रदर्शन गरेको मोरक्को पनि क्रोएसियालाई हराउँदै सुखद सुरुआत गर्ने लक्ष्यमा छ। मोरक्को छनोट खेलमा २० गोल गर्दा एक गोल मात्र बेहोरेको थियो। त्यसैले मोरक्कोसँग जित निकाल्न क्रोएसियालाई सहज भने हुने छैन।

क्यानडाले बलियो टोली बेल्जियमसँग बुधबार खेल्दै कतार विश्वकपको सुरुआत गर्नेछ। केभिन डी ब्रुएना, इडन हाजार्ड र थिबाउट कोर्टवा जस्ता युरोपका चर्चित खेलाडीले भरिएको बेल्जियमविरुद्ध खेल्नु क्यानडाका लागि सहज भने छैन। अमेरिका र मेक्सिको जस्ता टोलीलाई पछि पार्दै क्यानडा उत्तरी अमेरिकी क्षेत्रबाट ३६ वर्षपछि विश्वकपमा छनोट भएको हो। त्यसैले समूह ‘एफ’ को खेलमा बेल्जियमलाई अल रायन स्टेडियममा क्यानडाविरुद्ध सामना गर्नु सहज हुने छैन। 

प्रकाशित: ७ मंसिर २०७९ ०३:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App