१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेदरल्यान्ड्सको सुखद सुरुआत

सेनेगलविरुद्ध गोल गरेपछि नेदरल्यान्ड्सका कोडी गाक्पो। तस्बिर: एपी

आठ वर्षपछि विश्वकपमा पुनरागमन गरेको नेदरल्यान्ड्सले अफ्रिकन राष्ट्र सेनगलमाथि २–० को जित निकाल्दै कतार विश्वकपमा सोमबार सुखद सुरुआत गरेको छ।

दोहाको अल थुमामा स्टेडियममा अन्तिम समयमा समालिन नसक्दा साडियो मानेबिनाको सेनेगलले डच टोलीविरुद्ध अंक निकाल्ने अवसर समेत गुमायो। लुइस भान गालको टोली नेदरल्यान्ड्सले खेलको अन्त्यतिर दुई गोल गर्दै अफ्रिकन च्याम्पियन सेनेगललाई स्तब्ध बनाउन सफल भयो। खेलको ८४औं मिनेटमा लयमा रहेका विंगर कोडी गाक्पोले गोल गर्दै डच टोलीलाई अग्रता दिलाएका थिए।फ्रयान्की डी जोङको क्रस बललाई गाक्पोले हेडरमार्फत जाली चुमाएका हुन्। त्यसपछि खेलमा फर्कन संघर्षरत समूह ‘ए’ को सेनेगलले अर्को गोल पनि बेहोरेपछि डच टोलीलाई नतिजा सुम्पियो।

दोस्रो रोजाइका रूपमा मैदान प्रवेश गरेका डेभी क्लासेनले इन्जुरी समयमा गोल गर्दै डच टोलीलाई २–० को अग्रता दिलाउन मद्दत गरे। मेम्फिस डिपेको पहिलो प्रहार सेनेगलका गोलकिपर इडुवार्ड मेन्डीले पन्च गरे पनि नजिकै रहेका क्लासेनले बललाई चुमाए।

खेल सकिन अन्तिम ६ मिनेट बाँकी छँदासम्म नतिजा बराबरीतर्फ धकेलिन आशा गरिएको थियो। तर, डच टोलीले पहिलो आक्रमणमा नै गोल गर्न सफल भयो। त्यसअघि सेनेगलले केही अवसर बनाए पनि गोल हुन सकेको थिएन। स्टार खेलाडी साडियो मानेको अभाव पनि सेनेगललाई खड्कियो।

यो नतिजापछि नेदरल्यान्ड समूह ‘ए’ को शीर्ष स्थानमा पुग्यो। यस समूहमा इक्वेडरले उद्घाटन खेलमा आइतबार कतारलाई २-० ले हराउँदै सुखद सुरुआत गरेको थियो। अब भान गालको टोलीले शुक्रबार इक्वेडरविरुद्ध खेल्नेछ। सेनेगलले पनि समूह चरणबाट थप यात्रा जारी राख्न जित्नैपर्ने खेलमा आयोजक राष्ट्र कतारविरुद्ध दोस्रो खेल खेल्नेछ। बायर्न म्युनिखका स्टार माने विश्वकप सुरु हुन एक दिनअगाडि मात्र घुँडामा चोटका कारण विश्वकपबाट बाहिरिएका थिए। तीन पटक विश्वकप खेलेको सेनेगलले विश्वकपमा सबैभन्दा उत्कृष्ट नतिजा सन् २००२ मा निकालेको थियो।

समूह चरणमा डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई हराएको सेनेगलले क्वार्टर फाइनलसम्मको यात्रा तय गरेको थियो। त्यसबाहेक सेनेगलले विश्वकपमा सुखद नतिजा प्राप्त गर्न सकेको छैन। आठ वर्षपछि विश्वकप खेलेको नेदरल्यान्ड्स तीन पटकको उपविजेता हो। सन् २०१४ को विश्वकपमा सेमिफाइनल  यात्रा तय गरेको नेदरल्यान्ड्स सन् २०१८ को विश्वकपमा छनोट हुन नैसकेको थिएन।

प्रकाशित: ६ मंसिर २०७९ ०६:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App