१ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

स्वरोजगार बन्न सीप सिक्दै युवा

कपाल काट्ने तालिम लिदै सिन्धुलीको गोलञ्जोर गाँउपालिकाका युवाहरू। तस्बिर: अनिल/नागरिक

सिन्धुलीका युवाहरू सीप सिक्न अग्रसर हुन थालेका छन्। सिन्धुलीको ग्रामीण क्षेत्रका युवाबर्ग रोजगारीका लागि विदेश वा सहर धाउने परम्पराभन्दा फरक बाटो रोज्दै व्यावसायिक सीप सिकेर आफ्नै गाउँमा स्वरोजगार बन्न अग्रसर हुन थालेका छन्।  

विशेषगरी गोलञ्जोर गाउँपालिकाका युवायुवतीहरू कपाल काट्ने तथा ब्युटीपार्लरसम्बन्धी तालिममा सहभागी हुँदै आत्मनिर्भर बन्ने तयारीमा जुटेका छन्। वर्ल्ड भिजनको आर्थिक सहयोग तथा सिड्स नेपालद्वारा सञ्चालित तीन महिने व्यावसायिक सीप विकास तालिममार्फत गोलञ्जोर गाउँपालिकाका युवाहरूले कपाल काट्ने, हेयर स्टाइलिङ र ब्युटीपार्लरसम्बन्धी सीप हासिल गरिरहेका हुन्।

तालिमपछि आफ्नै गाउँमा व्यवसाय सञ्चालन गरी रोजगारी सिर्जना गर्ने उनीहरूको लक्ष्य रहेको छ। गोलञ्जोर गाउँपालिका निवासी सुजन लामिछाने अहिले कपाल काट्ने तालिममा व्यस्त छन्। परम्परागत रूपमा निश्चित समुदायसँग जोडिएर हेरिएको यो पेशालाई सबैले सम्मानका साथ अपनाउन सक्ने विश्वासका साथ आफूले तालिम रोजेको उनले बताए।

'पहिले कपाल काट्ने काम खासगरी मधेसी समुदायले मात्र गर्ने भन्ने सोच थियो। अहिले समय बदलिएको छ। काम सानो–ठूलो हुँदैन, सीप भए जहाँ पनि रोजगारी सिर्जना गर्न सकिन्छ,' उनले भने। तालिम पूरा गरेपछि स्थानीय स्तरमै आफ्नै व्यवसाय सञ्चालन गर्ने उनको योजना छ।

यस्तै, गोलञ्जोरकै सुनिल थापा पनि कपाल काट्ने सीप सिकिरहेका छन्। 'हातमा सीप भए भोकै बस्नु पर्दैन भन्ने कुरा बुढापाकाबाट सुन्दै आएको हुँ। अहिले त्यो भनाइ व्यवहारमा उतार्ने प्रयास गरिरहेको छु,' उनले भने। विदेश जाने सोच त्यागेर गाउँमै स्वरोजगार बन्न सकिने विश्वासले आफूलाई यो तालिमतर्फ आकर्षित गरेको उनको भनाइ छ।

सीप सिक्न पुरुष मात्र होइन, महिलाको पनि आकर्षण बढ्दै गएको छ। गोलञ्जोर गाउँपालिकाकी मुना बयलकोटी आधारभूत ब्युटीपार्लर तालिम पूरा गरेर आफ्नै व्यवसाय सञ्चालन गरिरहेकी छिन्। अहिले उनले आफ्नो दक्षता थप बढाउन उन्नत (एड्भान्स) तहको तालिम लिइरहेकी छिन्। बयलकोटीका अनुसार तालिमले आर्थिक रूपमा आत्मनिर्भर बन्ने बाटो खोलिदिएको छ। 'आधारभूत तालिमपछि व्यवसाय सुरु गरें। अहिले थप सीप सिकेर सेवा विस्तार गर्ने योजना बनाएकी छु। सीप भएपछि सहज रूपमा जीवनयापन गर्न सकिन्छ,' उनले भनिन्।

पछिल्लो समय वैदेशिक रोजगारीको विकल्प खोजिरहेका युवाका लागि यस्ता व्यावसायिक तालिम प्रभावकारी बन्दै गएका छन्। सीप सिकेर आफ्नै गाउँमा सेवा तथा व्यवसाय सञ्चालन गर्न थालेपछि स्थानीय स्तरमै रोजगारी सिर्जना हुनुका साथै आर्थिक गतिविधि पनि विस्तार हुने अपेक्षा गरिएको छ। विदेश नै जानु परे पनि आफूमा क्षमता र सीप भएपछि काम सहज पाउने र पारिश्रमिक समेत राम्रो पाउने भएकाले व्यावसायिक सीपतर्फ आफूहरू आकर्षित भएको तालिममा सहभागीहरूको भनाइ छ।

प्रकाशित: २९ असार २०८३ १२:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App