उदयपुरको बेलकामा सोमबार राति यात्रुबाहक बसले ठक्कर दिँदा एक युवकको निधन भएको छ। राति १०ः०५ बजे बेलका नगरपालिका ३ को त्रिबेणी टोलमा बसले मोटरसाइकललाई ठक्कर दिँदा सोही टोलका २७ वर्षीय रोमन बस्नेतको निधन भएको हो।
बेलका ९ रामपुर बजारबाट ३ नं. वडाको सातपत्रेतर्फ बिहेको जन्ती लिन जाँदै गरेको प्रदेश ०१–०२–००२ ख ०१५८ नम्बरको यात्रुवाहक बसले प्रदेश ०१–०२–०४५ प ८४४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बस्नेतको घटनास्थलमै निधन भएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।
बस्नेत मोटरसाइकल लिएर घरबाट भर्खर निस्केकै बेला घर नजिकै बसले ठक्कर दिएर दुर्घटना भएको प्रहरी भनाइ छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी चिरञ्जिवी थापाले घट्नाको पुष्टि गरे।
डिएसपी थापाका अनुसार बसका चालक र सहचालक फरार रहेकाले खोजी कार्य भइरहेको र इलाका प्रहरी कार्यालय रामपुरबाट गएको टोलीले घट्नास्थलको कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि अस्पताल पठाएको छ।
प्रकाशित: ८ वैशाख २०८३ ०६:५४ मंगलबार





