कपिलवस्तुको सदरमुकाम तौलिहवाको होटेल शङ्कर अगाडी प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी उमा चर्तुबेदी चढ्ने सरकारी नम्बर प्लेटको गाडीले ठक्कर दिँदा एक युवक गम्भीर घाइते भएका छन्।
भैरहवा देखि कृष्णनगर तर्फ एआइजी चर्तुबेदीलाई लिन जाने क्रममा बिए ७४६० नम्बरको गाडीले भारतीय नम्बर प्लेटको मोटरसाइकललाई ठक्कर दिँदा कपिलवस्तु नगरपालिका वडा नम्बर ४ मलपरवाका १९ वर्षीय ईरफान खाँ गम्भीर घाइते भएका हुन्।
शनिबार दिउँसो सवा १ बजेतिर भएको यो दुर्घटनामा सोही मोटरसाइकलमा सवार दुई जना सामान्य घाइते भएका छन्। दुर्घटनामा ईरफानका दाइ रिजनवान र कपिलवस्तु नगरपालिका वडा नम्बर १२ बिठुवाका यसराज प्रजापति सामान्य घाइते भएका थिए।
गम्भीर घाइते भएका खाको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ। गम्भीर घाइते भएका आफ्ना नातिको भेन्टिलेटर कक्षमा उपचार भइरहेको र अझै अचेत नै रहेको हजुर बुवा समसुल दोहाले बताए।
उनले नातिको उपचारमा प्रहरीले वास्ता नगरेको र आफ्नै खर्चले उपचार गराइरहेको बताए । दोहा अनुसार ठक्कर दिएर गाडी घटना स्थलबाट हिँडेको थियो।
प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले ठक्कर दिने गाडी प्रहरी नियन्त्रणमा रहेको बताए। उनले घाइतेका उपचारका लागि प्रहरीले पीडित परिवारसँग निरन्तर समन्वय राखेको बताए।
घटनाको सिसि टिभी फुटेज सुरक्षित राखिएको बताए। कृष्णनगर प्रहरीको लागुऔषध विरुद्धको अभियान उद्घाटनका लागि ३ दिन अघि एआइजी आएका थिए।
प्रकाशित: ७ असार २०८३ १७:२८ आइतबार


-600x400.jpg)


