बाढी प्रभावित क्षेत्रमा नेकपा माओवादी केन्द्रनिकट वाईसीएल नेपालले बाढीपीडितका लागि अस्थायी आवास निर्माण सुरु गरेको छ। बाढी प्रभावित क्षेत्रमा करिब ६०० स्वयंसेवक परिचालन गरी बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार, खाद्यान्न तथा राहत सामग्री वितरणलगायतमा वाईसीएलले काम गर्दै आएको छ।
राहत वितरणसँगै वाईसीएलले धादिङ र नुवाकोटका प्रभावित घरहरूको सरसफाइ गर्दै स्थानीय बासिन्दाको सुझाव र आवश्यकताका आधारमा अस्थायी आवास निर्माणको काम अघि बढाइएको अध्यक्ष ओलीले जानकारी दिए।
पहिलो चरणमा नुवाकोटको बेलकोटगढी नगरपालिका–७ अन्तर्गत ठूलोखोला, लामोस्वती, रातमाटे र महादेवफाँटका बाढी प्रभावित परिवारका लागि १५० वटा अस्थायी आवास निर्माण गर्ने योजना रहेको वाईसीएलले जनाएको छ।
बाढी आएको लामो समय बितिसक्दा कतिपय प्रभावित परिवारको घर सरसफाइ हुन नसकेको र बसोबासको व्यवस्था टुंगो नलागेको भन्दै तत्काल अस्थायी आवास आवश्यक परेको ओलीले बताए।
वाईसीएल अध्यक्ष पुष्प ओलीका अनुसार नुवाकोटको त्रिशूलीपारि सडक सञ्जाल विच्छेद भएपछि धादिङको कठिन भूगोल हुँदै विदुर नगरपालिकाका वडा नम्बर ७, ८ र ९ का अति प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको छ।
पार्टीको निर्देशन तथा स्थानीय आवश्यकता र सुझावका आधारमा वाईसीएलले राहत, सरसफाइ र अस्थायी आवास निर्माणलाई निरन्तरता दिएको अध्यक्ष ओलीको भनाइ छ।
प्रकाशित: २८ भाद्र २०८३ १३:४१ आइतबार

