६ कार्तिक २०८३ शुक्रबार
image/svg+xml
समाज

रासायनिक मलको विकल्पमा गड्यौले मल

कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने गरेका छन्। रासायनिक मलको अभावमा स्याङ्जाका कृषकले विकल्पको रूपमा गड्यौले मलको प्रयोग गर्नतर्फ आकर्षित भएका हुन्।

गड्यौले मलमा अन्य जैविक मलको तुलनामा बिरुवालाई चाहिने अधिक तथा सूक्ष्म पोषक तत्त्व लगायत सूक्ष्म तत्त्व अधिक मात्रामा पाइने भएकाले रासायनिक मलको विकल्पमा गड्यौले मलको प्रयोग बढ्दै गएको हो।

गड्यौले मल एक प्रकारको जैविक मल हो, जुन केही विशेष प्रकारका गड्यौला प्रयोग गरी उत्पादन गर्ने गरिन्छ। गड्यौलालाई खानाको रूपमा गाई, भैंसीको गोबर, घरबाट निस्केका सड्नेगल्ने खालका तरकारीका छिल्का, बोक्रा, पात, केराको थाम प्रयोग गर्ने गरिन्छ। पछिल्लो समय किसानले रासायनिक मलबाट बिग्रेको माटोलाई अर्गानिक गड्यौले मल तथा कम्पोष्ट मलको प्रयोग गरी माटोको जीवन बचाउन

पनि गड्यौले मलको प्रयोगलाई बढाउँदै लगेका छन्।

कृषकले समयमा रासायनिक मल नपाउने र गड्यौले मललाई विकल्पको रूपमा प्रयोग गर्ने सकिने भएकाले स्याङ्जाको वालिङमा गड्यौले मलको व्यावसायिक उत्पादन थालिएको छ।

वालिङमा रहेको वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले गड्यौले मलको व्यावसायिक उत्पादनमा जोड दिएसँगै कृषक यसतर्फ आकर्षित भएका हुन्। २०७७ सालमा स्थापना भएको सहकारीले २०७९ सालदेखि सहकारीमा आवद्ध रहेका शेयर सदस्य तथा अगुवा कृषकलाई भेला गरी गड्यौले मलको व्यावसायिक उत्पादन र त्यसबाट हुने आम्दानीबारे प्रशिक्षण सञ्चालन गरेसँगै यहाँका कृषक व्यावसायिक रूपमा अगाडि बढेका संस्थाका अध्यक्ष यामबहादुर गुरुङले बताए।

सहकारीले सुरुका दिनमा शेयर सदस्य तथा अगुवा २६० कृषकलाई गड्यौला पालनसम्बन्धी तालिम दिएको थियो। तालिमपछि उनीहरूलाई गड्यौलाको बीउ तथा गड्यौला पालनका लागि आवश्यक पर्ने पिट उपलब्ध गराएको थियो।

सहकारी आफैँले पनि जग्गा भाडामा लिएर व्यावसायिक उत्पादन गर्दै आएको छ। “सहकारीमार्फत उत्पादन भएको गड्यौलाको बीउ तथा गड्यौलाको मल बिक्री हुँदै आएको छ” अध्यक्ष गुरुङले भने, “सुरुका दिनमा गड्यौलाको मलबारे कृषकलाई बुझाउन समस्या थियो, पछिल्लो समय बुझेपछि मागअनुसार पुर्‍याउन हम्मेहम्मे परेको छ।”

सहकारीमा आवद्ध कृषकले उत्पादन गरेको गड्यौले मल तथा बीउ कृषक आफैँले पनि बेच्न सक्ने र बेच्न नसकेकोमा सहकारीमार्फत बजारीकरणको व्यवस्था मिलाउँदै आएको छ। कृषकले उत्पादन गरेको मल उनीहरूले आफ्नो खेतबारीमा प्रयोग गर्न पनि सक्ने र बाँकी रहेको मल बिक्री गरेर आम्दानी लिन सक्ने भएकाले कृषक पछिल्लो समय गड्यौले मलतर्फ आकर्षित भएका हुन्।

सहकारीले वालिङ–८ खेलमैदान नजिकै पाँच वर्षलाई तीन रोपनी जग्गा भाडामा लिएर गड्यौले मल तथा बीउ उत्पादन गरिरहेको छ। ठूला २७ र साना १८ वटा गरी कूल ४५  पिटमार्फत मल र बीउ उत्पादन गरिरहेको हो।

सहकारीमार्फत मासिक छ हजार केजी र वार्षिक ६५ हजारदेखि ७५ हजार केजीसम्म मल उत्पादन हुने गरेको छ। यहाँ उत्पादन भएको मल शेयर सदस्यलाई प्रतिकेजी ३० र अन्य उपभोक्तालाई प्रतिकेजी ३५ रुपैयाँका दरले बिक्री बेच्दै आएको छ। “रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति बिग्रिंदै गएको छ” अध्यक्ष गुरुङले भने, “रासायनिक मलको जथाभावी प्रयोगमा न्यूनीकरण गर्दै माटो बचाउनुका साथै वातावरण संरक्षण गर्ने लक्ष्य र उद्देश्यसहित अगाडि बढेका छौँ।”

वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले व्यावसायिक रूपमा थालेको गड्यौला मल तथा बीउ उत्पादनकार्यमा वालिङ नगरपालिकाको कार्यालय, कृषि विकास कार्यालय स्याङ्जा, हेफर इन्टरनेशनल, आस्क नेपाल, आइडिई नेपाल लगायतका सङ्घसंस्थाले आर्थिक, प्राविधिक तथा बजारीकरणमा सहयोग गर्दै आएका छन्।

सहकारीमार्फत गड्यौले मल तथा बीउको व्यावसायिक उत्पादनसँगै यसको अध्ययन अवलोकनका लागि टाढाटाढाबाट विभिन्न सङ्घसंस्था तथा कृषक समूह आउने गरेका छन्। यहाँ सिकेका सीप आफ्नो ठाउँमा लगेर प्रयोग गर्न थालेसँगै यसलाई गड्यौले मल तथा बीउको अध्ययन पाठशालाको रूपमा विकसित गर्ने गरी योजना अगाडि बढाइरहेको अध्यक्ष गुरुङ बताउँछन्।

नयाँ र नौलो प्रकृतिको व्यावसायप्रति पछिल्लो समय आकर्षण बढ्दै जाँदा आम्दानीको स्रोतको रूपमा पनि गड्यौले मल तथा बीउलाई लिन थालिएको छ। पश्चिम नवलपरासी पाल्हिनन्दन गाउँपालिका–३ कुश्माचोकका हृदयश बर्माले पनि गड्यौले मल उत्पादन थालेका छन्।

एकीकृत हातेमालो समाज नेपाल नामक संस्थामा आबद्ध व्यावसायिक कृषक बर्माले वालिङमा गरिएको गड्यौलापालनको अवलोकनपछि प्रेरित भई गड्यौलापालन थालेका हुन्। “झण्डै १२ कट्ठामा व्यावसायिक रूपमा काँक्रा खेती गर्दै आएको छु” उनले भने, “काँक्रा खेतीमा रासायनिक मलको प्रयोग गर्दा उत्पादन खासै राम्रो भएन, गड्यौले मलको प्रयोगले उत्पादन दोब्बर भयो, माटोको उर्वरा शक्ति पनि बढेको महसुस गरेको छु।”

अहिले आफूलाई पुग्ने गरी मात्र गड्यौले मल उत्पादन गरेका बर्माले आउँदाे दिनमा उत्पादन वृद्धि गर्ने योजनामा छन्। उत्पादन वृद्धि भएसँगै आफूले प्रयोग गरेर रहेको मल बिक्री गर्ने सोचमा उनी छन्। “पछिल्लो समय गाउँघरबाट गाईगोरु, भैंसी पाल्ने क्रम हराउँदै गएको छ” बर्माले भने, “खेतीपातीका लागि मल नभई भएन, मलका लागि गड्यौलापालन उपयुक्त लाग्यो, वालिङ गएर हेर्‍यौं र फर्केसँगै अहिले गाउँमा गड्यौलापालन गर्ने धेरै हुनुहुन्छ, अरु पनि क्रमशः जोडिँदै हुनुहुन्छ।”

स्याङ्जाको वालिङ–५ पित्लेकस्थित जनकल्याण कृषि सहकारीमा आवद्ध व्यावसायिक कृषकले पनि गड्यौलापालन गर्दै आएका छन्। कृषिको पकेट क्षेत्रका रूपमा पहिचान बनाएको पित्लेकका कृषकले आफ्नो बारीमा तरकारीबालीमा प्रयोग गर्नका लागि गड्यौला मल उत्पादन गर्दै आएका हुन्।

यहाँका कृषकले व्यावसायिक रूपमा पनि गड्यौलापालन गर्दै आएका सहकारीका व्यवस्थापक एवं अगुवा कृषक हुमनाथ लामिछानेले बताए। “सहकारीमा आवद्ध ८/१० कृषकले गड्यौलापालन गर्दै आउनुभएको छ” कृषक लामिछानेले भने, “उहाँहरूले तरकारी उत्पादनका लागि प्रयोग गर्नुहुन्छ भने बाँकी मल वालिङ प्रोडक्ट होल्डिङमा प्रतिकेजी ३० रुपैयाँका दरले बेच्नुहुन्छ।”

गड्यौलाको बीउ प्रतिकेजी एक हजार ७०० का दरले बिक्री गरेको कृषक लामिछानेले बताए। लगानी र मिहेनत कम लाग्ने तर गड्यौला र मल दुवै बेचेर दोहोरो फाइदा लिन सकिने भएकाले पनि यसतर्फ कृषकको आकर्षण बढ्दै गएको हो। गड्यौले मलको प्रयोगले उत्पादनमा वृद्धि हुने, स्वस्थ र अर्गानिक उत्पादनमा सहयोग पुग्ने र माटोको उर्वरा शक्ति बढाउने भएकाले यहाँका कृषक गड्यौलापालनतर्फ आकर्षित भएका कृषक लामिछाने बताउँछन्।

कृषक लामिछानेले तीन पिटबाट वार्षिक रूपमा पाँच हजार केजीभन्दा बढी मल उत्पादन गर्दै आएका छन्। मलबाहेक गड्यौलाको बीउ पनि बिक्री गरी राम्रो आम्दानी हुने गरेको छ।

बजारबाट गड्यौले मल किनेर तरकारी उत्पादनमा प्रयोग गर्दै आउनुभएका वालिङ–८ का व्यावसायिक कृषक फालचन्द्र कोइरालाले केही दिन अघिदेखि गड्यौला पाल्न सुरु गरेका छन्। रासस

प्रकाशित: ६ कार्तिक २०८३ १३:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App