जिल्ला प्रहरी कार्यालय पर्साले एक महिलामाथि हिंसा गरेको आरोप लागेका व्यक्तिलाई कारबाही गर्नुको साटो सम्मान गरेको घटना सार्वजनिक भएको छ।
वीरगन्ज महानगरपालिका-१८ इनर्वा मनियारी निवासी ममता सिंहमाथि हिंसा गरेको आरोप लागेका उनका जेठाजु मनिष सिंहलाई प्रहरीले सम्मान गरेको हो।
ममता सिंहले गत असार ११ गते आफूमाथि मनिष सिंहले कुटपिट गर्दै अनैतिक सम्बन्ध राख्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालय पर्साको महिला तथा बालबालिका सेवा केन्द्रमा जाहेरी दिएकी थिइन्।
पीडित महिलाले दिएको जाहेरीमाथि कारबाही गर्नुको साटो पर्सा प्रहरीले गत असोज ३० गते नेपाल प्रहरीको ७१औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा मनिष सिंहलाई सम्मान गरेको थियो।
पर्सा जिल्ला अदालतकी न्यायाधीश देवीकुमारी चौधरीले प्रहरीको सम्मानपत्र सिंहलाई दिएर सम्मान गरेपछि पर्सा प्रहरीले पीडितको भन्दा पनि पावर र पैसावालाको पक्षमा काम गर्ने गरेको पीडित महिलाले आरोप लगाएकी छन्।
हिंसा गरेर घर निकाला गरेको भन्दै जाहेरी दिएको पाँच महिना बित्न लाग्दा पनि पर्सा प्रहरीले कुनै कारबाही नगरेको पीडित ममता सिंहले गुनासो गरेकी छन्।
जाहेरी दिने बेलामा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा मुद्दा शाखा प्रमुख डिएसपी चक्रबहादुर मल्लले ससुरा पक्षमाथि जाहेरी दिँदा वैवाहिक जीवन बिग्रिने भन्दै बरु आफ्नो नागरिकता र हक हिस्सा दिलाउन पहल गर्ने आश्वासन दिएको उनले बताइन्।

मल्लले आश्वासन दिँदै हिंसाको आरोप लागेका मनिष सिंहमाथि जाहेरी दर्ता नगरेर आफूलाई पीडामाथि पीडा दिएको आरोप उनले लगाइन्।
महिला सेलमा उजुरी दिँदा आफूमाथि हिंसा गरेको आरोप लागेका जेठाजु मनिष सिंहमाथि कारबाही गर्नुको साटो जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी चक्र मल्लले संरक्षण गरेको आरोप उनले लगाएकी छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा मुद्दा शाखा प्रमुख डिएसपी चक्रबहादुर मल्लले ममताले मनिषविरुद्ध दिएको उजुरीमाथि छलफल गराइएको दाबी गरेका छन्।
छलफल गराएर उनको नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय पर्सामा लेखेर पठाइएको मल्लले बताए।
प्रहरी दिवसमा महिलामाथि हिंसाको आरोप लागेका मनिष सिंहलाई सम्मान गरिएको विषयमा केही भन्न नसकिने उनको भनाइ छ।
ममता सिंहले अदालतमा समेत मुद्दा दिएकोले सबै कुरा प्रहरीले हेर्न नमिल्ने र मनिष सिंहसँग आफ्नो कुनै सम्बन्ध नरहेको मल्लले बताए।
नागरिकताबाट वञ्चित गर्ने व्यक्तिलाई प्रहरी प्रशासनले कारबाही गर्न सक्ने कानुनी व्यवस्था हुँदाहुँदै पनि ममताको नागरिकता बनाउन नचाहने व्यक्तिलाई प्रहरी प्रशासनले संरक्षण गरेको आरोप लाग्दै आएको छ।
भारतको बिहार राज्यको बेतिया जिल्ला, लौरिया थाना अन्तर्गत पर्ने दानीभाल प्रसौना निवासी ममता सिंहको विवाह २०७६ सालमा वीरगन्ज महानगरपालिका-१८ इनर्वा मनियारीका अमित सिंहसँग भएको थियो।
उनका अनुसार विवाह भएको एक वर्षपछि दुवै जनाबाट एक छोरीको जन्म भएको थियो।
वैवाहिक जीवनको छ वर्षपछि श्रीमान् अमित सिंह, ससुरा विक्रम सिंह र जेठाजु मनिष सिंहको कुरामा लागेर आफूलाई हिंसा गर्दै घर निकाला गरेको आरोप उनले लगाइन्।
कुटपिट गरेर घर निकाला गरिएपछि गाउँलेहरूको पहलमा आफूले पाएको एउटा कोठामा बस्दै आएको र त्यो कोठाको समेत विद्युतीय लाइन ससुराली पक्षले काटेको उनको दाबी छ।
जेठाजु मनिष सिंहले 'तिमीलाई जे गरे पनि प्रहरी प्रशासनमा हामीलाई केही गर्न सक्दैन' भन्दै धम्काउने, गालीगलौज गर्ने र हातपातसमेत गर्ने गरेको उनले बताइन्।

न्यायको लागि पर्सा प्रहरी र जिल्ला प्रशासन कार्यालयमा दौडधुप गर्दा आफूलाई ससुरा पक्षका साथै प्रहरी प्रशासनले समेत पीडित बनाएको उनको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी मल्लकै कार्यकक्षमा धेरैजसो जेठाजु मनिष सिंह बस्ने गरेको र मल्लले सिंहलाई 'यार यार' भनेर सम्बोधन गर्ने गरेको आरोप उनले लगाइन्।
न्यायको लागि प्रहरीमा पुगेको बेलामा आफूलाई दुःख दिने र दुःख दिन लगाउने मनिष सिंहलाई डिएसपी मल्लले 'यार यार' भनेर बोलाउने गरेको सुन्दा नराम्रो लागेको उनले बताइन्।
आफू भारतीय चेली भएका कारण प्रहरी प्रशासनले न्याय दिलाउन सहयोग नगरेको उनले उल्लेख गरिन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख पवनकुमार भट्टराईले ममतामाथि ससुरा पक्षले अन्याय गर्न खोजेको बताए।
ममताको नागरिकता बनाउन ससुरा र श्रीमानको हस्ताक्षर गराउन दुवै जनालाई प्रहरीमा झिकाउन खोजेको उनले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण चापागाईंले ससुरा पक्षले नागरिकता बनाउन रोके पनि पीडित सिंहलाई कानुनअनुसार नागरिकता बनाइदिन जिल्ला प्रशासन कार्यालय पर्सा तयार रहेको बताएका छन्।
प्रकाशित: ४ मंसिर २०८३ २०:०८ शुक्रबार





