६ भाद्र २०८३ शनिबार
image/svg+xml
समाज

पोल र बसमा मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु, चालक घाइते

पोखरामा मोटरसाइकल अनियन्त्रित भई पोल र बसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

कास्कीको पोखरा महानगरपालिका-१८ लामागाउँमा ग २० प ६०९४ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई सडक छेउको विद्युत् पोलमा ठोक्किएको थियो। पोलमा ठोक्किएपछि सोही मोटरसाइकल पोखराबाट साराङकोटतर्फ जाँदै गरेको ग १ ख ४३३५ नम्बरको बसमा समेत ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार पोखरा महानगरपालिका-१८ की २९ वर्षीया रुपा बि.क. गम्भीर घाइते भएकी थिइन्। टाउकोमा गम्भीर चोट लागेकी उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका छन्।

त्यसैगरी मोटरसाइकल चालक पोखरा महानगरपालिका-१८ सुन्दरपोखरीका ४३ वर्षीय रामचन्द्र बि.क. पनि घाइते भएका छन्। उनको टाउको र दायाँ कानमा चोट लागेको छ र उनको अवस्था पनि गम्भीर रहेको प्रहरीले बताएको छ।

दुर्घटनामा संलग्न बस र बस चालक अन्नपूर्ण गाउँपालिका-१ नौडाँडाका २४ वर्षीय अभिषेक परियारलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: ६ भाद्र २०८३ १९:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App