मिटरब्याजसम्बन्धी मुद्दामा पीडितहरूले प्रदर्शन गरिरहेका बेला धनुषा जिल्ला अदालत परिसरमा एक महिलाले आत्मदाहको प्रयास गरेकी छन्।
जनकपुरधाम उपमहानगरपालिका–३ की करिब ५५ वर्षीया फूलकुमारी रजकले बुधबार बिहान अदालतको मुख्य गेट अगाडि यस्तो प्रयास गरेकी हुन्। घटनालगत्तै प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर उद्धार गरेको जनाएको छ।
मिटरब्याजी हरेराम साह र गोपाल साहको थुनछेक बहस चलिरहेका बेला पीडितहरू अदालतबाहिर प्रदर्शनमा थिए। सोही क्रममा रजकले आफूहरूमाथि अन्याय भएको भन्दै दोषीमाथि कारबाहीको माग राखेकी थिइन्।
प्रहरी निरीक्षक अरविन्द साह नेतृत्वको टोलीले तत्काल हस्तक्षेप गरेपछि सम्भावित ठूलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ। घटनापछि धनुषा जिल्ला अदालत परिसरको सुरक्षा व्यवस्था थप कडा पारिएको छ।
प्रकाशित: २७ श्रावण २०८३ १३:४० बुधबार





