३ श्रावण २०८३ आइतबार
image/svg+xml
समाज

उदयपुरमा जंगली हात्ती आतंक : ११ घर भत्किँदा १६ लाख बढी क्षति

हात्ती पीडितलाई राहत वितरण गरिँदै। तस्बिरः महेश्वर

गएको ४८ घण्टायता उदयपुरमा जंगली हात्ती गाउँ छिरेर ११ घर भत्काएर जनजीवन आतंकित पार्दै लाखौँको धनमाल क्षति गरेको छ। शनिबार राति अज्ञात स्थलबाट छिरेको हात्तीको हुल चौढण्डीगढी नगरपालिकाका विभिन्न बस्ती पसेर सर्वसाधारणको धनसम्पत्ति क्षति गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चौदण्डीगढी ४ र ७ नं. वडामा हात्तीको समूह पसेर घरटहरा भत्काउने, बालीनाली नष्ट गर्ने, लत्ता कपडा च्यात्ने फाल्ने र अन्नपात खाइदिने गरेर आतंकित पारिरहेको छ। प्रहरीले सोमबार विहान जारी गरेको प्रेस नोट अनुसार आइतबार रातिसम्म गरि हात्तीले दुई वडामा गरि ११ घरमा १६ लाख २० हजार बराबरको क्षति गरेको छ।

हात्तीको समूहले चौढण्डीगढी ७ लामाचौरीस्थित कुमाङका ७ घरधुरी स्थानीयको घर, भान्सा घर, भत्काएर अन्नपात खाएर क्षति गरेको छ। प्रहरीका अनुसार त्यहाँकी बृद्धीमाया राईको दुईकोठे घरको टिनको बेरा भत्काएर भाँडावर्तन, धान, चामल, मकै र भुस नष्ट गरिदिएको छ। राईको ४ लाख बराबरको क्षति गरेको प्रहरीले जनाएको छ। त्यसैगरी, सोही ठाउँका खिलबहादुर मगरको भुईतले भान्सा घरको टाटीबेरा भत्काएर त्यसभित्र रहेको धान खाएरएकलाख बराबरको क्षति गरेको घट्नास्थल पुगेको इलाका प्रहरी कार्यालय बेलटारलाई उद्धृत गर्दै जिल्ला प्रहरीले जनाएको छ।

लामाचौरीकै बमबहादुर विश्वकर्माको भुईतले घरको टिनको बेरा भत्काई धान, चामल नष्ट गरी २ लाख बराबरको क्षति गरेको हात्ती समूहले सोही स्थानका रोशन विश्वकर्माको पनि भुईतले घरको टिनको बेरा भत्काएर घरभित्र रहेको लत्ताकपडा, भाडावर्तन गरि २ लाख बराबरकै क्षति गरेको छ। अर्का सोही ठाउँकी लक्ष्मी विश्वकर्माको पनि भुईतले घरको टाटी बेरा भत्काएरअन्नपात खाएर ३ लाख बराबरको नोक्शान गरेको छ।  

त्यहीँका वीरबहादुर मगरको कुखुराको खोर, परेवाको खोर,भान्सा घर, ५ कठ्ठा जमिनमा लगाइएको पाक्न लागेको मकै बाली नष्ट गरेर २ लाख बढीको क्षति गरेको हात्तीको हुलले छिमेकी राधा विश्वकर्माको भुईतले घरको बाँसको टाटीबेरा भत्काईदिएको छ। उनको घरभित्र रहेको चामल नष्ट गरी १ लाख बढीको क्षति गरेको प्रहरीले जनाएको छ। 

त्यसैगरी, चौढण्डीगढी ४ कीअसुन्ता राईको भुईतले भान्सा घर भत्काएर त्यसभित्र रहेको धान, भाडावर्तन नष्ट गरिदिएको छ। राईको ३ लाख बराबरको क्षति भएको प्रहरी रिपोर्ट छ। त्यहीँ बस्ने शारदा राईको भुईतले घरको टाटीबेरा भत्काउनुका साथै त्यहाँ राखिएको धानको बिउ खाएर नष्ट गर्दै केरा खेती ध्वस्त पार्दा ५ लाख बराबरको क्षति भएको छ। उनकै छिमेकी दुर्गाबहादुर बस्नेतको धानको बिउ नष्ट गरेर २ लाख बराबरको क्षति भएका छ भने सोही स्थान बस्ने सरस्वति राईको भान्सा घर भत्काएर त्यहाँभित्र रहेको चामल र मकै नष्ट गरी २ लाख बराबरको क्षति गरेको छ।

दिउँसै गाउँ पसेको हात्तीको समूले जथाभावी वितण्डा मच्चाउन थालेपछि स्थानीयवासीले धपाउन प्रहरी गुहारेका थिए। स्थानीयहरू भेला भएर धपाउन खोज्दाखोज्दै व्यापक क्षति गरिसकेको हात्ती धपाउन इलाका प्रहरी कार्यालय बेलटारबाट गएको टोलीले गाउँलेसँग मिलेर मध्येरातिदेखि लागि पर्दा सोमबार विहान बल्ल जंगलतर्फ धपाउन सफल भएको प्रहरीको प्रेस नोटमा जनाइएको छ।

यसैबीच कुमाङका ७ घर पीडितलाई भने चौदण्डीगढी नगरपालिकाले प्रारम्भिक राहत वितरण गरेको छ। विपन्न परिवारका बमबहादुर विश्जकर्मा, रोशन राई, लक्ष्मी विश्वकर्मा, भीमबहादुर राई, वीरबहादुर मगर, करुणा मगर र राधा विश्वकर्मालाई तत्काल छाक टार्न चामल, दाल, नुन, तेल, झुल, केही थान कपडा र आवश्यक भाँडाकुँडा वितरण उपलब्ध गराइएको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले नगर विपत व्यवस्थापन समिति संयोजक तथा २ नं. वडाध्यक्ष हरिबहादुर खड्का र कर्मचारी टोली घट्नास्थलमै पुगेर राहत वितरण गरेको बताए।

प्रकाशित: १५ असार २०८३ ११:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App