मेचीनगर नगरपालिकाको वडा नं ३ तेलपानीस्थित धानबारीमा जङ्गली हात्ती आज बिहान मृत फेला परेको छ।
डिभिजन वन कार्यालयका प्रमुख नथुनी गोहीवार यादवले हात्ती मरेको घटनास्थलतर्फ वन कार्यालयको टोली पठाइएको जानकारी दिए। स्थानीयवासीले धानखेतमा बयस्क दाह्रे हात्ती मरेको देखेर खबर गरेको उनले बताए। हात्तीको मृत्युको कारण थाहा हुन नसकेको उनले बताए।
मेचीनगरको वडा नं २, ३, ४ र ५ मा लामो समयदेखि जङ्गली हात्तीले मानवीय तथा किसानको खेतीबालीमा ठूलो क्षति पुर्याउँदै आएको छ। झापामा मेची नदी पार गरेर भारतीय जङ्गलबाट ठूलो सङ्ख्यामा जङ्गली हात्ती चरणका लागि आउने गरेका छन् भने स्थानीय जङ्गलमा बस्दै आएका रैथाने हात्तीको सङ्ख्या पनि हालैका वर्षहरुमा बढेको छ।
डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो १६ वर्षमा झापाको विभिन्न क्षेत्रमा २८ वटा जङ्गली हात्ती मृत भेटिएका छन्।
प्रकाशित: ३१ भाद्र २०८३ ०९:२२ बुधबार





