२३ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

बजारमा घातक सौन्दर्य सामग्री: गुणस्तर जाँच्ने कसले?

नेपालमा बर्सेनि अर्बौं रुपैयाँ बराबरका सौन्दर्य सामग्रीहरू आयात र खपत हुने गरेको छ। तर आयातित सौन्दर्य सामग्रीको गुणस्तर जाँच गर्ने निकाय नहुँदा जथाभावी बिक्रीवितरण र प्रयोग हुँदै आएको छ। गुणस्तरहीन सौन्दर्य सामग्रीको प्रयोगबाट जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने अनुसन्धानबाट पाइएको छ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ११ महिनामा एक अर्ब ७१ करोड रुपैयाँबराबरको अनुहारमा लगाउने क्रिम आयात भएको छ। त्यस्तै ७१ करोड सात लाख रुपैयाँबराबरको लिपिस्टिक आयात भएको छ। जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र (सेपेड) ले सन् २०२५ मा गरेको अध्ययनले कम गुणस्तरका सौन्दर्य सामग्री आयात हुने गरेको र तिनमा घातक रसायन भेटिएको देखाएको छ। सेपेडको अध्ययन प्रतिवेदनअनुसार नेपाली बजारमा पाइने सिन्दूर, टुथपेस्ट र गाजलमा हानिकारक धातु (रसायन) तथा सिसाको मात्रा अन्तर्राष्ट्रिय मापदण्डभन्दा अत्यधिक बढी पाइएको छ।

रसायन र सिसा भेटिएका नमुनामध्ये ८७ प्रतिशत युरोपेली संघले तोकेको ०.५ पिपिएम तथा ७७ प्रतिशत अमेरिका र क्यानडाले तोकेका १ पिपिएमको मापदण्डबाहिर छन्। परीक्षण गरिएका सिन्दूरमध्येमा ४० प्रतिशत नमुनामा सिसा पाइएको छ। गाजल र टुथपेस्टमा पनि सिसाको मात्रा मापदण्डभन्दा बढी पाइएको छ।

नेपालमा सौन्दर्य सामग्रीको गुणस्तरबारे एकाधबाहेक पर्याप्त र बहुआयामिक अनुसन्धान भएको छैन। यसैकारण नेपालमा बाहिरबाट ल्याइने सौन्दर्य सामग्रीहरूको गुणस्तर अवस्थाबारे यकिन रूपमा भन्न नसकिने सेपेडका निर्देशक रामचरित शाह बताउँछन्। ‘हामीले पनि सीमित सामग्रीको मात्र अध्ययन गरेका छौं, अनुसन्धान भएका नमुनाहरूमा घातक रसायन र सिसाको मात्रा अत्यधिक पाइएको छ’, उनले भने।

गुणस्तरहीन सौन्दर्य सामग्रीको प्रयोगले स्वास्थ्यमा घातक असर पर्ने चिकित्सक बताउँछन्। उनीहरूका अनुसार यस्ता सामग्री प्रयोग गर्दा तिनमा भएका घातक रसायन र सिसा छालाबाट रगत हुँदै शरीरका भित्री अंगसम्म पुग्छन् र असर देखिन्छ। बालबालिकाले यस्ता सामग्री प्रयोग गरेमा नशाजन्य र शारीरिक वृद्धि विकासमा असर पर्छ।

ठुला मानिसको हकमा मुटु रोग लाग्ने, मिर्गौलाले काम नगर्ने, बाँझोपना हुने, गर्भ तुहिने, समय नपुगी बच्चा जन्मिनेजस्ता समस्या निम्तिन सक्छन्।

सौन्दर्य सामग्रीका रुपमा प्रयोग हुने कतिपय क्रिममा हुने बेन्जिन, लेडजस्ता रसायनले छाला छिटो चाउरी पर्ने, छालामा दाग आउने समस्या हुन्छ। गुणस्तरहीन सौन्दर्य सामग्री लामो समयसम्म प्रयोग गरेमा छालाको क्यान्सर हुने पाटन अस्पतालका चर्म तथा यौन रोग विशेषज्ञ डा. भाष्कर कायस्थ बताउँछन्। उनी भन्छन्, ‘बेन्जिन रसायन समावेश भएको सन्सक्रिम लामो समयसम्म प्रयोग गरेमा छालाको क्यान्सर पनि हुन्छ।’

गुणस्तरहीन सौन्दर्य सामग्रीले स्वास्थ्यमा गम्भीर असर पार्ने भएपनि नेपालमा गुणस्तर तोक्ने र नियमन गर्ने निकाय अहिलेसम्म नभएको सरोकारावाला बताउँछन्। नेपाल नापतौल तथा गुणस्तर विभागले यस्ता उत्पादनको बारेमा स्वेच्छिक मापदण्ड तोकेको तर कानुनी रुपमै मापदण्डको व्यवस्था नभएको सेपेडका निर्देशक शाह बताउँछन्। उनी भन्छन्, ‘स्वेच्छाले आयातकर्ता र उत्पादक कम्पनी दुवैलाई बाध्यकारी बनाउँदैन।’

विभागले अहिलेसम्म सौन्दर्य सामग्रीको गुणस्तर आफूले नहेरेको र त्यस्तो प्रावधान पनि नभएको जनाएको छ। ‘यो विभागले त गुणस्तर चिह्नको इजाजत दिने र अनुगमनको काम गर्ने हो, सौन्दर्य सामग्रीको गुणस्तर हामी हेर्दैनांै,’ विभागका प्रवक्ता प्रभातकुमार सिंहले भने।

औषधि व्यवस्था विभागका प्रवक्ता किरणसुन्दर बज्राचार्यले पनि सौन्दर्य सामग्रीहरूको गुणस्तर हेर्ने जिम्मा विभागको नभएको बताए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले स्वास्थ्यसँग जोडिएको विषय भएकाले सौन्दर्य सामग्रीको गुणस्तर हेर्ने काम औषधि व्यवस्था विभागले गर्नुपर्ने भए पनि ऐनमा त्यस्तो उल्लेख नभएकाले अहिलेसम्म विभागले यसतर्फ नहेरेको बताए।

यो विषयमा कुन निकायले गुणस्तर नियमन गर्ने भन्नेबारेमा लामो समयदेखि बहस चलेको भए पनि अहिलेसम्म कार्यान्वयनमा आउन नसककेको अधिकारीले बताए। अघिल्लै सरकारका पालमा औषधि व्यवस्था विभागको विकल्पमा एफडिए–फुड एण्ड ड्रग्स कन्ट्रोल विभाग) निर्माण गर्नेगरी मस्यौदा तयार भएको छ तर अहिलेसम्म त्यसलाई प्रक्रियामा लगिएको छैन। ‘मस्यौदा तयार द्ध, मन्त्रिपरिषद् हुँदै संसद् लगिनुपर्छ’, उनले भने।

प्रकाशित: १७ असार २०८३ १०:०२ बुधबार