गत भदौ ९ गते साँझ चुनरुपा बुढाले आफ्ना छोरासँग भविष्यको कुरा गरेकी थिइन्।
‘रुपैयाँ राम्रोसँग बचाउनु,’ उनले फोनमा भनेकी थिइन्, ‘घर फर्किनु। राम्रो उत्पादन हुने खेत किनेकी छु। घर आएपछि स्याउ किनेर नेपालगन्ज, सुर्खेत र काठमाडौंतिर बेच्न जालास।’त्यो एउटी आमाले छोरासँग गरेको सामान्य कुराकानी थियो। भोलिपल्ट बिहान, भदौ १० गते रसुवामा आएको बाढीले त्यही कुराकानीलाई चुनरुपाको जीवनको अन्तिम सम्झनाजस्तो बनाइदियो। त्यसयता उनका दुई छोरा २६ वर्षीय लालसिंह बोहोरा र २४ वर्षीय गणेश बोहोरा सम्पर्कविहीन छन्।
न छोराको आवाज आएको छ, न कुनै निश्चित खबर। जुम्लाको पातारासी गाउँपालिका-४, लाम्री गाउँकी ५१ वर्षीया चुनरुपा अहिले आशा र निराशाको बीचमा बाँचेकी छिन्। उनी आज पनि बाटो हेर्छिन्। मोबाइल बज्ला कि भनेर पर्खिन्छिन्। अपरिचित नम्बर देख्दा मन झस्किन्छ, सायद छोराको खबर पो हो कि। तर प्रत्येक दिनसँगै फोन मौन छ। ‘म रोएर बाटो कुरिरहेकी छु,’ आँसु पुछ्दै उनी भन्छिन्, ‘भगवान् पुकार्नुबाहेक मसँग अर्को विकल्प केही छैन।’
चुनरुपाको दुःख रसुवाको बाढीबाट सुरु भएको होइन। उनले २५ वर्षकै उमेरमा श्रीमान् गुमाएर तीन साना छोराको जिम्मेवारी बोकेकी एकल महिला हुन्। श्रीमान् जन बोहोराको मिर्गौला फेल भएपछि मृत्यु भएको थियो। त्यसपछि उनको जीवन आफ्नै लागि रहेन। तीन छोराको भविष्यका लागि बन्यो। कष्ट सहिन्। अभाव सहिन्। एक्लोपन सहिन्। तीनै छोरालाई हुर्काइन्, पढाइन्। तर आज, आफूलाई सहारा चाहिएको बेला उनका दुई छोरा अज्ञात छन्। ‘मलाई कहिल्यै सुखका दिन आएनन्,’ उनी भन्छिन्, ‘तीन छोरालाई कष्ट गरेर पढाएँ, हुर्काएँ। तर मेरो सहारा चाहिने बेला दुईवटा छोरा अज्ञात छन्।’
लालसिंहको घरमा आठ महिनाकी छोरी छिन्। उनकी श्रीमती गर्भवती छिन्। श्रीमान् सम्पर्कविहीन भएपछि अपांग बुहारी र दुई सन्तानको भविष्यसमेत अनिश्चित बनेको छ। गणेश अविवाहित थिए। उनले १२ कक्षा उत्तीर्ण गरेका थिए भने लालसिंहले आठ कक्षासम्म पढेका थिए। दुवै भाइ मलेसियाको भिसा प्रक्रियामा रहेका बेला रसुवास्थित एक कम्पनीमा काम गर्न गएका थिए। उनीहरू घरको आर्थिक अवस्था सुधार्न गएका थिए।
आमाको दुःख कम गर्न गएका थिए। तर भदौ ९ गते साँझसम्म आमासँग फोनमा कुरा गरेका दुवै भाइ भदौ १० गते बिहानको बाढीपछि सम्पर्कविहीन भए। छोराको खोजीका लागि उनी आफन्तसँग ऋण खोजेर रसुवा जाने तयारीमा समेत थिइन्। तर घरमा अपांग बुहारी, आठ महिनाकी नातिनी र गर्भवती बुहारीलाई छाडेर उनी एक्लै जान सक्ने अवस्थामा छैनन्।
‘केही आफन्तसँग रुपैयाँ ऋण गरेर छोराको खोजीमा जाने तयारी गरेकी थिएँ,’ उनी भन्छिन्, ‘तर म महिला मान्छे, एक्लै घर छोडेर कसरी जानु?’ उनको अर्को पीडा राज्यप्रति छ। उनको गुनासो छ, न स्थानीय सरकारले उनको आँसु पुछ्यो, न प्रदेश सरकारले, न संघीय सरकारले। ‘हामी गरिबका आँखाका आँसु पुछ्ने कोही भएनन्,’ उनी भन्छिन्, ‘हामी जुम्लाका दुर्गमका नागरिकलाई सरकारले मान्छे ठानेको छैन। राज्य कहाँ छ?’
भदौ ९ गते साँझ चुनरुपाले छोरासँग स्याउको व्यापार गर्ने सपना देखेकी थिइन्। भदौ १० गते बिहान त्यो सपना बाढीसँगै बग्यो। आज उनको घरमा जेठा छोरा रामबहादुर मात्रै छन्। तर चुनरुपाको मन भने रसुवातिरै अडिएको छ, कतै लालसिंह फर्केलान् कि, कतै गणेश आइपुग्लान् कि। दिन बितिरहेका छन्। तर आमाको प्रतीक्षा सकिएको छैन। आँखा बाटोतिरै छन्। कान फोनको घण्टीतिरै छन्।
अर्का पट्टी उक्त गाउँकै ९ महिनाकी छोरी बाबु खोज्छिन्। १९ वर्षीया कविता बुढा श्रीमान् फर्किने बाटो हेर्छिन्। २१ वर्षीय प्रकाश बुढा भदौ १० गतेदेखि रसुवाबाट सम्पर्कविहीन छन्। ‘दैवले कलिलो उमेरमै खुसी लुटिदियो,’ पढ्दापढ्दै विवाह गरेकी कविता भन्छिन्। पातारासी-४, लाम्री गाउँबाट रसुवा काम गर्न गएका २० युवामध्ये पाँच जना मात्रै फर्किएका छन्। बाँकी १५ जनाको अवस्था अझै अज्ञात छ।
तीन वर्ष आठ महिनाकी छोरीका बुवा सुरेन्द्र पनि सम्पर्कविहीन छन्। भदौ ९ गते राति श्रीमानसंग अन्तिम पटक कुरा गरेकी विष्णुमाया बुढा अहिले ५७ वर्षीया सासू र दुई छोरीको जिम्मेवारी सम्हाल्दै खबर पर्खिरहेकी छन्।चार सन्तानकी आमा साउनी बुढाका ३४ वर्षीय श्रीमान् धनसुर पनि रसुवाको भोटेकोसी क्षेत्रमा हराइरहेका छन्। महिनाको ४० हजार रुपैयाँसम्म पठाउने श्रीमान् बेपत्ता भएपछि चार सन्तानको भविष्य उनको एक्लो काँधमा आइपुगेको छ।
घरको खेतीपाती बढीमा तीन महिना पनि खान पुग्दैन्। एक सय १५ भन्दा बढी घरधुरी रहेको लाम्रीमा अहिले धेरै घरको एउटै दैनिकी छ। हराएका युवाको खबर कुर्नु। कसैको काखमा बाबु खोज्ने नानी छिन्, कसैको आँखामा श्रीमान् फर्किने बाटो। लाम्री गाउँ अहिले आफ्ना युवाको पर्खाइमा छ। जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार जुम्लाको चन्दननाथ नगरपालिका -४ जना, सिंजा गाउँपालिका १ जना, गुठिचौर ९ जना र पातारासी गाउँपालिका ४९ अझै अज्ञात छन्।
लाम्री गाउँ मात्रै १५ जना छन्। भने, तिर्खु गाउँका ९ जना, उक्त गाउँपालिका-५ जम्ना गाउँ दुई जना, माथिल्लो लोर्पा गाउँका १० जना, तल्लो लोर्पाको ४ जना, गाउँपालिका-२ वडा तल्फी गाउँका १ जना, उक्त गाउँपालिका-६ वडा बाता गाउँका ८ जना छन्, भने सम्पर्कमा आएका पातारासी गाउँपालिकाका अहिलेसम्म २४ जना, गुठिचौरका १ जना, सिंजा गाउँपालिका -३ जना, हिमा १ जना र कनकासुन्दरी गाउँपालिकाका १ जना छन्।
प्रकाशित: २४ भाद्र २०८३ ०८:५१ बुधबार





