राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हावाहुरी चलेका बेला सावधानी अपनाउन आग्रह गरेको छ। प्राधिकरणलेआगामी तीन दिनको हावाहुरीको पूर्वानुमान भएसँगै हावाहुरीका समयमा गर्नुपर्ने र नगर्नुपर्ने कामबारे सर्वसाधारणलाई सचेत गराएको हो।
प्राधिकरणका अनुसार हावाहुरी चलेका बेला घरका झ्याल तथा ढोका बन्द गर्नुपर्छ। आगोका स्रोत बन्द गर्न तथा मोटरसाइकल वा गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।
त्यस्तै, भिडभाडमा भए नआत्तिन र भागदौड नगरी बिस्तारै सुरक्षित स्थानमा जान प्राधिकरणले सुझाव दिएको छ। खुला स्थानमा रहेका व्यक्तिले सुरक्षित स्थानमा बस्न तथा तत्काल सुरक्षित ओत नभेटिए झुक्किएर बस्दै दुवै हातले टाउको छोप्नुपर्ने जनाएको छ।
हावाहुरीका बेला कमजोर संरचना, अग्ला रूख, टेलिफोन तथा बिजुलीका खम्बा र तारमुनि नबस्न पनि प्राधिकरणले सचेत गराएको छ। बिजुलीको तार लत्रिएको अवस्थामा नछुन तथा तारहरू ठोक्किएर सर्ट सर्किट हुनसक्ने भएकाले विद्युतीय उपकरण नचलाउन आग्रह गरिएको छ।
उडाएर ल्याएका सामानबाट चोट लाग्न सक्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्न पनि प्राधिकरणले सर्वसाधारणलाई अनुरोध गरेको छ।
प्रकाशित: ८ आश्विन २०८३ १३:२६ बिहीबार





