हालैको अविरल वर्षापछि आएको बाढीपहिरोका कारण क्षतिग्रस्त मुख्य राजमार्गका पुलहरू दसैँअघि सञ्चालनमा ल्याउने लक्ष्यसहित सडक विभागले पुनर्निर्माणको काम अघि बढाएको छ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरणअनुसार बाढीका कारण देशभर करिब एक दर्जन पुलमा क्षति पुगेको छ। यसमा स्थानीय, मोटरेबल तथा अन्य पुलसमेत समावेश छन्।
सडक विभागअन्तर्गतको पुल महाशाखाले भने रणनीतिक तथा मुख्य राजमार्गका पुललाई प्राथमिकतामा राखेर पुनर्स्थापनाको काम गरिरहेको जनाएको छ।
कालीगण्डकी करिडोरअन्तर्गत पोखरेबगर, मालढुङ्गा र डेढगाउँका पुलमा बाढीबाट क्षति पुगेको छ। ती पुलको अवस्था मूल्यांकन गर्न प्राविधिक टोली फिल्डमा परिचालन गरिएको छ। अध्ययनपछि आवश्यकताअनुसार मर्मत गर्ने वा बेलीब्रिज राख्ने निर्णय गरिने विभागले जनाएको छ।
पुल महाशाखाका प्रमुख ललिजन खनालका अनुसार चाडपर्वलाई ध्यानमा राखेर पुनर्स्थापनाको काम तीव्र बनाइएको छ। सडकको पहुँच पुगेका स्थानमा दसैँअघि नै यातायात सञ्चालन गर्ने विभागको लक्ष्य छ।
यसैगरी, गत भदौ १० गतेको बाढीबाट प्रभावित रसुवागढी सडकखण्डको बेत्रावतीमा बेलीब्रिज राख्न आवश्यक जग निर्माणको काम करिब पूरा भएको छ। निर्माण सामग्री ढुवानीका लागि बाटो खुलेपछि बेलीब्रिज जडान गर्ने तयारी गरिएको छ।
तर बेत्रावतीभन्दा माथि रसुवागढीतर्फ सडकको ठूलो हिस्सा बगेकाले त्यहाँ सडक तथा पुल पुनर्स्थापना गर्न थप समय लाग्ने विभागले जनाएको छ।
यसरी तत्काल यातायात सञ्चालन गर्न सकिने स्थानमा अस्थायी वा आवश्यकताअनुसार स्थायी संरचना निर्माणलाई प्राथमिकता दिइएको छ भने गम्भीर रूपमा क्षतिग्रस्त सडकखण्डको पुनर्स्थापनाका लागि थप समय लाग्ने देखिएको छ।
प्रकाशित: १३ आश्विन २०८३ १४:४१ मंगलबार





-600x400.jpg)