९ आश्विन २०८३ शुक्रबार
image/svg+xml
समाज

सप्तकोशीमा पानीको बहाव निरन्तर बढ्दो, ३० वटा ढोका खोलियो

सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढ्दो छ। शुक्रबार दिउँसो १ बजेको मापन अनुसार पानीको बहाव दुई लाख २९ हजार ९६० प्रतिसेकेन्ड क्यूसेक पुगेको छ।

कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार अहिले ५६ वटा ढोकामध्ये ३० वटा खुल्ला गरिएको छ।

आवश्यकता अनुसार पानीको बहाव अरू बढेमा भारतीय पक्षसँग समन्वय गरेर थप ढोका खुलिने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।

कोशी ब्यारेजमा यति बेला खतराको संकेत रातो बत्ती समेत बालिएको छ। यहाँ पानीको बहाव एक लाख ५० हजार काट्ने बित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति भने खतराको संकेत पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ।

दुई लाख काट्ने बितिकै पूर्वतर्फ खतराको अर्को रातो बत्ती बालिने गरिन्छ। पानीको बहाव तीन लाख काट्नासाथ मध्य भागमा पनि रातो बत्ती बाल्ने गरिएको छ।

कोशी ब्यारेज बन्दा नौ लाख ५० हजार क्युसेक पानी भारवहन क्षमता हुने उल्लेख छ। तर, ब्यारेजभन्दा माथिल्लो भागमा बालुवा थुप्रिदा खतरा हुने गर्छ।

२०६५ भदौ–२ गते एक लाख ६८ हजार क्यूसेक पानीको बहाव हुँदा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो। त्यति बेला कोशीले पूर्वी तटबन्ध भत्काउँदा कोशी गाउँपालिकाका चारवटा मानववस्तीमा पसेको थियो।

त्यति बेला सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काउँदा ७ हजार ५ सय ६३ परिवार विस्थापित भएका थिए।

एक पटक पूर्वी तटबन्ध भत्काएर पुन पुरानै अवस्थामा फर्काए पनि कुनै पनि बेला विनाश लिला मच्चाउन सक्ने खतरा भने छ।

प्रकाशित: ९ आश्विन २०८३ १३:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App