४ भाद्र २०८३ बिहीबार
image/svg+xml
समाज

जलाम्मे भयाे पुरिएको नारेश्वर ताल

नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ। पुरिएको ताल उत्खनन गरी पानी जम्मा गर्न थालिएको हो।

उक्त तालमा करिब २५ हजारदेखि ३० हजार घनमिटर पानी भण्डारण गर्न सकिन्छ। तनहुँको व्यास नगरपालिका–१० मा पर्ने उक्त ताल झण्डै २८ रोपनी क्षेत्रफलमा फैलिएको छ।

तालको बाँध तथा अन्य संरचना निर्माण पूरा भएसँगै पानी जम्मा गर्न थालिएको हो। ताल व्यास नगरपालिकाको गौरवको आयोजना हो। निर्माण उपभोक्ता समितिका अध्यक्ष विजय दरैले ताल आकर्षक देखिन थालेकाले यहाँ आन्तरिक पर्यटक घुम्न आउन थालेकाे बताए। यहाँ आउने पर्यटकले फेसबुक, टिकटकमा भिडिओ र फोटो पोष्ट गर्दा तालको महत्त्व बढ्दै गएको छ। उनले नारेश्वर ताललाई कृषि, पर्यटन, वातावरण र स्थानीय रोजगारीसँग जोडिएको बहुउद्देश्यीय आयोजनाका रूपमा विकास गर्ने लक्ष्य राखिएको बताए।

“तालमा पानी जम्मा हुन थालेसँगै आयोजनाको महत्त्वपूर्ण चरण पूरा भएको छ। यसको उपयोग कसरी बढीभन्दा बढी प्रभावकारी बनाउने भन्ने विषयमा ध्यान दिनुपर्ने छ”, उनले भने, “सिँचाइसँगै पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक गतिविधि बढाउने गरी तालको विकास गर्ने योजना छ।”

नारेश्वर ताल निर्माणको उद्देश्य स्थानीय कृषि क्षेत्रलाई आवश्यक पानी उपलब्ध गराउनु पनि हो। तालसँगै सिँचाइ ट्याङ्की बनाइएको छ। तालमा जम्मा भएको पानी तानेर नजिकैका कृषि क्षेत्रमा वितरण गर्ने व्यवस्था मिलाइने व्यास नगरपालिका–१० का वडाध्यक्ष खेमराज पोख्रेलले बताए।

यसबाट दुम्सीचौर आसपासका किसानलाई सिँचाइ सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ। वर्षाको पानीमा निर्भर भएर खेती गर्नुपर्ने अवस्था घटाउँदै नियमित सिँचाइ सुविधा उपलब्ध गराउन सके कृषि उत्पादन बढाउन सहयोग पुग्ने उनको विश्वास छ।

नारेश्वर ताललाई आउँदाे दिनमा व्यास नगरपालिकाको आन्तरिक पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताए।

पानी भरिएपछि यसको प्राकृतिक सौन्दर्य बढ्ने भएकाले यहाँ जलविहार, वनभोजस्थल तथा अन्य पर्यटकीय पूर्वाधार निर्माण गर्ने योजना छ।

ताल आसपास आवश्यक संरचना निर्माण गर्दै स्थानीय तथा बाह्य पर्यटक आकर्षित गर्ने न्यौपानेले बताए। ताललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके आसपासका क्षेत्रमा होटल, रेष्टुरेन्ट, स्थानीय उत्पादनको बिक्री तथा अन्य सेवामूलक व्यवसाय विस्तार हुने अपेक्षा गरिएको छ। “नारेश्वर ताल घुम्न आउने ठाउँ मात्र होइन, स्थानीयको आयआर्जनसँग जोडिने गन्तव्यका रूपमा विकास गर्नुपर्छ। ताल वरपर आवश्यक पूर्वाधार विकाससँगै स्थानीय उत्पादन र व्यवसायलाई पनि जोड्ने योजना बनाउनुपर्छ”, उनले भने।

नारेश्वर ताल व्यास नगरपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त साझेदारीमा निर्माण भएको हो। आयोजनाको अनुमानित लागत करिब चार करोड रुपैयाँ छ।

नारेश्वर ताललाई नगरपालिकाले एउटा कृत्रिम जलाशयका रूपमा मात्र नभई कृषि, पर्यटन, वातावरणीय संरक्षण र रोजगारी सिर्जनालाई जोड्ने आधारका रूपमा लिएको नगरप्रमुख न्यौपानेले बताए।

तालको नियमित संरक्षण, पानीको व्यवस्थापन, सिँचाइ प्रणालीको प्रभावकारी सञ्चालन तथा पर्यटकीय पूर्वाधार निर्माणलाई सँगसँगै अघि बढाउनुपर्ने देखिएको छ। 

प्रकाशित: ४ भाद्र २०८३ १३:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App