बिहानसम्म परिवारसँग फोनमा कुराकानी भइरहेको थियो। घरपरिवारले पनि उनीहरू काममै छन् भन्ने ठानेको थियो। तर यही जेठ १० गते बिहान करिब ८:३० बजेपछि आएको एउटा खबरले बेँसीसहर नगरपालिका–११ का घर्ती परिवारलाई गहिरो पीडामा धकेल्यो, ‘रसुवामा बाढी आएको छ, आयोजनामा कार्यरत राधिका र झपटबहादुरको सम्पर्क टुटेको छ।'
४३ वर्षीया राधिका घर्ती र ४५ वर्षीय झपटबहादुर घर्ती श्रीमान्–श्रीमती हुन्। उनीहरू रसुवास्थित त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा करिब १०–१२ वर्षदेखि कार्यरत थिए। राधिका खाना पकाउने काम गर्थिन् भने झपटबहादुर सुरुङसम्बन्धी काममा खटिन्थे। बाढी आएको दिन बिहानसम्म सबै सामान्य नै थियो। परिवारसँग करिब ८:३० बजेसम्म सम्पर्क भएको थियो। त्यसपछि भने फोन लागेन। झपटबहादुरको मोबाइलको ‘लोकेसन’ पनि बिहान करिब ८:५६ बजेसम्म देखिएको थियो। त्यसपछि लोकेसनसमेत देखिन छाड्यो।
'उहाँहरू कहाँ हुनुहुन्छ भन्ने नै थाहा हुन सकेन। सुरुङ वा पावरहाउस आसपास हुनसक्ने हाम्रो अनुमान छ,' भतिज विशाल घर्तीले भने। बाढीपछि नेपाली सेनाले सुरुङमा एक पटक खोजी गरेको थियो। तर सुरुङभित्रको कठिन अवस्थाका कारण पूर्ण रूपमा खोजी गर्न नसकिएको घर्तीको परिवारले जनाएको छ। त्यसपछि परिवारका लागि हरेक दिन प्रतीक्षाको दिन बनेको छ। घर्ती परिवार कतैबाट फोन आउँछ कि, खोजीका क्रममा कुनै खबर भेटिन्छ कि भन्ने आशामा।
राधिका र झपटबहादुरका दुई छोरा र एक छोरी छन्। जेठो छोरा आमाबुबाको खोजीमा संलग्न छन्। कान्छो छोरा जापानमा छन् भने छोरीको विवाह भइसकेको छ। परिवारका सदस्यहरूका लागि भने अहिले सबैभन्दा ठूलो प्रश्न एउटै छ– उनीहरू कहाँ छन्? 'अब त न सासको खबर छ, न लासको। जिउँदै भेटिने आस पनि लगभग मरिसकेको छ। तर पनि उहाँहरूको अवस्था थाहा पाउन र कम्तीमा शवसम्म भए पनि फेला पार्न पाए हुन्थ्यो,' विशालले भने।
आफन्तका अनुसार राधिका र झपटबहादुर लामो समयदेखि आयोजनामै काम गर्दै आएका थिए। रोजगारीकै क्रममा रसुवा पुगेका उनीहरू वर्षौँदेखि त्यहीँ कार्यरत थिए। घरपरिवारबाट टाढा रहेर काम गर्दै आएका उनीहरू एकैपटक सम्पर्कविहीन भएपछि परिवारमा बज्रपात भएको छ।
रसुवामा आएको बाढीपछि राधिका र झपटबहादुर मात्र होइन, लमजुङका अन्य व्यक्तिसमेत सम्पर्कविहीन छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार रसुवाको बाढीपछि जिल्लाका १० जना सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार सम्पर्कविहीन व्यक्तिको खोजी तथा उनीहरूको अवस्थाबारे जानकारी लिने काम भइरहेको छ।
बाढी आएको दिनदेखि नै ती परिवारको ध्यान फोनतिर छ। अपरिचित नम्बरबाट फोन आउँदा पनि हराएका आफन्तको खबर पो आयो कि भन्ने आशा जाग्छ। तर फोन अरू कसैको हुन्छ। फेरि उस्तै निराशा। समय बित्दै जाँदा आफन्त जीवितै भेटिने आशा कमजोर बन्दै गएको छ। तर आशा पूर्ण रूपमा मरेको छैन। त्यसैले परिवारहरू अझै खोजी टोलीबाट आउने एउटा खबरको प्रतीक्षामा छन्। राधिका र झपटबहादुरको परिवारका लागि पनि अहिले त्यही प्रतीक्षा बाँकी छ– आफन्त जीवितै भेटिन्छन् कि भन्ने अन्तिम आशा, नभए कम्तीमा उनीहरूको अवस्थाबारे सत्य जानकारी।
रसुवाको बाढीले भौतिक क्षतिमात्र गरेको छैन, लमजुङका यी परिवारलाई आफ्ना आफन्तको अवस्थाबारे अनिश्चित प्रतीक्षामा समेत छाडेको छ। दिनहरू बितिरहेका छन्, आशा कमजोर हुँदै गएको छ, तर परिवारका सदस्यहरू अझै आफ्ना प्रियजनको खबर आउने आशाको त्यान्द्रो समातेर बसिरहेका छन्।
प्रकाशित: २१ भाद्र २०८३ ०७:४५ आइतबार





