२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

बुद्धभूमिको बिजगौरी–बुढ्ढी सडकको स्तरोन्नती सुरु, बजेट १९ करोड

जीर्ण बनेको बुद्धभूमि नगरपालिकाको बिजगौरी–बुढ्ढी सडकको पक्कीकरण काम बिजगौरीबाट सुरु भएको छ। तौलिहवा–बिजगौरी–बुढ्ढी खण्डको सडकको १४ सय मिटर भागमा १० दिनदेखि निर्माणकार्य चलिरहेको छ।

सडकको पहिलो चरण डिभिजन सडक कार्यालय कपिलवस्तु अन्तर्गत २ करोड २४ लाख रुपैयाँ लागतमा अक्सफाल्ट प्रविधि अनुसार निर्माण भइरहेको छ। ईन्द्रेणी गंगा जेभीले आगामी असार महिनाभित्र सडक निर्माण सक्ने लक्ष्यसहित काम थालेको निर्माण कम्पनीका सदस्य थानेश्वर घिमिरेले बताए।  

उनले भने, ‘हाल सब-बेसको काम लगभग सकिएको छ। त्यसपछि बेस र अक्सफाल्ट प्रविधिद्वारा सडक निर्माण गरिनेछ। मौसम र समयले साथ दियो भने फागुन भित्रै सडक निर्माण सकिने छ।’

बुद्धभूमि नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष संदीप पाण्डेयले जीर्ण सडक निर्माण तीब्र गतिमा भइरहेको र गुणस्तरीय काम हुँदा स्थानीय बासिन्दा खुशी भएको बताए।

सडकको इतिहासमा फर्कँदा, २०६० सालमा तत्कालीन जीबीसीअन्तर्गत सञ्चालित ग्रामीण सडक पूर्वाधार परियोजना मार्फत स्थानीय श्रमदान गरी १० करोड रुपैयाँ लागतमा २१ किलोमिटर सडक निर्माण भएको थियो। तर, दुई दशकसम्म मर्मत नभएपछि सडक जीर्ण बनेको थियो।

बुद्धभूमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले सो सडकलाई नगरपालिकाको गौरवको योजनामा राखिएको बताए। उनले बताएअनुसार, शहरी विकास मन्त्रालयबाट ६ करोड, भौतिक विकास मन्त्रालयबाट ३ करोड र नगरपालिकाबाट साढे १० करोड गरी कुल साढे १९ करोड रुपैयाँ बजेट विनियोजन भई ठेक्का संझौता भइसकेको छ।

मेयर श्रेष्ठले भने, ‘नगरपालिकाबाट साढे ४ किलोमिटर, शहरी विकास मन्त्रालयबाट २६ सय मिटर सडक निर्माण सुरु भइसकेको छ। बिजगौरीदेखि बुढ्ढीसम्मको ९ किलोमिटर सडक यसै आर्थिक वर्षमा निर्माण सम्पन्न हुनेछ।’

उता, बुढ्ढी उत्तरतर्फ शहरी विकास मन्त्रालयको ३ करोडको लागतमा ४ सय मिटर सडक पक्कीकरणको काम पनि सुरु भएको छ।

 

प्रकाशित: २८ पुस २०८२ १९:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App