भदौ २३ र २४ गते भएको जेड पुस्ता आन्दोलनमा घाईते भएकाहरुलाई सरकारले परिचयपत्र र राहत वितरण गर्न लागेको छ। जिल्ला प्रशासन कार्यालय उदयपुरले जारी गरेको सूचना अनुसार आन्दोलनका घाईतेलाई परिचयपत्र र राहतका लागि सम्पर्क गर्न बोलाएको छ।
असोज १२ गतेको मन्त्रिपरिषद बैठक निर्णय अनुसार भएको पत्राचारका आधारमा जेड पुस्ता आन्दोलनका घाईतेहरुलाई राहत र परिचयपत्र वितरण गर्न लागेको प्रशासनको सूचनामा जनाइएको छ। आन्दोलनको क्रममा उदयपुरका विभिन्न ठाउँका १२ जना र्घाइते भएको नामावलीसमेत प्रशासनले सार्वजनिक गरेको छ।
राहत लिनका लागि घाईतेहरुले उपचार गरेको अस्पतालको पूर्जी, डिस्चार्ज पत्र, बील भर्पाई तथा चिकित्सकको प्रेसक्रिप्सन र घाईतेको बैँक खातासहित सम्पर्क गर्न अनुरोध गरेको छ। रकम बुझ्न घाईतेहरुको औँठाछाप चाहिने भएकाले आफै उपस्थित हुन पनि भनिएको छ। तर, अशक्त अपाङ्ग घाईतेहरुको हकमा भने आफन्तले सम्पर्क गर्न सक्ने जनाइएको छ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलले आन्दोलनका क्रममा घाईते भएकाहरुलाई जनही २० हजार राहत वितरण गर्न निर्देशन आएको बताए। जेड आन्दोलनका क्रममा उदयपुरका २ जनाले भने सहादत प्राप्त गरेका थिए। बेलका नगरपालिका ४ का सन्तोष विश्कर्मा र चौदण्डीगढी नगरपालिका ३ का सारकुमार राईको प्रहरी गोली लागेर निधन भएको थियो।
उनीहरुको परिवारलाई भने १५ लाखका दरले सरकारले दसैँअघि नै घरमै लगेर राहत वितरण गरिसकेको सिडिओ लुईटेलले बताएका छन्।
प्रकाशित: ३१ आश्विन २०८२ १९:४६ शुक्रबार





