वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) नेपाली कामदारका लागि जेनजी आन्दोलनपछि रोकिएको भिसा दिन अझै आनाकानी गरिरहेको छ। प्रमुख गन्तव्य भएता पनि युएईले तत्काल नेपालीलाई भिसा दिने कुनै छाँटकाँट देखाएको छैन। भदौ ३० देखि युएईले सुरक्षाको कारण देखाउँदै नेपालीका लागि भिजिट भिसा र वर्किङ भिसामा कडाइ गर्दै आएको छ। भदौ २३ को जेनजी आन्दोलनपछि युएईले नेपालीलाई भिसा दिन कडाइ गरेको हो। जसले गर्दा युएईले नेपालबाट भिजिट र वर्किङ भिसा दुवैमा नयाँ आवेदन स्वीकृति अस्थायी रूपमा रोकेको छ।
जेनजी आन्दोलनका क्रममा जेलबाट कैदीबन्दी निस्किएपछि तिनीहरूमध्ये केही युएईलगायत अन्य मुलुकमा प्रवेश गर्न सक्ने आशंकाले उसले नेपालीको भिसामा कडाइ गरेको अधिकारीहरू बताउँछन्। युएईको भिसामा कडाइ भएपछि दैनिक आठ सय नेपाली श्रमिक प्रभावित भएका छन्। वैकल्पिक रूपमा अन्य देशका लागि श्रम स्वीकृति लिनेको संख्या बढ्दै गएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी टीकाराम ढकाल बताउँछन्।
उनका अनुसार भिसा कडाइसँगै युएईले नयाँ भिजिट भिसाका लागि पनि कडा मापदण्ड लागु गरेको छ। वर्किङ भिसाको हकमा यसअघि नै स्वीकृत भएका श्रमिकलाई मात्र प्रवेश अनुमति दिइरहेको छ। नयाँ भिसा आवेदन हालका लागि बन्द छ।
‘युएईले नेपालीका लागि भिसा सहज कहिले गर्छ भनेर ठ्याक्कै भन्न सक्ने अवस्था छैन,’ उनले भने, 'बाङ्लादेशमा पनि आन्दोलन र त्यस क्रममा भएका हिंसात्मक गतिविधि भएपछि त्यहाँका नागरिकलाई युएईले भिसा दिन बन्द गरेको हो। त्यहाँ झन्डै वर्ष दिन बितिसक्दा पनि सहज भिसा खुलेको छैन।’ त्यसैले युएईले नेपालीलाई तत्काल भिसा दिने सम्भावना नरहेको उनले बताए।
म्यानपावर व्यवसायीहरूले युएई सरकारसँग भिसा सहजबारे बुझ्दा जेनजी आन्दोलनपछि जेलबाट भागेका कैदीहरू विभिन्न किसिमका छन्। त्यस्ता कैदी युएई छिर्ने सम्भावना सरल हुँदा बन्द गरेको व्यवसायीहरू बताउँछन्।
‘युएई नेपालीहरूको प्रमुख श्रम गन्तव्य मुलुक हो,’ नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारीले भने, 'त्यो देश नेपाली श्रमिकको गन्तव्य मुलुक मात्रै नभई विश्वकै प्रमुख रोजगार र पर्यटन केन्द्र पनि हो। भिजिट भिसामार्फत अन्य देशका नागरिकलगायत नेपाली पनि ठूलो संख्यामा त्यहाँ पुग्ने गर्छन्। त्यसैले भिजिट भिसामार्फत मात्रै नभई अन्य तवरले पनि हिंस्रक व्यक्ति युएई पुग्ने त्रासले भिसा दिन बन्द गरेको हो।’
युएईले नेपालीलाई भिसा नदिनुको कुनै आधिकारिक जानकारी नदिए पनि नेपालीको भिसा स्वीकृत नहुनुमा जेनजी आन्दोलनपछि जेलबाट भागेका कैदी बन्दी रहेको भण्डारी बताउँछन्।
‘युएईबाट हालसम्म कुनै पनि आधिकारिक सूचना सार्वजनिक नभए पनि नेपालीहरूको भिसा आवेदन 'रिजेक्ट’ भइरहेको छ,’ उनले भने, 'जेनजी आन्दोलन भएको महिना दिन बितिसक्यो, तर युएईले नेपालीलाई भिसा दिन थालेको छैन। १३/१४ हजार जनाभन्दा बढी कैदी भागेकामध्ये अधिकांश कैदी जेल फर्किए पनि केही भने भागेकै अवस्थामा छन्। उनीहरूलाई समात्न सकिएको छैन।’
उनले अघि थपे, 'त्यसरी भागेका कैदी अन्तर्राष्ट्रियस्तरका अपराधी पनि हुन सक्छन्। ती अपराधी नै वधै वा अवैध तवरले विदेश छिर्ने आशंकाले पनि युएईले नेपालीलाई भिसा नदिएको हुन सक्छ।’
दैनिक वैदेशिक रोजगारीका लागि युएई जाने तयारीमा रहेका हजारौं नेपाली युवा घरमै रोकिएका छन्। युएई जान भनी ऋण लिएका युवा झनै अन्योलमा परेका छन्। अहिले नेपालमै देखिएको ध्वंसात्मक व्यवहार र कैदी भागेको जस्ता घटनालाई आधार बनाउँदै युएईले श्रमिक ल्याउन रोक लगाएको हो। त्यस्ता अशान्ति निम्त्याउने प्रवृत्तिका मानिस पस्यो भने समस्या आउन सक्ने भयकै कारण युएईले तत्काल भिसा नखुलाउने आकलन व्यवसायी भण्डारीको छ।
आन्दोलनका क्रममा ७४ जनाको ज्यान गइसकेको छ भने सयौं घाइते भएका छन्। आन्दोलनकारीले सिंहदरबारदेखि संसद् भवनसम्म तोडफोड, आगजनी र लुटपाट गरेका थिए भने विभिन्न जेल तोडफोड गरेर कैदीहरू फरार भएका थिए। यही घटनालाई सुरक्षा जोखिमका रूपमा लिँदै युएईले नेपालीलाई भिसा सहजमा अझै अनिश्चित रहेको अधिकारीहरू बताउँछन्।
म्यानपावर व्यवसायीहरू अहिले अनिश्चिततामा छन्। वर्किङ भिसा आइसकेका कामदार पठाउन ढिलाइ हुँदा आर्थिक क्षति बेहोर्नुपरेको उनीहरूको गुनासो छ।
वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान महासचिव तथा नीलकमल ह्युमन रिसोर्स प्रालिका अध्यक्ष मेघनाथ भुर्तेलका अनुसार युएई हाम्रो नम्बर एक गन्तव्य मुलुक हो। त्यहाँ रोक लाग्दा नेपाली कामदार मात्रै होइन, व्यवसायीहरू पनि मारमा परेका छन्। युएईमा नेपालीलाई भिसा लाग्न कति समय लाग्ने हो भन्ने टुंगो अझै नलागेको उनी बताउँछन्।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै दुई लाख ७४ हजार पाँच सय ९० जना नेपाली श्रम स्वीकृति लिएर युएई गएका थिए। चालु आर्थिक वर्ष २०८२/८३ को साउनमा २३ हजार ८३८ जना र भदौमा २५ हजार दुई १८ जना कामदारले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ।
प्रकाशित: ३ कार्तिक २०८२ ०८:४८ सोमबार





