भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि भारतबाट पठाइएको राहत सामग्री आइतबार रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल भित्रिएको छ ।
भारतको हरिद्वारस्थित श्रीवेदमाता गायत्री ट्रस्टले काठमाडौंस्थित गायत्री परिवार काठमाडौं उत्तराखण्डको नाममा पठाएको राहत सामग्री बोकेका दुई ट्रक भैरहवा भन्सार कार्यालयबाट जाँचपास भई नेपाल प्रवेश गरेका हुन् ।
भैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलका अनुसार करिब ४९ लाख ४६ हजार रुपैयाँ मूल्य बराबरको राहत सामग्री बोकेका दुई ट्रक आइतबार नेपाल भित्रिएका हुन् । राहत सामग्रीसँगै गायत्री परिवारका १८ जना भारतीय स्वयंसेवकसमेत नेपाल आएका छन् ।
राहत सामग्रीमा १ हजार १ सय थान त्रिपाल, १ हजार ५ थान कम्बल, १ हजार २५० थान ओछ्याउने दरी, १ हजार १४७ थान लगाउने कपडा, १५२ थान साडी, ८ सय थान चटाई, ६ हजार २८८ सेट भाँडावर्तन र १ सय प्याकेट मैनबत्तीलगायतका सामग्री छन् ।
गृह मन्त्रालयको सिफारिसमा भन्सार छुटका लागि ल्याइएको उक्त राहत सामग्री नेपाली सेनाको मैथिली ब्यारेक, बट्टार नुवाकोटले बुझ्ने गरी पठाइएको भन्सार प्रमुख पौडेलले जानकारी दिए ।
बाढी प्रभावित नागरिकका लागि भारतका अन्य गैरसरकारी संस्थाले समेत राहत सामग्री पठाउने तयारी गरिरहेका छन् । ती संस्थाका प्रतिनिधिहरूले राहत सामग्री नेपाल ल्याउँदा आवश्यक पर्ने भन्सार जाँचपाससम्बन्धी प्रक्रियाबारे जानकारी लिइरहेको पौडेलले बताए ।
बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशबाट आउने राहत सामग्रीको जाँचपास सहज र छिटो बनाउन भैरहवा भन्सार कार्यालयले छुट्टै फोकल पर्सनको व्यवस्था गरेको जनाएको छ ।
प्रकाशित: १४ भाद्र २०८३ २१:२८ आइतबार

