१६ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

खोटाङका वडाध्यक्षसहित दुई जनप्रतिनिधि पदमुक्त

पदमुक्त भएका दिक्तेल रुपकोट मझुवागढी नगरपालिका १४ का वडाध्यक्ष राई।

खोटाङका वडाध्यक्षसहित दुई जनप्रतिनिधि पदमुक्त भएका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका वडाध्यक्ष दिनेशकुमार राई र खोटेहाङ गाउँपालिका ४ बडकादियालेका वडा सदस्य प्रदिप आचार्यलाई निर्वाचन आयोगले पदमुक्त गरेको हो।

निर्वाचन आयोगले शुक्रबार एक सूचना जारी गर्दै वडाध्यक्ष राई र सदस्य आचार्य पदमुक्त भएको जनाएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट निर्वाचित वडाध्यक्ष राई र सदस्य आचार्यले केही समयअघि मात्र पार्टी परित्याग गरेका थिए। ०७४ र ०७९ को स्थानीयतह निर्वाचनमा राई एमालेबाट वडाध्यक्ष निर्वाचित भएका हुन् भने आचार्य ०७९ मा वडा सदस्य जितेका हुन्।

राई गत असार ७ गते एमाले परित्याग गर्दै श्रम सँस्कृति पार्टीमा प्रवेश गरेका थिए।सदस्य आचार्यले पनि एमाले परित्याग गरि राष्ट्रिय स्वतन्त्र पार्टी रोजेका थिए। निर्वाचित भएको पार्टी त्यागेर अर्को पार्टीमा गएको भन्दै उनीहरुलाई पदमुक्त गर्न एमाले केन्द्रीय सचिवालयले निर्वाचन आयोगलाई पत्राचार गरेको थियो। पार्टीको अनुरोध अनुसार निर्वाचन आयोगले दुवैलाई पदमुक्त गरेको हो।

आयोगको सूचनामा राजनीतिक दलसम्बन्धी ऐन्, २०७३ अनुसार दल त्याग गर्ने जनप्रतिनिधिस्वतः पदमुक्त हुने व्यवस्था बमोजिम वडाध्यक्ष राई र सदस्य आचार्यको पद रिक्त भएको उल्लेख छ। आयोगले दल परिवर्तन गरेको पुष्टि भएपछि विद्यमान कानूनी प्रावधान अनुसार राई र आचार्यको पद रिक्त गरेको जनाएको छ।  

उनीहरूको पदमुक्तिसँगै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ वडाध्यक्षविहीन भएको छ भने खोटेहाङ ४ मा एक सदस्यको पद रिक्त भएको छ।

प्रकाशित: १६ श्रावण २०८३ ११:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App