२ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

पर्वतमा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु

पर्वतको कुश्मा नगरपालिकामा शनिबार भएको ट्याक्टर दुर्घटनामा चालकसहित दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार कुश्मा नगरपालिका ९ एकोहोरे पाठास्थित दोबिल्ला–फलेवास सडकखण्डमा कुश्माबाट साइकलचोकतर्फ जाँदै गरेको ग १ त ७२७३ नम्बरको ट्याक्टर शनिबार दिउँसो करिब २ः३० बजे अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटनामा परेको हो। 

दुर्घटनामा ट्याक्टर चालक कुश्मा नगरपालिका ७ निवासी २८ वर्षीय सुजन नेपाली र कुश्मा नगरपालिका ९ साइकलचोक निवासी १४ वर्षीय शिशिर लामिछाने गम्भीर घाइते भएका थिए। दुवै जनाको उपचारका क्रममा प्रदेश अस्पताल, कुश्मामा मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका ५ का २२ वर्षीय उदय सापकोटाको सोही अस्पतालमा उपचार भइरहेको छ।  दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।   

प्रकाशित: २ श्रावण २०८३ १८:१२ शनिबार